single page header banner

SDA को मञ्चमा बिसप नारायण शर्माको उपस्थिति : नेपाली इसाई वृत्तमा संस्थागत निष्ठा, सिद्धान्त र धर्मशास्त्रीय विचलनको गम्भीर बहस

admin_news admin_news
बुधबार, मंसिर 19, 2083
Social buttons loaded
समाचार सारांश
  • भैंसेपाटीको एउटा कार्यक्रममा देखिएको तस्वीरपछि सामाजिक सञ्जालमा प्रश्न ; सहकार्य कि वैचारिक दूरीको सुरुवात ?
  • NCF को पुरानो निर्णयदेखि SDA को धर्मशास्त्रीय पहिचानसम्म बहस : ललितपुर ।

भैंसेपाटीको एउटा कार्यक्रममा देखिएको तस्वीरपछि सामाजिक सञ्जालमा प्रश्न ; सहकार्य कि वैचारिक दूरीको सुरुवात ? NCF को पुरानो निर्णयदेखि SDA को धर्मशास्त्रीय पहिचानसम्म बहस :

  • ललितपुर । जयमशी डेस्क।

कहिलेकाहीँ एउटा तस्वीरले एउटा लामो बहस सुरु गर्छ । मञ्चमा केही अगुवाहरू छन् । अगाडि माइक्रोफोन छ। पछाडि कार्यक्रमको ब्यानर छ। विषय लेखिएको छ धार्मिकताले राष्ट्रलाई उचाल्छ।’ तर कार्यक्रम सकिएपछि सामाजिक सञ्जालमा उठेको प्रश्न भने धार्मिकताभन्दा फरक थियो प्रश्न थियो त्यो मञ्चमा को उभिएको थियो र किन ?

२०८३ भदौ १ गते ललितपुरको भैंसेपाटीस्थित एक होटलमा सेभेन्थ-डे एड्भेन्टिस्ट (SDA) चर्च नेपालअन्तर्गत बागमती प्रदेशले ‘धार्मिकताले राष्ट्रलाई उचाल्छ’ विषयमा एकदिने बाइबल अध्ययन तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रमको अध्यक्षता बागमती प्रदेशका अध्यक्ष सामुयल शर्मा (जो नेपालि मण्डलीहरुको एकमात्र छाता संगठन NCFN का पुर्व अध्यक्ष हुन् जसको फोटो उक्त कार्नयालय वाट SDA मा आवद्ध भएको संधर्भलाई लिएर हटाइएको थियो) ले गरेका थिए भने विशेष अतिथिका रूपमा कार्यक्रममा सहभागी थिए नेपाली इसाई वृत्तमा परिचित अगुवा बिसप नारायण शर्मा

जसै कार्यक्रमका तस्वीरहरू सामाजिक सञ्जालमा सार्वजनिक भए सञ्जालमै बहस सुरु हुन केहि समय लागेन । तर त्यो बहस नारायण शर्माले के बोले भन्नेमा थियन । वहस विस्तारै एउटा व्यक्तिबाट एउटा सम्प्रदायमा पुग्यो, र तेस्ले केहि गम्भीर प्रश्नहरु नेपालि चर्च सामु खडा गर्यो १. SDA झुटो सिक्षा हो कि हैन ? २. SDA संग नेपाली मण्डलीहरूको सम्बन्ध आखिर कस्तो हो ?

नारायण शर्माप्रतिको सम्मान, तर तस्वीरप्रतिको असहजता

सामाजिक सञ्जालमा आएका प्रतिक्रियाहरू पढ्दा एउटा रोचक मनोविज्ञान देखिन्छ । धेरै टिप्पणीकर्ताहरूले नारायण शर्माप्रतिको आफ्नो व्यक्तिगत सम्मान घटाएका छैनन् । उनीहरू उनलाई नेपाली इसाई जगतका अनुभवी, विद्वान् र सम्मानित अगुवाका रूपमा हेर्छन् । तर समस्या त्यहीँबाट सुरु हुन्छ । सम्मानित व्यक्तिले आफूसंग असहमत धारको मञ्च रोज्दा के त्यसले उनको व्यक्तिगत छविभन्दा ठूलो अर्थ राख्छ ?

संजालमा याकुब तामाङले गरेको टिप्पणीमा यही द्वन्द्व देखिन्छ । उनले नारायण शर्माको विद्वत्ता र निर्णयप्रति सम्मान व्यक्त गर्दा गर्दै पनि SDA लाई “बाइबलीय जगमा बसालिएको मण्डली” नभएको धारणा राखेका छन् ।

प्रतिष्ठित पास्टर निकानोर तामाङको प्रतिक्रिया अझ छोटो छ, तर भावनात्मक रूपमा निकै गहिरो “Highly respected pastor but is it true? If so then highly sad.” शब्द थोरै छन् । तर प्रश्न ठूलो छ । सम्मानित अगुवालाई सम्मान गर्ने कि उनले रोजेको मञ्चलाई हेर्ने ? यही दोधार अहिलेको बहसको एउटा प्रमुख पाटो बनेको देखिन्छ।

कसैलाई तस्वीरले निराश बनायो, कसैले निष्कर्षमा नपुग्न चेताए

बहस एकतर्फी भने थिएन । वरिष्ठ अधिवक्ता वुद्ध घिसिङले व्यंग्यात्मक शैलीमा SDA सँगको निकटतालाई लिएर टिप्पणी गरे । थमन चौधरीले भने फरक दृष्टिकोण प्रस्तुत गरे ; उनका अनुसार कुनै कार्यक्रममा बाइबल सिकाउँदैमा कोही स्वतः उक्त सम्प्रदायको सदस्य हुँदैन । विभिन्न चर्च तथा सम्प्रदायसँग संगति गर्दै पनि आफ्नो Protestant faith मा अडिग रहन सकिने उनको तर्क थियो । दिपेन्द्र कुमार जिसीले पनि सामाजिक सञ्जालमा कसैबारे ठाडो निष्कर्ष निकाल्नुअघि सत्यलाई नजिकबाट हेर्नुपर्ने बताएका छन् । पिटर थापाको प्रतिक्रियाले पनि व्यक्तिको कामलाई हेर्ने दृष्टिकोणमै प्रश्न उठाएको देखिन्छ । अर्थात्, तस्वीरले केवल आलोचना जन्माएको छैन वरु प्रतिआलोचना पनि जन्माएको छ ।

यही कारण यो प्रकरणलाई केवल “नारायण शर्माको SDA कार्यक्रममा सहभागिता” भनेर टुंग्याउन सजिलो छैन।

SDA लाई लिएर नेपाली मण्डलीमा किन यति धेरै सावधानी ?

यहाँबाट बहस अझ गहिरो हुन्छ। नेपालमा SDA एउटा सानो तर संगठित इसाई सम्प्रदाय हो । SDA को आफ्नै आधिकारिक अभिलेखअनुसार नेपालमा यसको संगठनात्मक संरचना १९८९ मा स्थापित भएको थियो र पछिल्ला वर्षहरूमा यसको संरचनामा पुनर्गठन हुँदै आएको छ । हालको आधिकारिक विवरणअनुसार नेपालमा ४१ चर्च र ९,४३९ सदस्य रहेको तथ्यांक ३० जुन २०२५ का लागि दिइएको छ । (Adventist Yearbook)

SDA ले नेपालमा स्वास्थ्य, शिक्षा, मानवीय सेवा र धार्मिक गतिविधिमार्फत आफ्नो उपस्थिति विस्तार गरेको छ । Adventist का आफ्नै प्रकाशनहरूले नेपालमा अस्पताल, ADRA, युवा कार्यक्रम र चर्च स्थापनालगायत गतिविधिहरूको विवरण दिएका छन् । त्यसैले SDA लाई केवल एउटा “सानो चर्च” भनेर बेवास्ता गर्न सकिने अवस्था छैन । तर नेपाली मण्डली वृत्तमा प्रश्न यसको संस्थागत विस्तारभन्दा बढी यसको धर्मशास्त्रीय विशिष्टतामा उठ्ने गरेको देखिन्छ ।

‘SDA बाइबलीय हो कि झुट्टा शिक्षा ?’ बहसको वास्तविक केन्द्र

SDA स्वयंले आफूलाई बाइबलमा आधारित Protestant Christian denomination का रूपमा प्रस्तुत गर्छ । उसको आधिकारिक विश्वास विवरणले “Bible only” अर्थात् Sola Scriptura लाई आफ्नो आधार बताउँछ र २८ वटा Fundamental Beliefs मार्फत आफ्नो धर्मशास्त्रीय बुझाइ प्रस्तुत गर्छ । तर यहीँबाट अर्को पक्षको प्रश्न सुरु हुन्छ । SDA का केही विशिष्ट शिक्षाहरू ऐतिहासिक Protestant परम्पराका अन्य धारहरूसँग पूर्ण रूपमा समान छैनन् । उदाहरणका लागि Seventh-day Sabbath, Christ’s ministry in the heavenly sanctuary, Investigative/Pre-Advent JudgmentRemnant Church सम्बन्धी शिक्षाहरू SDA का विशिष्ट पहिचानमध्ये पर्छन् । SDA को आफ्नै धर्मशास्त्रीय स्रोतले पनि यी शिक्षाहरूलाई स्पष्ट रूपमा आफ्नो विश्वास प्रणालीको हिस्सा मानेको छ । यसको अर्थ के हो ? यही प्रश्नमा इह्श्वरशास्त्रीबीच बहस छ ।

शनिबारको Sabbath केवल दिनको प्रश्न होइन

SDA को आधिकारिक विश्वासअनुसार सातौँ दिनको Sabbath सबै मानिसका लागि सृष्टिसँग जोडिएको परमेश्वरको स्मारक हो र चौथो आज्ञासँग सम्बन्धित छ । SDA ले यसलाई विश्राम, आराधना र परमेश्वरसँगको सम्बन्धको विशेष चिन्हका रूपमा व्याख्या गर्छ । तर अन्य Protestant परम्पराका धेरै धर्मशास्त्रीहरूका लागि यही विषय एउटा महत्वपूर्ण असहमतिको क्षेत्र हो । त्यसैले विवाद शनिबार कि आइतबार ?” भन्ने पात्रोको मात्र होइन । नयाँ करारमा विश्वासीको मुक्ति, आराधना र धार्मिक पहिचानसँग पुरानो करारको Sabbath व्यवस्थाको सम्बन्धलाई कसरी बुझ्ने ? यही विषयलाई लिएर नेपाली मण्डलीभित्र SDA प्रति सावधानी अपनाउनुपर्ने धारणा बलियो भएको देखिन्छ ।

१८४४ र Investigative Judgment : बहसको अर्को केन्द्र

SDA को इतिहासमा १८४४ को घटना निर्णायक छ । SDA को आफ्नै ऐतिहासिक विवरणअनुसार २२ अक्टोबर १८४४ मा ख्रीष्टको आगमन हुने अपेक्षा असफल भएपछि Adventist आन्दोलनमा गम्भीर पुनर्विचार सुरु भयो । त्यसपछि १८४४ लाई पृथ्वीमा ख्रीष्टको आगमन नभई स्वर्गीय मन्दिरमा उहाँको सेवाको नयाँ चरणसँग जोडेर pre-Advent/Investigative Judgment को सिद्धान्त विकास भयो । यही सिद्धान्त ऐतिहासिक रूपमा Adventist–Evangelical बहसको प्रमुख विषयमध्ये एक बन्यो ।

१९५५–५६ मा Walter Martin, Donald Grey Barnhouse लगायत Evangelical नेताहरू र Adventist अगुवाहरूबीच भएको लामो संवादले Adventism लाई लिएर पश्चिमी Evangelical वृत्तमा ठूलो बहस जन्मायो । त्यस संवादपछि केही प्रभावशाली Evangelical नेताहरूले SDA लाई Jehovah’s Witnesses वा Mormonism जस्ता गैर-क्रिश्चियन समूहसरह राख्न नमिल्ने निष्कर्ष निकाले । तर त्यही संवादपछि पनि SDA का Sabbath, sanctuary doctrine र remnant सम्बन्धी शिक्षामाथि गम्भीर असहमति कायम रह्यो । त्यसैले “SDA लाई संसारभर एउटै स्वरमा कल्ट भनिन्छ” भन्नु तथ्यगत रूपमा सही हुँदैन ।

बरु वास्तविक इतिहास अझ रोचक छ SDA लाई कल्ट मान्नेहरू थिए, त्यसको विरोध गर्नेहरू थिए, र संवादपछि त्यसलाई Christian denomination का रूपमा स्वीकार गर्ने Evangelical नेताहरू पनि थिए । तर doctrinal differences भने बहसबाट हराएनन् । यही तथ्यले अहिलेको नेपाली बहसलाई पनि थप गम्भीर बनाउँछ।

झुट्टा शिक्षा’ भन्ने आरोप कहाँबाट आयो ?

सामाजिक सञ्जालमा सुरेन्द्र राउतको टिप्पणीले बहसलाई व्यक्तिगत आलोचनाबाट धर्मशास्त्रीय प्रश्नमा लैजान खोजेको देखिन्छ । उनको मूल तर्क छ आदर व्यक्तिको हुन सक्छ, तर गलत शिक्षाको कहिल्यै हुँदैन।” उनले प्रश्न उठाएका छन् यदि कुनै सम्प्रदायले आफूलाई विशेष वा “remnant” पहिचानका रूपमा बुझ्छ भने अन्य Protestant समुदायले त्यसको धर्मशास्त्रीय दाबीमाथि प्रश्न उठाउन पाउने कि नपाउने ? यो प्रश्नको उत्तर भावनाबाट मात्र दिन सकिँदैन ।

किनभने SDA को आधिकारिक विश्वासमै “The Remnant and Its Mission” नामको छुट्टै doctrinal statement छ । त्यसैगरी heavenly sanctuary र Sabbath पनि यसको Fundamental Beliefs को हिस्सा हुन् । त्यसैले नेपाली मण्डली वृत्तमा उठेको असहमति केवल सामाजिक वा व्यक्तिगत पूर्वाग्रह होइन; यसको एउटा वास्तविक धर्मशास्त्रीय आधार पनि छ ।

तर त्यसको अर्को पक्ष पनि छ। SDA स्वयं यी शिक्षाहरूलाई बाइबलविरोधी ठान्दैन । बरु उसले आफ्नो आधिकारिक सिद्धान्तहरू नै Scripture को आफ्नो व्याख्या भएको बताउँछ । अर्थात् एक पक्षले ‘विचलन’ देख्छ, अर्को पक्षले ‘बाइबलको सही व्याख्या’ देख्छ । यही नै वास्तविक बहस हो ।

अर्को आरोप ‘सुसमाचारभन्दा वढी संस्था विस्तार ?’

नेपालमा SDA प्रति उठ्ने अर्को आरोप अझ संगिन र संवेदनशील छ । केही गैह्र SDA अगुवा तथा विश्वासीहरूले SDA को कार्यशैलीले गैह्र इसाई समाजमा सुसमाचार विस्तार गर्न छाडेर पहिले नै इसाई विश्वासमा रहेका मानिसहरूलाई आफ्नै सम्प्रदायतर्फ आकर्षित गर्ने गरेको आरोप लगाउने गरेका छन् । यस आरोपलाई प्रमाणित तथ्यका रूपमा प्रस्तुत गर्न पर्याप्त स्वतन्त्र प्रमाण आवश्यक हुन्छ ।

तर यति भने तथ्य हो कि SDA स्वयंले नेपालमा evangelism, church planting, radio ministry र नयाँ Adventist समुदाय निर्माणलाई आफ्नो मिशनको हिस्सा मान्दै आएको छ । Adventist का आधिकारिक प्रकाशनले नेपालमा Adventist World Radio मार्फत नयाँ विश्वासीहरू जोडिएको र नयाँ चर्च स्थापना भएको उदाहरणसमेत सार्वजनिक गरेको छ । त्यसैले नेपाली मण्डलीहरूले उठाएको प्रश्न अब अझ स्पष्ट हुन सक्छ ।

SDA को विस्तारको सीमा कहाँसम्म हो ? संगति र सम्प्रदाय विस्तारबीचको रेखा कहाँ कोरिन्छ ?अन्य Protestant विश्वासीलाई SDA को विशिष्ट शिक्षातर्फ आकर्षित गर्नु सामान्य धार्मिक संवाद हो कि सम्प्रदायगत proselytism ? के SDA ले कुनै अमुक राजनीतिक पार्टीको संगठनात्मक सक्रियताको वाहानामा एस्तो सम्प्रदायगत proselytismको कार्य गरेको सत्य हो ? यी प्रश्नको जवाफ आरोपले होइन, तथ्य र सम्बन्धित पक्षको स्पष्ट धारणाले सम्भव हुन्छ ।

अब प्रश्न पुन : नारायण शर्मातर्फ फर्किन्छ

यही सबै पृष्ठभूमिमा भैंसेपाटीको तस्वीरलाई हेर्दा यसको अर्थ सामान्य कार्यक्रममा सहभागिताभन्दा ठूलो देखिन सक्छ। किनकि नारायण शर्मा सामान्य सहभागी होइनन् । उनको नेपाली इसाई वृत्तमा रहेको परिचय र सम्मानकै कारण उनको एउटा सार्वजनिक उपस्थिति या सहभागिताले अरूको भन्दा बढी अर्थ बोक्छ । उनलाई दोषी ठहर गर्ने आशय कद्दपी होइन ।

के नारायण शर्मा SDA मा प्रवेश गरेका हुन् ? उनि SDA को कुनै doctrinal position सँग सहमत छन् ?

उनको उपस्थिति केवल अन्तरसम्प्रदायिक संवाद र बाइबल अध्ययनका लागि थियो ? वा SDA र उनिबीच कुनै नयाँ सहकार्यको आधार तयार हुँदैछ ? यी प्रश्नहरूको उत्तर तस्वीरले दिँदैन । त्यसैले सामाजिक सञ्जालका टिप्पणीलाई अन्तिम सत्य मान्नु पनि उचित हुँदैन । तर त्यसैगरी, तस्वीरले जन्माएको प्रश्नलाई “केही होइन” भनेर पन्छाउनु पनि सजिलो छैन ।

एक तस्वीर, दुई धारणा र एउटा ठूलो प्रश्न

नारायण शर्मालाई सम्मान गर्नेहरूका लागि यो तस्वीर असहज हुन सक्छ । SDA सँग संवादलाई सामान्य Christian fellowship मान्नेहरूका लागि भने यसमा असामान्य केही नहुन सक्छ । थमन चौधरीको टिप्पणीले यही दोस्रो दृष्टिकोणलाइ प्रतिनिधित्व गर्छ । अर्कोतर्फ हिमाल राई, याकुब तामाङ, निकानोर तामाङ र सुरेन्द्र राउतजस्ता प्रतिक्रियाले पहिलो धारको बेचैनी देखाउँछन् । अर्थात् नेपाली इसाई वृत्त अहिले दुई प्रश्नबीच उभिएको छ : १. व्यक्तिलाई हेर्ने कि मञ्चलाई ? संगतिलाई हेर्ने कि सिद्धान्तलाई ?

र अझ गहिरो प्रश्न धर्मशास्त्रीय असहमति हुँदाहुँदै पनि सहकार्य सम्भव हुन्छ, कि सहकार्य आफैंले मात्रै पनि विश्वासको सीमालाई कमजोर बनाउँछ ? यही प्रश्नले भैंसेपाटीको एउटा कार्यक्रमलाई सामाजिक सञ्जालको सामान्य पोस्टबाट इश्वरशास्त्रीय बहसको केन्द्रविन्दु विषय बनाएको छ । अब यो बहसको सबैभन्दा महत्वपूर्ण पक्ष बाँकी छ। बिसप नारायण शर्माले स्वयं आफ्नो उपस्थितिको उद्देश्य के थियो भनेर बताउने कि नवताउने ? र त्यससँगै SDA चर्च नेपालले पनि नेपाली मण्डली वृत्तमा वर्षौंदेखि उठ्दै आएका यस्ता प्रश्नबारे आफ्नो स्पष्ट धारणा सार्वजनिक गर्ने कि नगर्ने ? किनकि एउटा तस्वीरले गम्भीर बहस जन्माएको जन्माएको छ । अब उत्तर कसले दिन्छ र कसरि दिन्छ त्यहि विन्दुबाट आगामी बहसको दिशा निर्धारण हुनेछ ।

यो बहस कसैलाई व्यक्तिगत रूपमा आरोपित गर्न होइन: के सही हो ? के गलत हो ? कुन कुरा तथ्य हो ? कुन कुरा आरोप हो ? र बाइबल तथा इतिहासले यसबारे के भन्छ ? त्यसको खोजी हाम्रो उद्देश्य हो। SDA र नेपाली इसाई वृत्तसँग सम्बन्धित यी महत्वपूर्ण विषयहरूमा आउने आगामी श्रृंखलाका लागि Jayamashi TV YouTube मा जोडिनुहोस् ।👉 Jayamashi TV Subscribe गर्नुहोस्, Notification Bell 🔔 थिच्नुहोस् र यो श्रृंखला नछुटाउनुहोस् ।

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
नेप्लिज-भुट्निज ख्रीष्टियन चर्चेज अफ अमेरिका (बिएनसीए) को नौं शिखर सभा सम्पन्न ।
नेप्लिज-भुट्निज ख्रीष्टियन चर्चेज अफ अमेरिका (बिएनसीए) को नौं शिखर सभा सम्पन्न ।
निजि गुठि के हो : अर्थ व्याख्या र उपयोगिता
निजि गुठि के हो : अर्थ व्याख्या र उपयोगिता
पाकिस्तानमा पनि डुनामिस सेवकाइको विद्यालयको भव्य शुभारम्भ : जीवन रूपान्तरणका गवाहीले सहभागीहरू उत्साहित
पाकिस्तानमा पनि डुनामिस सेवकाइको विद्यालयको भव्य शुभारम्भ : जीवन रूपान्तरणका गवाहीले सहभागीहरू उत्साहित
आराधना हाम्रो जीवनशैली हुनुपर्छ : मुकेश तामाङ्ग
आराधना हाम्रो जीवनशैली हुनुपर्छ : मुकेश तामाङ्ग
खेलकुद वारे  बाइबलले के भन्छ
खेलकुद वारे बाइबलले के भन्छ
कविता: येशुमा फर्की आऊ
कविता: येशुमा फर्की आऊ
समलैंगीकताको विषयमा NCF/NCS ले गर्न लागेकाे कार्यक्रम वारे भव घलेकाे पांच सुझाव
समलैंगीकताको विषयमा NCF/NCS ले गर्न लागेकाे कार्यक्रम वारे भव घलेकाे पांच सुझाव
जीवनको सबैभन्दा बहुमूल्य निधि : ख्रीष्टमा शान्ति लेखक
जीवनको सबैभन्दा बहुमूल्य निधि : ख्रीष्टमा शान्ति लेखक
विभिन्न राष्ट्रिय दलहरुबाट ८० जना भन्दा धेरै ख्रीष्टियन समुदायका जनप्रतिनिधिहरु निर्वाचित ।
विभिन्न राष्ट्रिय दलहरुबाट ८० जना भन्दा धेरै ख्रीष्टियन समुदायका जनप्रतिनिधिहरु निर्वाचित ।
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम