single page header banner

आत्मिकी लडाइँ र ख्रीष्टमा विजय (प्रार्थना शृंखला – भाग ३)

admin_news admin_news
शनिबार, कार्तिक 4, 2083
Social buttons loaded
समाचार सारांश
  • मुकेश तामांग हामी अहिले प्रार्थना र यसका विभिन्न जगहरूको विषयमा कुरा गरिरहेका छौं ।
  • हामी आत्मिकी लडाइँमा छौं, तर यो लडाइँ कस्तो हो त ?
  • मुकेश तामांग

हामी अहिले प्रार्थना र यसका विभिन्न जगहरूको विषयमा कुरा गरिरहेका छौं । हामी आत्मिकी लडाइँमा छौं, तर यो लडाइँ कस्तो हो त ? यो झुटको विरुद्धमा सत्यतालाई पत्याउने लडाइँ हो । पुरानो करारमा सैतानको विरुद्धमा जे जति कार्यहरू गरिए, ती केवल छाया मात्र थिए; वास्तविकतामा येशू ख्रीष्टले क्रुसमा आफ्नो कार्य पूरा गरेर दुष्टलाई सदाका लागि पराजित गरिसक्नुभएको छ । उहाँले क्रुसमा सैतान, प्रधानता र शक्तिहरूमाथि विजय हासिल गर्नुभयो । अहिले हामीले गर्नुपर्ने काम भनेको येशूले प्राप्त गर्नुभएको त्यही विजयलाई आफ्नो जीवनमा लागु गर्नु (Enforce गर्नु) र अधिकारका साथ देखाउनु मात्र हो ।

येशूले भन्नुभएको छ, “हेर, मैले संसारलाई जितेको छु ।” याकूबको पत्रले पनि भन्छ, “परमेश्वरको अधीनमा बस, दुष्टको विरोध गर, र त्यो तिमीहरूबाट भाग्नेछ” । हामीले ख्रीष्टमा प्रधानता र शक्तिहरूलाई जितेका छौं, तर जितेका छौं भनेर मख्ख परेर मात्र बस्न मिल्दैन । किनकि अहिले पनि हामी लडाइँमा छौं, जहाँ दुष्टले हरेक पल्ट आफ्ना युक्तिहरू (मेथोडिया – Methodia) ल्याउँछ । जब त्यो युक्ति आउँछ, त्यसलाई हप्काएर वा बाँधेर मात्र हुँदैन; दोस्रो कोरिन्थी १०:५ ले भनेझैं, हामीले हरेक विचार र युक्तिलाई ख्रीष्टको अधीनतामा ल्याउनुपर्छ र ख्रीष्टको विचारद्वारा त्यसलाई साटफेर गर्नुपर्छ। लडाइँको मुख्य सिद्धान्त नै यही हो: परमेश्वरको वचनले जे भनेको छैन, त्यसलाई हामीले पत्याउने होइन ।

सुसमाचारको जुत्ता र धार्मिकताको छातीपाता

हामीले परमेश्वरका हातहतियारहरूको विषयमा चर्चा गर्दै गर्दा, सुसमाचारको जुत्ता मेलमिलापको जुत्ता हो । येशूले क्रुसमा सिध्याउनुभएको काम नै सुसमाचार हो । हामीमा शान्ति ल्याउने दण्ड येशू ख्रीष्टमाथि पर्यो र उहाँकै कोर्राको चोटद्वारा हामी निको भयौं । हामीले यही शान्तिको सुसमाचारलाई बोकेर हिँड्नुपर्छ ।

त्यसैगरी, धार्मिकताको छातीपाताले हामीलाई हाम्रो ख्रीष्टियन पहिचानमा सुरक्षित राख्ने काम गर्छ । रोमी सैनिकले पेटसम्म पुग्ने ठूलो छातीपाता लगाउँथे, जसले उनीहरूलाई सुरक्षित राख्थ्यो । आज संसार पहिचानको ठूलो सङ्कटमा छ; मिडिया र समाजको प्रभावले केटाहरूले आफूलाई केटी र केटीहरूले आफूलाई केटा भनिरहेका छन् । तर धार्मिकताको छातीपाताले हामीलाई हामी को हौं भन्ने कुरामा स्पष्ट राख्छ । धार्मिकता भनेको बिना लाज, बिना डर, र बिना दोषी भावना पिता परमेश्वरको उपस्थितिमा उभिन सक्ने क्षमता हो; यस्तो क्षमता जहाँ पापको कुनै अस्तित्व नै रहँदैन । जसरी कुकुरले भुक्ने र बिरालोले म्याउँ गर्ने उनीहरूको स्वभाव हो, पापीले पाप गरिरहन्छ । तर हामी पापी होइनौं, हामी धर्मी हौं, र धार्मिकताको छातीपाताले हामीलाई यही सत्यतामा सुरक्षित राख्छ ।

दियाबलसका युक्तिहरूविरुद्ध खडा हुने सामर्थ्य

हामीले यी हातहतियार किन धारण गर्ने त ? एफिसी ६:११ ले स्पष्ट भन्छ, “दियाबलसका युक्तिहरूका विरुद्धमा खडा हुन सक्नलाई परमेश्वरका सारा हातहतियार धारण गर” । हाम्रो लडाइँ कुनै व्यक्तिसँग वा शरीर र रगतको विरुद्धमा होइन । यदि कुनै सिपाहीले हतियार बोकेर पूर्वतिर भइरहेको लडाइँ छोडी पश्चिमतिर गएर बन्दुक चलाउँछ भने उसले युद्ध जित्न सक्दैन । सैतानले हामीलाई यस्तै छलमा पार्न खोज्छ । हाम्रो लडाइँ दियाबलसका युक्तिहरू, अर्थात् त्यसले ल्याउने प्रणालीबद्ध झुटहरूका विरुद्धमा हो ।

सैतान गर्जने सिंहझैं आए तापनि, जसलाई सक्कली र नक्कलीको भिन्नता थाहा छैन, उसलाई मात्र त्यसले तर्साउन सक्छ । नक्कली नोट बोकेको मानिस पसलमा जाँदा डरले भागेझैं, जब हामी परमेश्वरको वचनको तराजुमा दुष्टका विचारहरू जोख्छौं र परमेश्वरको अधीनमा रहेर त्यसको विरोध गर्छौं, त्यो हामीबाट टाप कसेर भाग्छ । येशूलाई परीक्षा गर्दा पनि सैतानले वचनलाई बङ्ग्याएर (जस्तै: माथिबाट हाम फालिदिनुस्, स्वर्गदूतले बचाउनेछन्) प्रस्तुत गरेको थियो । तर येशूले सैतानसँग कुस्ती खेल्नुभएन, न त आफ्नो पहिचान नै प्रमाणित गरिरहनुभयो । उहाँलाई आफू को हुँ भन्ने स्पष्ट थाहा थियो । बलिउडले देखाएको जस्तो ज्यानै दिने नक्कली प्रेमको छलमा हामी पर्नु हुँदैन । हामीलाई ख्रीष्टको रगतले प्रमाणित गरिसकेको छ, अब हामीले आफूलाई प्रमाणित गरिरहनु पर्दैन ।

हाम्रो हतियार र विश्वासको ढाल

दुष्टले हामीमाथि ‘अग्निबाण’ प्रहार गर्छ । यी अग्निबाणहरू साँच्चिकै तीर नभएर आगो जस्ता पोल्ने शब्दहरू, झुटहरू र तुलना (Comparison) गर्ने विचारहरू हुन् । सैतानले हामीलाई अरूसँग दाँजेर हाम्रो बोलावटबाट भड्काउन खोज्छ । जसरी आँपको रूख गर्मीमा मात्र फल्छ, त्यसलाई जाडोमा स्याउ फलाउन भनियो भने त्यो सम्भव हुँदैन, त्यसरी नै हामी अरू जस्तो बन्न खोज्यौं भने कहिल्यै फस्टाउन सक्दैनौं । स्याउबाट स्याउको जुस वा सुकेको स्याउ बन्ला, तर स्वाद स्याउकै हुन्छ । हामीलाई परमेश्वरले जुन बोलावट दिनुभएको छ, हामी त्यसैमा रहनुपर्छ ।

थोमस अल्वा एडिसनले १० हजार पटक असफल हुँदा पनि आफूलाई ‘चिम बनाउन नसक्ने मानिस’ भनेर कहिल्यै स्वीकार गरेनन् । उनको दिमागमा त्यो कुरा नै थिएन । त्यसरी नै हामीले पनि परमेश्वरको वचनले दिएको पहिचानलाई मात्र दृढतापूर्वक स्वीकार गर्नुपर्छ । जसरी कालो लुगा लगाएको मानिसले आफूलाई कालो लुगामै देख्छ, त्यसरी नै हामीले धार्मिकताको छातीपाता लगाएपछि आफूलाई धर्मी नै देख्नुपर्छ ।

यति एयरलाइन्सको दुर्घटना हुँदा हजारौं सुरक्षित उडानहरूलाई बिर्सेर मानिसहरू त्यही एउटा दुर्घटनालाई हेरेर डराएझैं, सैतानले एउटा सानो झुट देखाएर परमेश्वरका महान् प्रतिज्ञाहरूबाट हाम्रो ध्यान हटाउन खोज्छ । हामी त्यस्तो छलमा पर्नु हुँदैन । हामीले मुक्तिरूपी टोप र पवित्र आत्माको तरवार (परमेश्वरको वचन) लाई मुखले बोलेर प्रयोग गर्नुपर्छ ।

परमेश्वरको इच्छाबमोजिमको प्रार्थना

एफिसी ६:१८ ले हामीलाई “सारा प्रार्थना र निवेदन साथ सब समय पवित्र आत्मामा प्रार्थना गर” भनी सिकाउँछ । यसको अर्थ हामीले हर प्रकारको प्रार्थना गर्नुपर्छ । १ यूहन्ना ५:१४-१५ ले हाम्रो प्रार्थनाको दृढ निश्चयतालाई यसरी स्पष्ट पार्छ: “उहाँको इच्छाबमोजिम जे मागे तापनि उहाँले हाम्रो कुरा सुन्नुहुन्छ… र जे मागेका छौं त्यो हामीलाई प्राप्त भएको छ” । उहाँको इच्छा भनेको नै उहाँको वचन हो ।

जब हामी उहाँको वचनअनुसार प्रार्थना गर्छौं, त्यसको उत्तर हामीले प्राप्त गरिसकेका हुन्छौं । जसरी भात खाएपछि शरीरमा कार्बोहाइड्रेट पुग्छ भनी हामीले प्रमाणित गरिरहनु पर्दैन (महसुस भए पनि नभए पनि त्यो शरीरमा जान्छ नै), त्यसरी नै वचनअनुसार प्रार्थना गरेपछि उत्तर प्राप्त हुन्छ भन्ने कुरामा शङ्का गर्नु पर्दैन । विश्वास भनेको भावना होइन, यो अन्तिम नतिजा हो ।

प्रार्थना गर्नुअघि वचनलाई तयार गर्नु नितान्त आवश्यक छ । जसरी खाना पकाउनुअघि तरकारी काटकुट गरी तयार पारिन्छ र त्यसपछि मात्र कराइ बसालेर तेल र मासु राखेर पकाइन्छ, त्यसरी नै प्रार्थनामा जानुअघि हामीले परमेश्वरको वचनलाई मनन गरी तयार गर्नुपर्छ । वचनको तयारीबिना गरिएको प्रार्थना, तरकारी नराखी खाली कराइ बसालेर पाक्छ भनी आश गर्नु जस्तै हो । सैतानको मुख्य हतियार नै हामीलाई वचन अध्ययन गर्न नदिनु र मनमा नवीकरण हुन नदिनु हो । त्यसैले प्रार्थना गर्नुअघि “यस विषयमा वचनले के भन्छ ?” भनी खोज्नु नै हाम्रो विजयको कुञ्जी हो ।

पवित्र आत्माको मध्यस्थता र सहायता

रोमी ८:२६-२८ अनुसार, जब हामी कसरी प्रार्थना गर्नुपर्छ भनी जान्दैनौं, तब पवित्र आत्माले हाम्रो दुर्बलतामा सहायता गर्नुहुन्छ । यो दुर्बलता आत्माको होइन, तर प्राण र शरीरको दुर्बलता हो । जब हामीलाई के प्रार्थना गर्ने थाहा हुँदैन, तब शब्दहरूमा व्यक्त गर्न नसकिने सुस्केराहरू (कोइने ग्रीकमा: Stegnagmos – स्टेगनागमोस) मा पवित्र आत्माले हाम्रो निम्ति मध्यस्थता गर्नुहुन्छ ।

जसरी लामो समय सँगै बसेका श्रीमान्-श्रीमतीबीच हेराइबाटै कुरा बुझ्ने ‘कोड भाषा’ हुन्छ, त्यसरी नै पवित्र आत्माले हाम्रो हृदयको गहिराइलाई बुझेर परमेश्वरको इच्छाअनुसार प्रार्थना गर्न मद्दत गर्नुहुन्छ । हन्नाको प्रार्थना र पेन्तिकोसको दिनमा चेलाहरूको प्रार्थना यसकै उत्कृष्ट उदाहरण हुन्, जसलाई देखेर मानिसहरूले उनीहरूलाई ‘मात्तिएका’ भन्ठानेका थिए । हामीले हाम्रो भविष्य र बोलावटको लागि पनि पवित्र आत्माको सहायतामा अन्य भाषामा प्रार्थना गर्न सक्छौं ।

आगामी भागमा हामी अन्तरबिन्तीको प्रार्थना र यसका गहिरा विषयहरूमा अझ विस्तृत रूपमा सिक्नेछौं ।

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम