single page header banner

पूर्वी तराईको द्वन्द्व, धार्मिक सहिष्णुता र शान्ति निर्माणमा मण्डलीको भूमिका

admin_news admin_news
सोमबार, मंसिर 3, 2083
Social buttons loaded
समाचार सारांश
  • पा.
  • भव घले, संस्थापक/सल्लाहकार – अन्तरधार्मिक परिषद, राष्ट्रिय संयोजक – UNNCC पूर्वी तराईको द्वन्द्व र इसाई समुदायको प्रार्थना अभियान नेपाली इसाई समुदायले विगत दुई दशकभन्दा लामो समयदेखि राष्ट्र, सरकार र समाजको हितका लागि निरन्तर प्रार्थना गर्दै आइरहेको छ।
  • पा. भव घले, संस्थापक/सल्लाहकार – अन्तरधार्मिक परिषद, राष्ट्रिय संयोजक – UNNCC

पूर्वी तराईको द्वन्द्व र इसाई समुदायको प्रार्थना अभियान

नेपाली इसाई समुदायले विगत दुई दशकभन्दा लामो समयदेखि राष्ट्र, सरकार र समाजको हितका लागि निरन्तर प्रार्थना गर्दै आइरहेको छ। अन्य धार्मिक समुदायको अभ्यास जे जस्तो भए तापनि, इसाईहरुले एक जिम्मेवार नागरिकको हैसियतले देश र समाजका निमित्त प्रार्थना गर्नुलाई आफ्नो परम कर्तव्य मान्दै आएका छन । हाम्रो प्रार्थनालाई परमेश्वरले सुन्नुभएको छ र नेपाललाई विभिन्न जोखिम, खतरा तथा विपत्तिहरूबाट सुरक्षित राख्नुभएको छ । यसै परम्परालाई निरन्तरता दिँदै, वार्षिक रूपमा सञ्चालन हुने नेपालका लागि ४० दिने प्रार्थना अभियान, शुक्रबारे प्रार्थना तथा अन्य विशेष प्रार्थनाहरू निरन्तर आयोजना गरिँदै आएका छन् । यसपटकको प्रार्थनाको मुख्य केन्द्रबिन्दु पूर्वी तराईमा हालै उब्जिएको द्वन्द्व, आतङ्क र अस्थिरता रहेको थियो । यो द्वन्द्व कहाँबाट, कसरी र किन सिर्जना भयो भन्ने विषयमा अहिल्यै निष्कर्ष निकाल्न नसकिए पनि, जुनसुकै कारणले उब्जिएको भए तापनि यसको शीघ्र समाधान हुनुपर्छ भन्ने हाम्रो गहिरो चाहना हो । समाज र राष्ट्रको लागि यस्ता धार्मिक तथा साम्प्रदायिक द्वन्द्वहरू कदापि फलदायी हुँदैनन् । यसले राष्ट्रिय एकता, सामाजिक सद्भाव र सहिष्णुताको मर्मलाई गम्भीर आघात पुर्‍याउँछ । तसर्थ, यो द्वन्द्व तत्काल साम्य होस् र देशमा पुनः शान्ति छाओस् भन्ने पवित्र उद्देश्यका साथ हामीले परमेश्वरसामु प्रार्थना चढाएका हौं ।

धार्मिक सद्भाव र शान्ति निर्माणमा सबैको दायित्व

पूर्वी तराईमा देखिएको यो दुखद र दुर्भाग्यपूर्ण अवस्था वास्तवमा आउनै नहुने थियो । यसको कारण र पृष्ठभूमिका विषयमा सरकारले पक्कै पनि आवश्यक मूल्याङ्कन र अनुसन्धान गर्नेछ । समग्रमा भन्नुपर्दा, हामी नेपालीहरूको मूल पहिचान नै शान्ति, सद्भाव, मेलमिलाप र सहिष्णुता हो । विश्वका अन्य राष्ट्रहरूमा साम्प्रदायिक सद्भाव भड्किने र हिंसात्मक द्वन्द्व हुने गरे तापनि, विविध धर्म, संस्कृति, जातजाति र भाषाभाषीको सुन्दर फुलबारीको रूपमा रहेको नेपालमा यस्तो प्रकृतिको विवाद विरलै हुने गर्दथ्यो । तर अहिले जे भइरहेको छ, त्यो अत्यन्तै चिन्ताजनक छ । यसको समाधानका लागि हामी सबैले आ-आफ्नो ठाउँबाट योगदान गर्नुपर्छ । शान्ति स्थापना गर्ने वा द्वन्द्व सिर्जना गर्ने, यी दुवै हाम्रै हातमा छ। यस संवेदनशील घडीमा हामी सबै अत्यन्त संयमित भई ‘हामी किन र कसका लागि लडिरहेका छौं ?’ भनेर गम्भीर रूपमा सोच्न जरुरी छ । कुनै ठूलो मुद्दा वा एजेन्डाबिना नै साना विवादले मारकाट र हिंसाको रूप लिनु किमार्थ शोभनीय होइन ।

धर्मको नाममा वा धार्मिक समुदायबीच द्वन्द्व हुनु आफैंमा एक अस्वस्थकर र निन्दनीय कार्य हो । धार्मिक समुदायको मुख्य दायित्व नै समाजमा शान्ति, अमनचयन, भातृत्व र प्रेमको सन्देश प्रवाह गर्नु हो । हरेक धर्मले शान्ति, मिलाप र एकता सिकाउने हुनाले धर्मकै नाममा हिंसा हुनु कसैको लागि पनि हितकर हुँदैन । यसले समाजमा राम्रो सन्देश जाँदैन । हामी सबैले सहनशीलता अपनाउनु आवश्यक छ । कुनै पनि धर्म वा सिद्धान्त शतप्रतिशत पूर्ण हुँदैनन्, तिनलाई समयक्रमसँगै परिष्कृत गर्दै लैजानुपर्छ । सानोतिनो गल्ती, रिसिबी वा आवेगमा आएर द्वन्द्व चर्काउनुको सट्टा यसलाई शान्तिपूर्ण रूपमा समाधान गर्न सरकारलाई पूर्ण रूपमा सहयोग गर्नुपर्छ । विगतमा तत्कालीन उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जस्तै अन्तरधार्मिक गुरु तथा अगुवाहरूलाई गृह मन्त्रालयमा आमन्त्रण गरी छलफल गर्ने र सामूहिक वक्तव्य जारी गर्ने जस्ता बुद्धिमत्तापूर्ण कदमहरू सरकारले अहिले पनि चाल्न सक्छ । द्वन्द्वग्रस्त क्षेत्रमा गएर मात्र होइन, सबै धर्मगुरुहरूलाई एकै ठाउँमा राखेर समाधानको बाटो खोज्नु र सम्झाइबुझाइ गर्नु बढी प्रभावकारी हुन्छ ।

दीर्घकालीन समाधान: ‘अन्तरधार्मिक आयोग’ को आवश्यकता

दीर्घकालीन समाधानका निमित्त सरकारले एउटा ‘अन्तरधार्मिक आयोग’ गठन गर्नु अत्यन्त सान्दर्भिक हुनेछ । मन्त्रालय नै गठन गर्न सम्भव नभए पनि, आयोगमार्फत धार्मिक समुदायका कुरा सुन्ने, उनीहरूका आवश्यकतालाई सम्बोधन गर्ने र राष्ट्र निर्माणमा उनीहरूको योगदानलाई एकीकृत गर्न सकिन्छ । जेन्जी आन्दोलनको समयमा सुरु भएको अन्तरधार्मिक गोलमेच सम्मेलनको उपलब्धिको रूपमा हाल अन्तरधार्मिक परिषद गठन हुँदै अघि बढिरहेको छ । यस परिषदलाई सरकारले संस्थागत मान्यता दिएर सहकार्य गरेमा धार्मिक द्वन्द्व न्यूनीकरणमा ठूलो मद्दत पुग्नेछ ।

मानव जातिप्रतिको ईश्वरीय प्रेम र साँचो धार्मिकता

हालको अवस्थामा भने धार्मिक गुरुहरूले आफ्नो समुदायलाई सही दिशानिर्देश र शिक्षा दिनु नितान्त आवश्यक छ । धर्म मूलतः परमेश्वर वा ईश्वरसँगको प्रत्यक्ष सम्बन्ध हो, यो केवल बाहिरी सेवा वा कर्ममा मात्र सीमित छैन । सबैले आफ्नो आस्था र विश्वास स्वतन्त्र रूपमा स्वेच्छाले पालन गर्न पाउनुपर्छ र यसमा कसैले कसैलाई जबर्जस्ती गर्ने वा हस्तक्षेप गर्ने कार्य गर्नु हुँदैन । अर्काको धर्मलाई सम्मान गर्नु नै साँचो धार्मिकता हो । आफ्नो आस्थालाई लिएर अरूको आस्थालाई इन्कार गर्ने, घृणा गर्ने वा प्रतिकार गर्ने कार्यले द्वन्द्व, विखण्डन र अशान्ति मात्र निम्त्याउँछ, समाधान कहिल्यै दिँदैन ।

हामीले बुझ्नुपर्ने परम सत्य के हो भने, यो सम्पूर्ण ब्रह्माण्ड एउटै ईश्वरले सृष्टि गर्नुभएको हो । हामीले ‘मेरो परमेश्वर’ र ‘तेरो परमेश्वर’ भनेर विभाजन खडा गरे तापनि सृष्टिकर्ता एकै हुनुहुन्छ । धर्म परमेश्वरले होइन, मानिसले बनाएको हो । प्रभु येशू ख्रीष्ट यस संसारमा कुनै नयाँ धर्म स्थापना गर्न वा धर्म प्रचार गर्न आउनुभएको होइन, उहाँ मानव जातिलाई पापबाट उद्धार गर्न आउनुभएको हो । परमेश्वरको दृष्टिकोणमा हिन्दु, मुस्लिम, बौद्ध वा क्रिश्चियन भन्ने कुनै भेद छैन; उहाँको मुख्य प्राथमिकता मानिस र मानव जाति हो । जसरी घाम लाग्दा र पानी पर्दा परमेश्वरले सबैलाई समान रूपमा दिनुहुन्छ, कसैलाई धेरै र कसैलाई थोरै गर्नुहुन्न, त्यसरी नै उहाँले सम्पूर्ण मानव जातिलाई समान प्रेम गर्नुहुन्छ । तसर्थ, धर्मको नाममा लड्नु अज्ञानता र मूर्खता बाहेक केही होइन । हाम्रो सोच र चेतना धर्मको साँघुरो घेराभन्दा माथि उठेर ईश्वरीय प्रेम र मिलापमा केन्द्रित हुनुपर्छ ।

मण्डलीमा व्यावहारिक शिक्षा: समाजको ‘नुन र ज्योति’

यसका साथै, मण्डलीभित्र आत्मिक शिक्षा र चेलापनको साथसाथै अब व्यावहारिक शिक्षामा पनि उत्तिकै जोड दिनुपर्ने बेला आएको छ । आर्थिक रूपमा कसरी आत्मनिर्भर हुने, समाज र राष्ट्रप्रति कसरी उत्तरदायी बन्ने, अनि प्रकृति र वातावरणको संरक्षणमा कसरी जिम्मेवार हुने भन्ने जस्ता विषयहरू मण्डलीको शिक्षामा अनिवार्य समावेश हुनुपर्छ । मुखले ‘हालेलुया’ भनेर वा चर्चमा क्रुस झुन्ड्याएर मात्र हाम्रो दायित्व पूरा हुँदैन; हामी साँचो अर्थमा समाजको ‘नुन र ज्योति’ बनेर सकारात्मक प्रभाव पार्न सक्नुपर्छ । नेपाली मण्डलीहरू बिस्तारै यस परिपक्वताको दिशामा अघि बढ्दै छन् । अब हामीले मण्डलीका चार भित्ताभित्र मात्र सीमित नरही आत्मिक, सामाजिक, आर्थिक र राजनीतिक गरी चारवटै पर्खालहरू निर्माण गर्नुपर्छ । यस महान् कार्यका लागि हामी इसाई समुदायबीच गहिरो एकता आवश्यक छ ।

इसाई समुदायलाई विशेष अपिल: संयम, एकता र निरन्तर प्रार्थना

अन्तमा, देशको यो अत्यन्त जटिल परिस्थितिमा सम्पूर्ण इसाई दाजुभाइ तथा दिदी बहिनीहरूलाई म संयुक्त राष्ट्रिय नेपाली चर्च परिषद (UNNCC) को तर्फबाट विनम्र आग्रह गर्न चाहन्छु कि व्यक्तिगत रूपमा, पारिवारिक स्तरमा र मण्डलीमा राष्ट्रका लागि प्रार्थना गर्ने अभियानलाई स्वतःस्फूर्त रूपमा अघि बढाउनुहोस् । बाइबलले नै हामीलाई हामी बसेको सहर, सरकार र नेतृत्वको लागि प्रार्थना गर्न आज्ञा दिएको छ । यसका लागि कुनै विशेष कार्यक्रम, संस्था, पद वा फन्डको आवश्यकता पर्दैन; जहाँ छौं त्यहीँबाट दुई-तीन जना वा सयौं जना जम्मा भएर देशको शान्तिका लागि प्रार्थना गरौं ।

साथै, यस संवेदनशील समयमा हामी सबैले आफ्नो बोली, व्यवहार र सामाजिक सञ्जालको प्रयोगमा उच्च संयम अपनाउनु जरुरी छ । सामाजिक सञ्जालमा उत्तेजित बनाउने वा कसैको पक्ष-विपक्षमा लाग्ने टिप्पणीहरू नगरौं । हामी क्रिश्चियन हौं, तर त्योभन्दा पहिले हामी एउटै फूलबारीका नेपाली हौं। हामी हिन्दु, मुस्लिम वा बौद्ध जे भए पनि हाम्रो राष्ट्रियता एउटै हो । हाम्रो जात, भाषा र संस्कृति फरक होला, तर हामी नेपाली हौं र हामीबीच एकता, भातृत्व र प्रेमको भावना हुनुपर्छ । तसर्थ, अरू कुनै पनि धर्म वा सम्प्रदायप्रति आक्षेप लगाउने, विरोध गर्ने वा धार्मिक सद्भावमा खलल पुर्‍याउने कार्य कसैले पनि नगरौं । एउटा सानो शब्द वा अभिव्यक्तिले पनि ठूलो द्वन्द्व निम्त्याउन सक्ने हुनाले, प्रेम र मेलमिलापको सन्देश प्रवाह गर्दै पूर्वी तराईमा रहेका हाम्रा हिन्दु र मुस्लिम दाजुभाइहरूको शान्तिका लागि विशेष प्रार्थना गरौं । देशमा शान्ति, सुशासन र समृद्धिको स्थापनाका लागि हामी सबै संयमित र कटिबद्ध भएर अघि बढौं ।

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
बाल सेवकाइको परिचय : एक
बाल सेवकाइको परिचय : एक
के परमेश्वर वास्तवमा नै हुनुहुन्छ ? ( परमेश्वरको अस्तित्व माथि गरिएको प्रश्न माथि बाइबलीय जबाफ)
के परमेश्वर वास्तवमा नै हुनुहुन्छ ? ( परमेश्वरको अस्तित्व माथि गरिएको प्रश्न माथि बाइबलीय जबाफ)
३७ जनालाई पास्टर तथा रेभरेण्डमा अभिषेक
३७ जनालाई पास्टर तथा रेभरेण्डमा अभिषेक
हामीले हाम्रो राष्ट्रका लागि अहिले के गर्न सक्छौं ?
हामीले हाम्रो राष्ट्रका लागि अहिले के गर्न सक्छौं ?
 के हो मानिसको प्राण  र आत्मा : यसमा के कस्तो समानता र भिन्नता छ
 के हो मानिसको प्राण र आत्मा : यसमा के कस्तो समानता र भिन्नता छ
निजि गुठि के हो : अर्थ व्याख्या र उपयोगिता
निजि गुठि के हो : अर्थ व्याख्या र उपयोगिता
इसाई समाज कैलालीको आयोजनामा एक दिने रक्तदान कार्यक्रम सम्पन्न
इसाई समाज कैलालीको आयोजनामा एक दिने रक्तदान कार्यक्रम सम्पन्न
हाम्रो जीवनमा परमेश्वरको योजनाको पहिचान
हाम्रो जीवनमा परमेश्वरको योजनाको पहिचान
नेपाल राष्ट्रीय ईसाई समाजद्वारा सुदुरपश्चिमका मुख्यमन्त्रीको ध्यानाकर्षण
नेपाल राष्ट्रीय ईसाई समाजद्वारा सुदुरपश्चिमका मुख्यमन्त्रीको ध्यानाकर्षण
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम