single page header banner

एक निर्वोध बालिकाको नभनिएको सत्य कथा

admin_news admin_news
शनिबार, आश्विन 20, 2083
Social buttons loaded
समाचार सारांश
  • अधिवक्ता रामेश्वरी जोशी करिब तेह्र–चौध वर्षअघि परमेश्वरले उनी, उनकी आमा र भाइहरूलाई प्रयोग गरी नयाँ चर्च स्थापना गर्ने अवसर दिनुभयो ।
  • आज पनि उनी त्यही चर्चमा सेवकाइ गरिरहेकी छन् ।
  • अधिवक्ता रामेश्वरी जोशी

करिब तेह्र–चौध वर्षअघि परमेश्वरले उनी, उनकी आमा र भाइहरूलाई प्रयोग गरी नयाँ चर्च स्थापना गर्ने अवसर दिनुभयो । आज पनि उनी त्यही चर्चमा सेवकाइ गरिरहेकी छन् । उनकी बहिनी एक पास्टरकी पत्नी भएकीले आफ्ना श्रीमानको सेवकाइमा सक्रिय सहयोग पुर्‍याइरहेकी छन् । उनको जीवनकथाले एउटा सत्य सन्देश दिन्छ—परमेश्वरले मानिसको जीवनलाई परिवर्तन गर्न सक्नुहुन्छ, निराशालाई आशामा बदल्न सक्नुहुन्छ, र अन्योललाई उद्देश्यमा रूपान्तरण गर्न सक्नुहुन्छ ।

उनी आफ्ना आमा–बुबाकी जेठी छोरीका रूपमा एउटा सानो सहरमा, कट्टर हिन्दू परिवारमा जन्मिएकी एक निर्दोष बालिका थिइन् । उनी साना–साना कुरामा रमाउने, सबैलाई आफ्नै सम्झिने, कसैले मन दुखाए पनि पूर्वाग्रह नराख्ने, कसैप्रति रिस–राग नपाल्ने स्वभावकी थिइन् । उनी आफ्नी आमालाई प्राणसरह माया गर्थिन्, बाबुलाई गौरवका रूपमा लिन्थिन्, र हरेक विषयलाई गहिरिएर सोच्ने बानी थियो ।

उनका बुबा कामका कारण प्रायः घरबाहिर बस्नुहुन्थ्यो । घरमा उनी र उनकी आमा मात्र हुन्थे। आमाले खेल्नका लागि राम्रा–राम्रा कपडाका पुतली बनाएर दिनुहुन्थ्यो । बाहिर पठाउँदा हराउलिन् भन्ने डरले धेरैजसो समय ढोका लगाएर आफ्नै साथमा राख्नुहुन्थ्यो। तर सधैं त्यसरी बस्नुपर्दा उनलाई दिक्क लाग्थ्यो । कहिलेकाहीँ आमाले दिउँसो सुतिरहेको बेला मौका पारेर ढोका खोली चुपचाप बाहिर निस्कन्थिन् र सबैले खोज्नुपर्ने गरी टाढासम्म पुग्थिन् ।

उनी करिब पाँच वर्षकी भएपछि परिवारले मान्दै आएको सनातन हिन्दू परम्पराअनुसार उनलाई पनि धार्मिक संस्कार सिकाउन थालियो। उनकी आमाले पूजा थालमा धूप, अक्षता, अबिर आदि राखेर बिहानै नजिकैको मन्दिरमा पूजा गर्न पठाउनुहुन्थ्यो । त्यहाँ रहेका विभिन्न मूर्तिहरूमध्ये शिवलिङ्ग पनि थियो । बाल्यकालमा उनले भक्तिभावका साथ शिवको “टाउको” भनेर पूजा गर्थिन्। पछि मात्र उनले त्यो शिवको टाउको नभई शिवलिङ्ग रहेको बुझिन् ।

उनकी आमाले सधैं धर्म गर्नुपर्छ, ईश्वरको भक्ति गर्नुपर्छ र सत्यको पक्षमा उभिनुपर्छ भनेर सिकाउनुहुन्थ्यो। तर ती बालिकाको स्वभाव भने फरक थियो । उनले सुनेका सबै कुरा सजिलै विश्वास गर्दिनथिन् । बरु त्यसको कारण सोध्थिन् । एक दिन आमाले पूजाकोठामा भगवानका लागि राखिएको “चोखो पानी” नछुनु, छोए पाप लाग्छ भन्नुभयो। उनले सोधिन्, “किन छुनु हुँदैन ?” आमाले उत्तर दिनुभयो, “पाप लाग्छ ।” फेरि उनले प्रश्न गरिन्, “पाप भनेको के हो?” तर आमासँग त्यसको स्पष्ट व्याख्या थिएन। यस्ता प्रश्नहरूले उनको मनमा धेरै जिज्ञासा पैदा गर्थे ।

एक दिन आमाले नदेख्ने गरी उनले त्यो पानी छोइन् । तर केही पनि भएन। त्यसपछि उनले आमालाई गएर भनिन्, “मैले पानी छोएँ, तर केही भएन ।” यसरी सानैदेखि उनी विश्वास र व्यवहारबीचको सम्बन्ध बुझ्न खोज्ने स्वभावकी थिइन्। समय बित्दै गयो। उनी धार्मिक कार्यमा सहभागी भइरहिन् र आफूले सकेसम्म भगवानलाई खुसी पार्ने प्रयास गर्थिन् । त्यसैबीच विद्यालय जाने उमेर भयो। उनकी आमाले एक रुपैयाँ दिएर, “जा, विद्यालयमा भर्ना भएर आऊ” भन्नुभयो। यति सानी बालिकालाई एक्लै विद्यालय पठाइएको थियो। उनी हजुरबुबाको घर पुगिन् र आफूलाई विद्यालयमा भर्ना गरिदिन अनुरोध गरिन् । उनलाई पढ्न अत्यन्तै मन पर्थ्यो। पढाइबिना भविष्य राम्रो हुँदैन भन्ने कुरा उनले सानैदेखि बुझेकी थिइन् । त्यसैले मन लगाएर पढ्थिन् र शिक्षकहरूको प्रिय विद्यार्थी बनिन् ।

उनी खासै भौतिक कुरा खोज्ने स्वभावकी थिइनन्। तर एउटा कुरा भने उनलाई सधैं खट्किन्थ्यो। अरू आमाहरू आफ्ना साना–साना नानीहरू बोकेर हिँडेको देख्दा आफ्नी आमा भने आफू एक्लैसँग मात्र भएको देखेर उनलाई दुःख लाग्थ्यो । विस्तारै उनको मनमा भाइबहिनीको चाहना बढ्न थाल्यो ।

उनकी ठूली आमाको एउटा सानो छोरा थियो । उनी उसलाई धेरै माया गर्थिन्। कहिलेकाहीँ नसोधीकनै बोकेर आफ्नै घर ल्याउँथिन् । उनले आफ्नी आमालाई बारम्बार भाइबहिनी चाहियो भनेर आग्रह गर्न थालिन् । एक दिन उनले हजुरआमालाई सोधिन्, “साना भाइबहिनी कहाँबाट ल्याउँछन् ?” हजुरआमाले बालसुलभ प्रश्नको जवाफमा भन्नुभयो, “सिस्नोको झाडीबाट भेट्टाएर ल्याउँछन् ।” त्यसपछि ती बालिका सिस्नोको झाडीमा आफ्ना भाइबहिनी खोज्न जाने जिद्दी गर्न थालिन् । अन्ततः हजुरआमाले उनलाई एउटा गल्ली हुँदै केही परसम्म लिएर जानुभयो । उनी बाटोभरि भाइबहिनी भेटिन्छन् कि भनेर आशाले हेर्दै गइन्। तर केही नभेटिएपछि घर फर्किनुपर्दा उनी भित्रभित्रै धेरै निराश भइन् ।

त्यसै समय उनको परिवारमा अर्को तनाव पनि थियो । उनकी आमाले लामो समयसम्म अर्को सन्तान जन्माउन नसकेको कारण बुबातर्फका आफन्तहरूले उनका बुबालाई दोस्रो विवाह गर्न दबाब दिन थालेका थिए । हिन्दू समाजमा छोरा नभए वंश नचल्ने र धार्मिक कर्तव्य पूरा नहुने धारणा बलियो थियो। सानी बालिकाले पनि यी कुरा सुनेकी थिइन् । उनले सौतेनी आमाको कारण दुःख पाएका दुई दिदीबहिनीको कथा सुनेकी थिइन्। त्यसैले उनलाई सौतेनी आमाको डर लाग्थ्यो । आफ्नी आमाभन्दा पनि उनी आफैं बढी चिन्तित थिइन् कि कतै बुबाले अर्को विवाह नगर्नुहोला। उनले कसरी यो कुरा रोक्न सकिन्छ भनेर धेरै सोचिन्, तर कुनै उपाय भेटिनन् । उनको बाल मनमा चारैतिर अन्धकार, भय, त्रास र निराशा मात्र देखिन्थ्यो ।

यसैबीच उनी बेला–बेलामा बिरामी पनि पर्थिन् । उच्च ज्वरो आउँदा कहिलेकाहीँ बेहोस हुन्थिन्। तर उनकी आमाले त्यसलाई भूतप्रेतको असर ठानी धूप–अक्षता बालेर उपचार गर्ने प्रयास गर्नुहुन्थ्यो। यही क्रममा उनीहरूको सहरमा केही इसाईहरूसँग चिनजान भयो। उनीहरूले बालिकाको अवस्थाबारे थाहा पाएपछि उनकी आमालाई भने, “नानी बिरामी हुँदा यस्ता कर्मकाण्ड गर्नुहुँदैन । बरु येशू प्रभुको हातमा सुम्पिनुपर्छ ।” आमाले त्यसै गर्नुभयो। त्यसपछि आश्चर्यजनक रूपमा उनलाई पहिलेजस्तो समस्या दोहोरिएन ।

इसाई विश्वास गर्ने ती व्यक्तिहरूले आमाको सन्तानसम्बन्धी समस्याबारे पनि थाहा पाए । उनीहरूले अर्को सन्तानको लागि प्रार्थना गर्ने वाचा गरे । उनीहरूको सल्लाहमा एक मिशन अस्पतालमा उपचार गराइयो । पाठेघरको जटिल शल्यक्रिया सफल भयो। केही समयपछि उनकी आमाले अर्की छोरी र दुई छोरा जन्माउन सफल हुनुभयो। यस घटनापछि ती बालिकाको मनमा इसाई विश्वास, इसाई जीवनशैली र इसाई समुदायबारे जान्ने उत्सुकता बढ्यो । अध्ययन गर्दै जाँदा उनले येशू ख्रीष्टमाथिको विश्वास, प्रार्थनाको शक्ति, सबै मानिसप्रतिको समान व्यवहार, गरिब र दलितप्रतिको प्रेम तथा वैवाहिक निष्ठाजस्ता विषयहरूबारे बुझ्न थालिन् ।

बिरामी पर्दा इसाईहरू आएर प्रार्थना गरिदिने, साहस दिने र सेवा गर्ने कुरा उनले नजिकबाट देखिन् । यसले उनको मनमा गहिरो छाप छोड्यो। तर यति हुँदाहुँदै पनि आफू पनि इसाई बन्न सकिन्छ भन्ने कुरा भने उनलाई थाहा थिएन । कसैले प्रत्यक्ष रूपमा त्यसबारे सिकाएको थिएन। त्यसैले उनी र उनकी आमा हिन्दू परम्परामै जीवन बिताइरहेका थिए । समयसँगै उनी युवती भइन् र एक सम्पन्न तथा कट्टर हिन्दू परिवारमा विवाह भयो । उनका दुई छोरा जन्मिए। बाहिरबाट सबै कुरा ठीक देखिए पनि उनको हृदयमा एउटा खालीपन थियो। जीवनको उद्देश्य र भविष्यबारे उनीभित्र अनेक प्रश्नहरू उठिरहन्थे ।

एक दिन उनका तीन वर्षका छोरा गम्भीर रूपमा बिरामी परे । छोरा पूर्ण रूपमा बेहोस भए। अस्पताल लैजान गाडीको व्यवस्था गर्न पनि घण्टौं लाग्यो। अस्पताल पुगेपछि पनि डाक्टरहरूले रोग पहिचान गर्न सकेनन् । रातभरि छोरा अचेत अवस्थामा रहे। यही अस्पताल बसाइका क्रममा एक बिहान उनको भेट बाल्यकालमा आफू बसेको सहरको मिशन अस्पतालमा काम गर्ने स्विडिस इसाई नर्ससँग भयो । नर्सले उनलाई चिन्न सकिनन्, तर उनले आफू सानै छँदाका घटनाहरू सुनाएर चिनाइन्। त्यो भेटले उनको जीवनमा नयाँ मोड ल्यायो ।

उनले बाल्यकालदेखि देखेका अनुभवहरू, हिन्दू र इसाई विश्वासबीच आफूले महसुस गरेका भिन्नताहरू, प्रार्थनाबाट प्राप्त गरेका उत्तरहरू र जीवनका संघर्षहरू सबै सम्झिइन् । अन्ततः उनले येशू ख्रीष्टलाई आफ्नो जीवनको प्रभु र मुक्तिदाताका रूपमा ग्रहण गर्ने निर्णय गरिन् । एक नेपाली इसाई दिदीको सहयोगमा उनले येशूबारे थप सिकिन् र चर्च जान थालिन् । त्यहीँबाट उनको इसाई जीवनको नयाँ यात्रा सुरु भयो। उनको भनाइमा, प्रभु येशूले उनको अनिश्चितता, भय र रिक्तताले भरिएको जीवनलाई उद्देश्यपूर्ण र अर्थपूर्ण बनाइदिनुभयो ।

इसाई बनेपछि उनले पुनः अध्ययन पूरा गरिन्, सेवकाइमा सक्रिय भइन् र आफ्ना छोराहरू, भाइबहिनी, आमा–बुबा तथा आफन्तहरूलाई पनि प्रभु येशूतर्फ डोर्‍याउने प्रयास गरिन् । उनका अनुसार, परमेश्वरको कृपा र असल अगुवाहरूको मार्गदर्शनमा धेरै मानिसहरूले विश्वासको जीवन सुरु गरे र सेवकाइमा सक्रिय बने । पछि उनका श्रीमानले पनि ख्रीष्टलाई ग्रहण गर्नुभयो। यसले उनको जीवनलाई अझ पूर्ण र सफल बनाएको उनी बताउँछिन् ।

करिब तेह्र–चौध वर्षअघि परमेश्वरले उनी, उनकी आमा र भाइहरूलाई प्रयोग गरी नयाँ चर्च स्थापना गर्ने अवसर दिनुभयो । आज पनि उनी त्यही चर्चमा सेवकाइ गरिरहेकी छन् । उनकी बहिनी एक पास्टरकी पत्नी भएकीले आफ्ना श्रीमानको सेवकाइमा सक्रिय सहयोग पुर्‍याइरहेकी छन् । उनको जीवनकथाले एउटा सत्य सन्देश दिन्छ—परमेश्वरले मानिसको जीवनलाई परिवर्तन गर्न सक्नुहुन्छ, निराशालाई आशामा बदल्न सक्नुहुन्छ, र अन्योललाई उद्देश्यमा रूपान्तरण गर्न सक्नुहुन्छ ।

“हाम्रा परमेश्वर साँच्चै नै जीवित, सृष्टिकर्ता र असल हुनुहुन्छ । उहाँको सधैं महिमा र स्तुति भइरहोस्। हल्लेलूयाह !”

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
विदुर अधिकारीको नेतृत्वमा विपद व्यवस्थापन समीति गठन
विदुर अधिकारीको नेतृत्वमा विपद व्यवस्थापन समीति गठन
खेलकुद वारे  बाइबलले के भन्छ
खेलकुद वारे बाइबलले के भन्छ
कीर्तिपुरका चर्चहरू आइसोलेसन निर्माणका लागि दिने
कीर्तिपुरका चर्चहरू आइसोलेसन निर्माणका लागि दिने
\’इस्टरमा २ दिन र ख्रीष्टमसमा ३ दिन विदा चाहिन्छ\’–सि.वि.गहतराज,अध्यक्ष,सामाजिक एकता पार्टी
\’इस्टरमा २ दिन र ख्रीष्टमसमा ३ दिन विदा चाहिन्छ\’–सि.वि.गहतराज,अध्यक्ष,सामाजिक एकता पार्टी
भोली देशव्यापि राष्ट्रको लागी उपवास प्रार्थनामा सहभागि हुन भव घलेको अपिल
भोली देशव्यापि राष्ट्रको लागी उपवास प्रार्थनामा सहभागि हुन भव घलेको अपिल
काठमाडौँ डायोसिस बिलिभर्स चर्च छात्र छात्रा युथ सेभेन ए साइड अन्तर फुटबल प्रतियोगिता सम्पन्न
काठमाडौँ डायोसिस बिलिभर्स चर्च छात्र छात्रा युथ सेभेन ए साइड अन्तर फुटबल प्रतियोगिता सम्पन्न
सामाजिक एकता पार्टीको स्थाई समिति वैठक सम्पन्न
सामाजिक एकता पार्टीको स्थाई समिति वैठक सम्पन्न
जोन काल्भिनको जीवनी र उनको शिक्षाले मण्डलीमा ल्याएको सुधार
जोन काल्भिनको जीवनी र उनको शिक्षाले मण्डलीमा ल्याएको सुधार
धार्मिक स्वतन्त्रता र मौलिक अधिकारको पक्षमा आवाज उठाउनुहुने माननीय सांसद राधिका रम्तेल एलपिजे फेलोशिप नेपालद्वारा सम्मानित
धार्मिक स्वतन्त्रता र मौलिक अधिकारको पक्षमा आवाज उठाउनुहुने माननीय सांसद राधिका रम्तेल एलपिजे फेलोशिप नेपालद्वारा सम्मानित
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम