नेपाली चर्च एकता : आजको आवश्यकता
- भव वहादुर घले (बिबी घले), राष्ट्रिय संयोजक, संयुक्त राष्ट्रिय नेपाली चर्च परिषद (UNNCC) जयमसिह !
- संयुक्त राष्ट्रिय नेपाली चर्च परिषद (UNNCC) को सुरुवात भएको करिब तीन वर्ष भएको छ ।
- भव वहादुर घले (बिबी घले), राष्ट्रिय संयोजक, संयुक्त राष्ट्रिय नेपाली चर्च परिषद (UNNCC)
जयमसिह !
संयुक्त राष्ट्रिय नेपाली चर्च परिषद (UNNCC) को सुरुवात भएको करिब तीन वर्ष भएको छ । यो परिषद एउटा अर्को एनजीओ (NGO) वा कुनै नयाँ संस्था जन्माउने कुरा होइन । यो त नेपाली मण्डली (चर्च) अर्थात् नेपाली क्रिश्चियन समुदायलाई एक ढिक्का बनाउन र एकतामा गाँस्न ल्याइएको एउटा अभियान हो । हामी आफैंमा ख्रिस्टमा एक छौं, तर जब काम गर्ने कुरा आउँछ त्यहाँ हामीबीच कार्यगत एकता (Action oriented unity), दर्शनसहितको एकता (Vision oriented unity) र प्रार्थनासहितको एकता (Prayer oriented unity) को अभाव देखिन्छ । आज हामीले एक-अर्कालाई स्वीकार गर्दै सहमति, सहकार्य र सहभागितामा अघि बढ्नुपर्ने आवश्यकता छ ।
‘ए+क+ता’ को सिद्धान्त र हाम्रा चुनौतीहरू :
मैले करिब २५-२६ वर्षअघि नेपाली चर्चको एकताको विषयमा केही लेखहरू लेखेको थिएँ । त्यतिखेर मैले भनेको थिएँ हाम्रो एकता ‘ए + क + ता = एकता’ हुनुपर्छ । तर विडम्बना, हाम्रो एकता विभाजित (Fragmented) छ । कहिले ‘ए’ एकातिर, ‘कता’ अर्कोतिर हुन्छ त कहिले ‘ए’ र ‘क’ मिलेर ‘एक’ त हुन्छ तर ‘ता’ छुटिरहेको अवस्था छ । मेरो परिकल्पना र प्रयास भनेको ‘ए’, ‘क’ र ‘ता’ लाई भत्काउने, बिगार्ने वा एउटैमा गाभ्ने होइन । ‘ए’ आफ्नै पहिचानमा ‘ए’ नै हुनुपर्छ, ‘क’ ‘क’ नै र ‘ता’ ‘ता’ नै हुनुपर्छ, तर तिनीहरू सँगै एउटै उद्देश्यका लागि उभिनुपर्छ ।
अहिले हामीबीच अस्वस्थ प्रतिस्पर्धा, तछाडमछाड र ‘मेरो संस्था, तेरो संस्था’ भन्ने दोहोरोपन (duplications) छ । येशू ख्रिस्टले यूहन्ना १७ अध्यायमा हामी पूर्ण रूपमा एक हुनका लागि प्रार्थना गर्नुभएको छ । यदि हामी एक भएनौं भने समाज र राज्यले पनि हामीलाई हेर्ने दृष्टिकोण फरक हुन्छ । सरकारले पनि हामीलाई हाम्रा एजेन्डा र मागहरू लिएर जाँदा ‘विभिन्न ग्रुपमा नआउनुस्, एक भएर आउनुस्’ भन्ने गरेको छ । त्यसैले यो तछाडमछाड र प्रतिस्पर्धाको अन्त्य गर्दै स्रोतसाधनको सही सदुपयोगका लागि हामीबीच सहकार्य अनिवार्य छ । एकता चिया खान वा गफ गर्नको लागि मात्र होइन, मिलेर काम गर्नको लागि हो ।
प्रार्थना अभियानबाट सुरु भएको एकताको यात्रा :
सन् २००३ तिर म बेलायतमा थियोलोजी पढ्दै गर्दा नेपालमा द्वन्द्व र राजनीतिक अस्थिरता थियो । त्यतिबेला मलाई परमेश्वरले एउटा दर्शन दिनुभयो एउटी आमा र छोरी रोइरहेको । त्यो वास्तवमा द्वन्द्वले गर्दा आँसु झारिरहेकी नेपाल आमाको चित्र थियो । त्यही बोझका साथ मैले देशको लागि प्रार्थना अभियान सुरु गरेँ र नेपाल फर्किएँ । नेपाल आएपछि ४० दिने प्रार्थना, डाँडाको प्रार्थना, मोटरसाइकल प्रार्थना, हवाई प्रार्थनादेखि लिएर त्रिशूली नदीमा र्याफ्टिङ प्रार्थनासम्मका अभियानहरू सञ्चालन गरिए । यी अभियानले देशको शान्ति र समृद्धिका लागि मात्र काम गरेनन्, बरु नेपाली मण्डलीमा एकताको वातावरण पनि सिर्जना गरिदिए । जावलाखेलको फुटबल ग्राउन्डमा हाम्रा आदरणीय अग्रजहरू रोबर्ट कार्थक, राजेन्द्र रोंगोंग, एम.जे. जोसेफ लगायतले हात जोडेर एकतामा प्रार्थना गरेको तस्बिर र दृश्य अहिले पनि हामी स्मरण गर्न सक्छौं । यसले मण्डलीमा पक्कै पनि एकताको भावना जगाएको थियो ।
अग्रज र विद्यमान संघसंस्थाहरूको सम्मान: ‘राउन्ड टेबल’ को परिकल्पना :
हाम्रो एकताको अभियानले पुराना र स्थापित संस्थाहरूलाई विस्थापन गर्न खोजेको होइन । म स्पष्ट पार्न चाहन्छु कि हाम्रो एनसीएफ (NCF), एनसीएस (NCS), र राष्ट्रिय क्रिश्चियन महासंघ लगायतका सबै क्रिश्चियन समुदाय र हाम्रा अग्रजहरूप्रति उच्च सम्मान र आदर छ । एनसीएफ पञ्चायतकालमा सतावटको बेला चर्चहरूको संगतिको रूपमा जन्मियो, त्यसपछि मण्डलीका थप आवश्यकताहरू पूरा गर्न एनसीएस र महासंघहरू जन्मिए । यी सबै संस्थाहरू हाम्रै हुन् र उहाँहरूको आफ्नै छुट्टै पहिचान र पोर्टफोलियो छ । हामी कसैलाई हस्तक्षेप गर्न वा बहिष्कार गर्न आएका होइनौं ।
हामीले एनसीएफ, एनसीएस वा महासंघको विकल्पमा अर्को महासंघ खडा गर्न खोजेका पनि होइनौं । हामीले त एउटा ‘राउन्ड टेबल’ (Round Table) को परिकल्पना गरेका हौं । जहाँ एनसीएफ, एनसीएस, महासंघ मात्र नभएर त्यहाँ नअटाएका अन्य चर्च, समूह, विज्ञहरू, पत्रकारहरू सबै सँगै बस्न सकून् । ठूलो-सानो कोही नभई, सबै मिलेर नेपाली क्रिश्चियन समुदाय र परमेश्वरको राज्यको लागि एउटै आवाज बनाउन सकियोस् भन्ने हाम्रो उद्देश्य हो ।
चर्च परिषद (UNNCC) का पहल र कार्यहरू :
चर्च परिषदले कुनै आधिकारिक एनजीओको रुपमा दर्ता गरेर पद ओगट्न खोजेको छैन । मलाई ‘प्रेसिडेन्ट’ बनेर हिँड्ने रहर छैन, नत्र संस्था दर्ता गर्न एक हप्ता पनि लाग्दैन र फन्ड जुटाएर प्रोजेक्ट चलाउन गाह्रो थिएन । तर हाम्रो लक्ष्य पद र प्रोजेक्ट होइन, हाम्रो लक्ष्य विशुद्ध एकता हो । यही मर्मलाई बुझेर हामीले धेरै पहलहरू गरेका छौं । कोभिड-१९ को समयमा जुम (Zoom) मार्फत अन्तरक्रिया कार्यक्रमहरू गर्यौं, जहाँ डा. के.बी. रोकाय लगायतका व्यक्तिहरूलाई बोल्ने र आफ्ना विचार राख्ने अवसर दियौं, जसले गर्दा दूरीहरू कम भए । हामीले म्यानमार एम्बेसीमा संयुक्त रूपमा राहत प्याकेज बुझायौं । होटल हिमालयमा राजनीतिक दलका नेताहरू र अन्तरधार्मिक गुरुहरूलाई राखेर ख्रिस्टमस कार्यक्रम सम्पन्न गर्यौं ।
हालै ‘जेन-जी’ (Gen-Z) आन्दोलनकै दिनमा हामीले राष्ट्रिय सभामा अन्तरधार्मिक गोलमेच सम्मेलन (Roundtable) आयोजना गर्यौं । त्यस्तै, संविधान संशोधनको विषयमा अहिले सबै संस्था (एनसीएफ, एनसीएस, काउन्सिल) को हस्ताक्षरसहित एउटै संयुक्त सुझाव पत्र तयार गरी गृह मन्त्रालय र सरकारलाई बुझाएका छौं । पहिले-पहिले सबैले छुट्टाछुट्टै सुझाव दिने परिपाटी थियो, तर यसपटक हामीले एकताको सन्देश दिँदै एउटै आवाज सरकारसामु लगेका छौं ।
भावी पुस्ता र हाम्रो दायित्व :
कतिपयलाई हाम्रो यो अभियानप्रति असुरक्षा (insecure) महसुस भएको हुन सक्छ । कसैलाई यो नयाँ कुरा आएर हाम्रो काममा हस्तक्षेप गर्छ कि भन्ने भ्रम पनि होला । तर यथार्थ त्यस्तो होइन । बाइबलले हामीलाई इमान्दारिता, सुशासन, शान्ति र राष्ट्रको लागि प्रार्थना गर्न सिकाएको छ । हामीले देश र समाजलाई सुशासन र एकता सिकाउनुपर्नेमा आफैं विभाजित हुनु विडम्बना हो । ख्रिस्टका चेलाहरूलाई उनीहरूको प्रेम र एकताबाट संसारले चिन्नुपर्छ (यूहन्ना १३ अध्याय) ।
मैले यो एकताको विषयमा कुनै हतार गरेको छैन । गन्तव्य र दिशा (Destiny and Direction), गति (Speed) भन्दा धेरै महत्त्वपूर्ण हुन्छन् । हाम्रो एकताको अवधारणा पत्र र घोषणा आज प्रत्येक क्रिश्चियन अगुवाहरूको ल्यापटप र मोबाइलमा पुगिसकेको छ; यो एउटा ऐतिहासिक दस्तावेज बनिसकेको छ । यदि आजका वर्तमान अगुवाहरूले यो राउन्ड टेबल र पूर्ण एकताको दर्शनलाई स्वीकार गर्न ढिलाइ गरे पनि, मलाई पूर्ण विश्वास छ कि भोलिको नयाँ पुस्ता (Next Generation) ले यसलाई अवश्य स्वीकार गर्नेछ ।
अंग्रेजीमा एउटा भनाइ छ- “What 10,000 divided people cannot do, 10 united people can do.” (दश हजार विभाजित मानिसले गर्न नसक्ने काम, एकतामा रहेका दस जना मानिसले गर्न सक्छन्)। आउनुहोस्, नेपाली मण्डली र राष्ट्रको बृहत्तर हितको लागि एकताको यो राउन्ड टेबलमा हामी सबै सँगै बसौं ।
धन्यवाद ! जयमसिह !
प्रतिक्रिया
सम्बन्धित खबर
यो पनि पढौँ
छुटाउनुभयो कि ?
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
आधुनिक विज्ञानको उदयमा बाइबलको प्रभाव
नेपाली ख्रिष्टियन समुदायमा मण्डलीय एकताको आवश्यकता : सुसमाचार, परमेश्वरको राज्य विस्तार र साझा जिम्मेवारी
नेपाली मण्डली इतिहासमा डेविड र प्रेमि मुखिया
बाइबल बारे जान्नै पर्ने तथ्यहरू
उपत्यकाव्यापी पुनरूत्थान महोत्सव-२०८० का केही तस्बिरहरू
रेभ. तेज रोक्का
नेपाली ख्रीष्टियन इतिहासका युगपुरुष पास्टर कार्थकको निधन







