single page header banner

दासप्रथाको उन्मूलनमा ख्रीष्टियनहरुको भूमिका

Pramodkhadka Pramodkhadka
शुक्रबार, पौष 6, 2081
Social buttons loaded
समाचार सारांश
  • कमल अधिकारी ख्रिस्टाब्द १७८९ मा विलियम विल्बरफोर्सले इङ्गल्यान्डको संसद भवनमा दासप्रथाको विरुद्धमा तीन घण्टा लामो भाषण गरे ।
  • दासप्रथा अन्याय र मानवीय प्रतिष्ठाको विरुद्धमा थियो भनी तिनले तर्क गरे ।

कमल अधिकारी

ख्रिस्टाब्द १७८९ मा विलियम विल्बरफोर्सले इङ्गल्यान्डको संसद भवनमा दासप्रथाको विरुद्धमा तीन घण्टा लामो भाषण गरे । दासप्रथा अन्याय र मानवीय प्रतिष्ठाको विरुद्धमा थियो भनी तिनले तर्क गरे । त्यसको दुई वर्षपछि तिनले दासप्रथाको विरुद्धमा अर्को विधेयक पेस गरे । प्रधानमन्त्रीको समर्थन भए तापनि विधेयक पारित भएन । १७८९-१८०६ सम्म हरेक वर्ष तिनले दासप्रथाको विरुद्धमा संसदमा विधेयक लगे तापनि तिनी र तिनको पक्षमा मत हाल्नेहरू पटक-पटक पराजित भए । अटुट प्रयत्नपश्चात् १८०७ मा इङ्गल्यान्डबाट दासप्रथा कानुनी रूपमा उन्मूलन भयो । २८३ मत निर्मूलनको पक्षमा खसेको थियो भने केवल १६ मत त्यसको विपक्षमा । तिनको मृत्युको तीन दिनअगि अर्थात् २६ जुलाई १८३३ मा ऐन पारित गरी दासप्रथालाई ब्रिटिस साम्राज्यमा नै गैरकानुनी ठहराइयो । यसले झन्डै ८ लाख दासलाई मुक्त गर्न मार्ग प्रशस्त गर्‍यो जसको निम्ति हर्जानास्वरूप अरबौँ रुपियाँ खर्च गरिएको थियो ।

ख्रीष्टियान राजनीतिज्ञ विल्बरफोर्सको पहलमा दासप्रथाको उन्मूलन मात्र भएन तर यसले विश्वव्यापी मानव अधिकार अभियानको जग बसाल्ने काम पनि गर्‍यो । मानव-जातिको निम्ति महान् काम गर्न तिनी आफ्नो विश्वासबाट प्रेरित थिए र तिनको लागि महान् काम भनेको दासप्रथाको उन्मूलन थियो । ब्रिटिस साम्राज्यबाट दासप्रथाको बिदाइमा सामाजिक सुधारक जोन न्युटनसाथै ईश्वरशास्त्री जोन वेस्लीजस्ता ख्रीष्टियान अगुवाहरू पनि प्रशंसाका पात्र हुन् ।

दासप्रथा भनेको मान्छेलाई किनबेच गरी काममा लगाउने पुरानो सामन्ती प्रथा हो । दासप्रथा नेपाललगायत विश्वका विभिन्न भूभागमा अभ्यास गरिएको एउटा अमानवीय प्रथा थियो जुन कतिपय ठाउँहरूमा विभिन्न स्वरूपमा अझै पनि कायमै छ । प्राचीन संसारमा दासप्रथा सामान्य अभ्यास थियो । धनीसाथै शक्तिशाली मानिसहरूले दासदासीहरू राख्ने गर्थे । दासदासीहरूलाई पिट्न सकिन्थ्यो; सार्वजनिक रूपमा अपमान गर्न सकिन्थ्यो; यौन दुर्व्यवहार गर्न सकिन्थ्यो; आवश्यकताअनुसार बेच्न पनि सकिन्थ्यो र मालिकले चाहेको खण्डमा मार्न पनि सक्थ्यो । दासहरूको कुनै अधिकार हुँदैनथ्यो । न समाज, न राज्य न परमेश्वरसित तिनीहरूको कुनै सम्बन्ध हुन्थ्यो । तिनीहरूलाई जीवित साधन ठानिन्थ्यो ।

राजा, पुजारीसाथै दार्शनिकहरूले यसको अनुमोदन गरेका पाइन्छ । दासको आत्मा नहुने भएकोले उसको कुनै मानव-अधिकार हुँदैनथ्यो र मालिकले उसलाई चाहेअनुसार व्यवहार गर्न सक्थ्यो भनी पाँचौँ शताब्दी ख्रिस्टपूर्वमा जन्मेका ग्रिक दार्शनिक प्लेटोले विश्वास गरे । चौथो शताब्दी ख्रिस्टपूर्वका प्रभावशाली ग्रिक दार्शनिक अरस्तुले दासप्रथालाई स्वाभाविक ठाने । दास तिनको लागि जीवित साधन थियो र तिनको मृत्यु हुँदा तिनका १४ जना दास थिए ।

दासप्रथा प्रायः हरेक प्राचीन समुदायमा अभ्यास गरिन्थ्यो । प्राचीन संसारमा दासप्रथा यति व्यापक थियो कि ख्रीष्टको आगमनसम्ममा एथेन्समा मात्र ७५% र पूरै रोमी साम्राज्यमा आधाभन्दा बढी जनसङ्ख्या दासदासी थिए भनी अनुमान गरिएको छ । अमेरिका पत्ता लगाउने कोलम्बसले त्यहाँ पाइला टेक्नुअगि त्यहाँका धेरै आदिवासीले पनि दासप्रथालाई व्यापक रूपमा अभ्यास गर्थे । एसिया, युरोप अफ्रिका, अमेरिकासाथै अन्य भूभागहरूमा दासप्रथा विद्यमान थियो । नेपाल, भारत, चीन, इन्डोनेसिया जापान, भियतनाम, कोरियाजस्ता एसियाली मुलुकहरूमा मात्र नभई अमेरिका, इङ्गल्यान्ड, स्पेन, पोर्चुगल, जर्मनी, रुस, ब्राजिल, क्युबा, हैटी, जमैका, मेक्सिको, पुर्टोरिकोजस्ता मुलुकहरूमा पनि दासप्रथाको अभ्यास गरिन्थ्यो ।

व्यापक रूपमा अभ्यास गरिएको यस कुप्रथालाई हटाउन ख्रीष्ट येशूका अनुयायीहरूले उल्लेखनीय योगदान पुर्‍याएका छन् । परमेश्वरको दृष्टिमा कोही पनि दास छैन भनी चौथो शताब्दीको सुरुमा ख्रीष्टियान दार्शनिक लेक्टानियसले व्यक्त गरे । चौथो-पाँचौँ शताब्दीका ईश्वरशास्त्री अगस्टिनले दासप्रथालाई पापको फल र ईश्वरीय योजनाको विपरीत भएको देखे । ख्रीष्ट आउनुहुँदा उहाँले दासप्रथालाई निमिट्यान्न पारिसक्नुभएको थियो भनी चौथो शताब्दीमा नै प्रखर वक्ता ख्रिसोस्टोमले प्रचार गरे । पाँचौँ शताब्दीमा आएरल्यान्डमा सन्त प्याट्रिकले दासप्रथाको विरोध गरे । अन्ततः छैटौँ शताब्दीमा रोमी सम्राट् जस्टिनियनले दासहरूलाई मुक्त गर्न अवरोध गर्ने सबै कानुन निर्मूलन पारे । बार्हौं शताब्दीमा आइपुग्दा युरोपमा दासप्रथा दुर्लभ बनिसकेको थियो भने चौधौँ शताब्दीसम्ममा यो प्रायः अज्ञात भइसकेको थियो । दासहरूप्रति ख्रीष्टियानहरूको आदर, स्वीकार र स्वतन्त्रताले गर्दा धेरै दासले नयाँ विश्वासलाई स्वीकार गरे । केही त मण्डलीका बिशपहरूसमेत बने । मण्डलीकै कारण मध्यकालीन युरोपमा दासप्रथाको अन्त्य भएको थियो ।

चौधौँ शताब्दीसम्म आइपुग्दा युरोपमा दासप्रथा प्रायः समाप्त भइसकेको भए तापनि सत्रौँ शताब्दीमा ब्रिटिस साम्राज्यले यसलाई ब्युँताएको थियो, खास गरी इङ्गल्यान्डका उपनिवेशहरूमा । ब्रिटेनले अफ्रिकाबाट अमेरिका, क्यानडाजस्ता आफ्ना उपनिवेशी भूभाग लाखौँको सङ्ख्यामा दास-दासी भित्र्याई तिनीहरूलाई जबरजस्ती काममा लगाउन थाल्यो । दासप्रथालाई कानुनी रूपमा स्वीकारयोग्य ठानियो । दासदासीको बेचबिखनविना ब्रिटेनको शक्ति ढल्नेथियो र अर्थतन्त्र डामाडोल हुनेथियो भनी धेरैले विश्वास गर्न थाले । तर मूलतः ख्रीष्टियान राजनीतिज्ञ विल्बरफोर्सको पहलमा ब्रिटिस साम्राज्यबाट दासप्रथाको अन्त्य भयो ।

ख्रिस्टाब्द १८३९ मा इङ्गल्यान्डका भक्त ख्रीष्टियान जोसेफ स्टर्जले संसारकै सबैभन्दा पुरानो अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाको स्थापना गरे । अन्य देशहरूबाट दासप्रथा उन्मूलन गर्नु संस्थाको उद्देश्य थियो । १९४८ मा संयुक्त राष्ट्रसङ्घले मानव अधिकारको विश्वव्यापी घोषणापत्र पारित गर्‍यो जसको धारा ४ मा दासप्रथा निषेध गरिएको छ, “कसैलाई पनि दासत्व वा गुलामीमा राखिने छैन । दासत्व र दास व्यापार तिनका सबै स्वरूपमा निषेध गरिने छन् ।”

अमेरिकामा १८६५ मा दासप्रथा उन्मूलन भए तापनि संसारका विभिन्न मुलुकहरूमा बिसौँ शताब्दीसम्म यसको अभ्यास गरिएको थियो । इथियोपियामा १९४२ सम्म, साउदी अरबमा १९६२ सम्म, पेरुमा १९६४ सम्म दासप्रथा कायम थियो । छिमेकी मुलुक भारतमा १८४३ मा दासप्रथालाई कानुनी रूपमा निर्मूलन गरिएको थियो । अफ्रिकाको उत्तर-पश्चिममा अवस्थित मौरिटानिया नामक मुलुक दासप्रथाको अन्त्य हुने अन्तिम देश हो जहाँ १९८१ मा दासप्रथालाई अवैधानिक ठहराइएको थियो ।

नेपालमा शताब्दीऔँदेखि दासप्रथा अस्तित्वमा थियो भन्ने इतिहास पाइन्छ । सय वर्षअगि एउटा दासको मूल्य १०० देखि ३०० रुपियाँ पर्थ्यो र दासले पशुले जस्तै जोतिएर काम गर्नुपर्थ्यो । त्यस बेला नेपालमा ५० हजारभन्दा बेसी दास थिए । २८ नोभेम्बर १९२४ (वि.सं. १९८१ मंसिर १४) मा तत्कालीन प्रधानमन्त्री चन्द्र शमशेरले दासप्रथाको विरुद्धमा लामो भाषण गरे जसमा तिनले यस अमानवीय क्रूर प्रथाको निर्मूलन गर्ने इमानदार इच्छा व्यक्त गरे । फलस्वरूप अर्को वर्ष अर्थात् १९२५ मा नेपालमा वैधानिक रूपमा दासप्रथाको अन्त्य भयो । सतीप्रथा र दासप्रथाको उन्मूलन गरी चन्द्र शमशेरले नेपाली समाजमा तारिफयोग्य गुण लगाएका छन् । दासप्रथाको निर्मूलन भए तापनि कमैया प्रथा, कमलरी प्रथा र हलिया प्रथाको नाउँमा दासप्रथाको अवशेष जीवितै थियो । साहुको ऋण तिर्न नसकेर साहुकै घरमा बँधुवा मजदुरको रूपमा काम गर्ने प्रथालाई कमैया प्रथा भनिन्छ र यो पश्चिम नेपालको तराई-मधेशमा प्रचलित थियो । परिवारको ऋण चुक्ता गर्न बालिकाहरूलाई साहुको घरमा काम गर्न पठाइने प्रथालाई कमलरी प्रथा भनिन्छ र यो नेपालको पश्चिम तराईमा विद्यमान थियो । अरूको खेत जोतेर जीवन निर्वाह गर्ने बँधुवा कृषि मजदुरीलाई हलिया प्रथा भनिन्छ र यो मूलतः नेपालको सुदूरपश्चिममा अस्तित्वमा थियो । कमैया, कमलरी र हलिया प्रथा क्रमशः ख्रिस्टाब्द २०००, २००६ र २००८ मा कानुनी रूपमा हटेर गए ।

बाइबलमा सतावटकर्ताबाट सुसमाचारका राजकुमार बनेका प्रेरित पावलले फिलेमोनलाई बिन्ती गरेका छन् कि तिनका कमारा ओनेसिमसलाई तिनले कमाराको रूपमा नभई प्रिय भाइजस्तै व्यवहार गर्नुपर्छ (फिलेमोन १६) । ओनेसिमस आफ्ना मालिक फिलेमोनबाट भागेर गएका कमारा थिए जो तिनीकहाँ फर्कंदै थिए । ख्रीष्टियान भएको नाताले हामीले अब उसो दासप्रथाको अभ्यास गर्नुहुँदैन भनी पावल मालिक फिलेमोनलाई पत्र लेखेर बिन्ती गर्दै छन् । पावलले अर्को पत्रमा पनि भनेका छन्, “अब … न कमारा छ न फुक्का, … किनभने ख्रीष्ट येशूमा तिमीहरू सबै एउटै हौ” (गलाती ३:२८) । प्राचीन संसारमा शताब्दीऔँसम्म विद्यमान दासप्रथाको अभ्यासलाई ध्यानमा राख्दा पावलका वचनहरू क्रान्तिकारी थिए भनी व्यक्त गर्न सकिन्छ । फिलेमोनलाई लिखित पत्र र गलातीको यस खण्डले तत्कालीन समय र अनुगामी पुस्तामा दासप्रथाको उन्मूलनको लागि दृढ जग बसाल्ने काम गरे ।

आदि ख्रीष्टियानहरू फुक्का ख्रीष्टियानहरूसित मात्र नभई दासहरूसित पनि घुलमिल हुन्थे । चाहे दासहरू होउन् वा फुक्का, तिनीहरूले उही वेदीमा प्रभु-भोज लिन्थे । ख्रीष्टियानहरूको यस्तो किसिमको समावेशी व्यवहार रोमीहरूको भन्दा बिलकुल फरक थियो जसले दासहरूलाई घृणा गर्थे । प्राचीन संसारमा मात्र नभई उन्नाइसौँ शताब्दीमा पनि दासप्रथाको उन्मूलनमा ख्रीष्टका अनुयायीहरू नै अग्रपङ्क्तिमा रहे । वास्तवमा दासप्रथा उन्मूलन गरिनुपर्छ भन्ने विचार ख्रीष्टियान आस्थामा मात्र जन्म्यो । समाजशास्त्री रोड्नी स्टार्क लेख्छन्, “तीनवटा महान् एकेश्वरवादी धर्मसहित संसारका सबै धर्ममध्ये दासप्रथा पापिष्ठ थियो र यसको उन्मूलन गरिनुपर्छ भन्ने अवधारणा केवल ख्रिस्टियमतमा उदय भयो । … एक पटक किन्न सक्ने सबै समाजका लागि दासप्रथा झन्डै विश्वव्यापी थियो । … पश्चिमी जगत्‌मा मात्र उल्लेखनीय नैतिक विरोधको उदय भयो जसले यसको उन्मूलनमा डोर्‍यायो ।” ख्रीष्टियान दृष्टिकोणमा दासप्रथा केवल प्रथा थिएन, यो त पाप थियो । न दार्शनिक न बाइबलेतर विचारकहरूले दासप्रथालाई नैतिक दृष्टिकोणबाट अमानवीय देखे । ख्रीष्टियान विश्वासलाई अङ्गाल्ने पुरुष र स्त्रीहरूले दासप्रथाको विरोध गरी यसलाई निर्मूलन गरे किनकि यो पाप थियो ।

ख्रिस्टियमत भेदभाव गर्ने धर्म थिएन, बरु यसले त सबै किसिमका मानिस, वर्ग र राज्यलाई निमन्त्रणा गर्छ । दासप्रथाको निर्मूलन र जातिभेदको इन्कार दुवैको जरा आदि ख्रीष्टियान शिक्षामा गडेका छन् । चाहे दासप्रथा विरुद्ध विलियम विल्बरफोर्सको अभियान होस् या रङ्गभेद विरुद्ध मार्टिन लुथर किङ्गको आन्दोलन होस्, यी सबै नै आदि ख्रीष्टियान अभ्यासलाई बिउँताउने प्रयत्न मात्रै थिए । मानव-जातिलाई हजारौँ वर्षसम्म पीडा दिने दासप्रथा मूलतः ख्रीष्टियानहरूको प्रयासद्वारा अन्त्य भयो ।

(लेखक कमल अधिकारीको आठौँ पुस्तक सभ्यता निर्माणमा ख्रीष्टियान योगदान नामक पुस्तकबाट साभार)

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम