single page header banner

एनसिएफएन, आसन्न निर्वाचन र आकाङ्क्षीहरू

admin_news admin_news
शनिबार, भाद्र 30, 2083
Social buttons loaded
समाचार सारांश
  • दिव्य खनाल परिचय विगत केही हप्तादेखि राष्ट्रिय मण्डली सङ्गती नेपाल (एनसिएफएन) को आसन्न चुनाव र यसको परिप्रेक्षमा एक प्रकारको जबरजस्त माहोल निर्माण हुँदै आएको छ ।
  • हरेक जसो भेटघाट, जमघट, कुराकानी वा सामाजिक सञ्जालका भित्ताहरूमा यसैको चर्चा परिचर्चा छ ।
  • दिव्य खनाल

परिचय

विगत केही हप्तादेखि राष्ट्रिय मण्डली सङ्गती नेपाल (एनसिएफएन) को आसन्न चुनाव र यसको परिप्रेक्षमा एक प्रकारको जबरजस्त माहोल निर्माण हुँदै आएको छ । हरेक जसो भेटघाट, जमघट, कुराकानी वा सामाजिक सञ्जालका भित्ताहरूमा यसैको चर्चा परिचर्चा छ । उम्मेदवारका नाम दर्ता गराएका आकाङ्क्षी तथा प्रत्यासीहरूका व्यक्तित्व तथा अभिव्यक्तिहरूले कतिको मनलाई प्रशन्न पारिरहेका छन् भने कति जनाका दाबीले श्रोताका कानमा प्रश्नहरू झन्झनाइदिएका छन् । तसर्थ यस आलेखमा राष्ट्रिय मण्डली सङ्गती नेपाल (एनसिएफएन), यसको सङ्क्षिप्त इतिहास, यसका वर्तमान कार्यदिशा, भविष्यका लक्षहरू तथा आसन्न महाधिवेसन र नयाँ नेतृत्व चयनका लागि आवश्यकीय गुणहरूको मागका आधारमा आकाङ्क्षीहरूमा अपेक्षा गरिएको योग्यताको चर्च गरिन्छ । मूलतः यस आलेखको आसय एनसिएफएनमा आवद्ध नेपाली चर्चहरूले अपेक्षा गरेको नेतृत्व–पङ्तीको खोजी र त्यसका मापकहरूको आधार तय गर्नु हो ताकि सदस्य मतदाताहरूले आगामी निर्वाचनमा मत दिनुपर्ने उम्मेदवारहरूको चयनमा विवेकको प्रयोग गरून् र आगामी दिनहरूमा चर्चका कामको श्रीवृद्धिमा टेवा पुगोस् ।

१. एनसिएफएन

एनसिएफएन नेपाली चर्चहरूको एक ऐतिहासिक तथा अग्रणी संस्था हो । सन् १९५० को दशकमा देसमा छरिएर रहेका आंैलामा गन्न सकिने नेपाली तथा गैह्रनेपाली ख्रिस्टियनहरूको सङ्गति तथा एक अर्कामा चिनापर्चीको आवश्यकतालाई सम्बोधन गर्ने पहलस्वरूप अर्नेष्ट ओलिभरको समूहले आरम्भ गरेको वार्षिक सम्मेलन वर्षहरू बित्दै जाँदा संरचनागत स्वरूप धारण गरेको नेपाल चर्च सङ्गतीको नाममा चिनिने एक अनौपचारिक सञ्जाल बन्न पुग्यो (हाभेन्सटाइन, अप्रिल २०२६) । उतिबेला नेपालमा सामाजिक विकासमा सहयोग गर्न आएका पश्चिमा मिसिनरी संस्थाहरूमा आवद्ध गैह्र नेपाली ख्रिस्टियनहरूका साथमा केही नेपाली ख्रिस्टियनहरू मात्र भेट्टाइनु र तिनीहरूका निम्ति सम्पर्क, समन्वय तथा विश्वासमा वृद्धि हुने अवसर नहुनु जस्ता आवश्यकतालाई महसुस गरी यो पहलकदमी लिइएको स्पष्ट हुन्छ । सन् १९६० मा भक्तपुरमा भएको पहिलो जमघटमा देस भरिबाट २९ जना ख्रिस्टियनहरू भेला भएका थिए । त्यस भेलाले पास्टर डेभिड मुखियालाई प्रथम अध्यक्ष नियुक्त गरी नेपाल चर्च फेलोसिप नामाकरण ग्यो । पाण्डे (२००३ः३९) का अनुसार तत्कालीन परिस्थितिमा यसको लक्ष ‘विश्वासीहरूका बीचमा आत्मिक प्रवद्र्धन गर्दै देसलाई ख्रिस्टको निम्ति जित्नु’ थियो ।

यसरी हेर्दा तत्कालीन समयमा यो विशुद्ध रूपमा भेटघाट गर्ने, एक अर्कामा प्रार्थना गर्ने तथा सुसमाचार र सेवाको काममा एक अर्कालाई जागृत गराउने एक अनौपचाकि सञ्जालको रूपमा स्थापित यो संस्था १९८० को दशकमा नेपाली चर्चहरूको वृद्धिसँगै औपचारिकता ग्रहण गर्न पुग्छ । औपचारिक रूपमा यो अब ख्रिस्ट–विश्वासीहरूको भेटघाटको थलोबाट उठेर नेपाली चर्चहरूको एक साझा सञ्जाल बन्दछ । समितिहरू निर्माण गरेर यसलाई औपचारिकता प्रदान गरिन्छ । समितिमा मनोनित हुने व्यक्तिहरूलाई सीमित अधिकार प्रत्यायोजित गरिन्छ र समग्र नेपाली चर्चको भलाइका निम्ति स्वयम्–सेवा गर्ने कार्यभार तोकिन्छ । सामितिहरूमा काम गर्न मनोनित तथा निर्वाचित भएका अधिकाङ्स पदाधिकारीहरूको स्पष्ट कार्य विभाजन तथा लक्षहरूको निर्धारण गरिँदैन । पदाधिकारीहरू आफैंले आफ्ना आफ्ना योग्यता वा क्षमताका आधारमा संस्थाले निर्दिष्ट गरेका प्राथमिकताहरूमा सहभागी भएर सेवा गर्ने परिपाटी विकास गरिन्छ । उनीहरूका निश्चित कार्यविवरण, कार्यविधि वा प्रगतिहरू अनौपचारिक तहमै सीमति गरिन्छ, तिनको मूल्याङ्कन गर्ने निश्चित तथा पारदर्शि ढाँचा वा प्रकृयाहरू अवलम्बन वा आवश्यक महसुस गरिएन । उनीहरूका कार्यहरू र तिनले सम्बन्धित सरोकारवालाहरूमा के कस्ता असर प्रभाव पारे तिनको सकारण प्रगति विवरणहरूको दस्तावेजीकरण भएन । सेवा गर्ने हो र त्यस वापत व्यक्तिगत लाभ लिइन्न भन्ने मानसिकतामा सबैले यथासक्यो योगदान दिए ।

नेपाली चर्चहरूको सङ्ख्यात्मक साथै गुणात्मक वृद्धि हुँदै जाँदा देसको तत्कालीन परिस्थिति तथा राज्यका निकायहरूको दृष्टिकोणका आधारमा एनसिएफका निम्ति चारओटा क्षेत्रमा काम नगरी नहुने चुनौतीहरू देखा परे (खनाल, २०१५ः१९) । तीमध्ये पहिलो सतावटको वृद्धि तथा तिब्रता थयो । राज्य नेपाली र नेपालमा भएका गैह्र नेपाली ख्रिस्टियनहरूका विरुद्धमा क्रूर भयो र जताततै धरपकड र मुद्दामामिलाहरू बढे । एनसिएफ नेपालमा हुने ख्रिस्टियनहरूका निम्ति कानुनी उपचार तथा परामर्श प्रदान गर्ने निकाय बन्यो (थापा, २०१४) । अर्कातिर देसका विभिन्न स्थानमा भएको चर्चको वृद्धिले सबल नेतृत्व, परिपक्व संरचना तथा तालिम–प्राप्त जनशक्तिको आवश्यकतालाई टडकारो बनाइदियो । परिणाममा सन् १९९८ मा एनसिएफले आफ्नो संस्थागत संरचनालाई परिमार्जन गरी स्थनीय चर्चहरूका निम्ति छाता सङ्गठन बन्ने र तिनीहरूलाई सदस्यता दिने नीति समेत लियो (पाण्डे, २००३ः४६) । यसका तत्कालीन अध्यक्ष प्रकाश सुब्बाले अनुमान गरेअनुसार सन् २०१२ मै एनसिएफका सदस्य चर्चहरू १३ सयको हाहारी थिए । तेस्रो, ठूलो सङ्ख्यामा चर्चमा अबवद्ध हुन थालेका ख्रिस्ट–विश्वासीहरूको शिक्षा तथा विश्वासमा वृद्धिका आवश्यकता । यसका निम्ति एनसिएफले वार्षिक सम्मेलनहरूको आयोजनाका साथमा आधारभूत तहको चेलापन तालिमहरूको प्रावधान गर्न थाल्यो जुन पछि गएर नेपाल एबेनेजर बाइबल कलेजका नामले प्रख्यात भयो । चौथो, नयाँ नयाँ स्थानमा स्थापना हुन थालेका चर्चहरूको सामाजिक अवस्थितिलाई ओट पु्याउन विभिन्न सामाजिक सेवाहरूको सुरुआत । यसतर्फ मानव विकास तथा सामुदायिक सेवा, अनुग्रह सेवा समाज र ख्रिस्टियन राहत जस्ता संस्थाहरूको आरम्भ भयो ।

एनसिएफले लिएको यस चारखम्बे नीतिको अपनत्व तथा श्रीवृद्धिका निम्ति थप संरचनागत सुदृढिकरण गर्दै प्रभावकारी सेवा गर्ने दिशामा सन् १९९२ मा आफ्नो नाम परिवर्तन गरेर राष्ट्रिय मण्डली सङ्गति नेपाल (एनसिएफएन) राख्यो जो आजपर्यन्त कायमै छ ।

२. विगतको मूल्याङ्कन

सुरुआतमा निकै साँगुरो लक्ष राखिएको भएता पनि नेपाली चर्च तथा तिनको आवश्यकताको दायरा फराकिलो हुँदै जाँदा एनसिएफएन समय क्रममा कार्यक्षेत्रका हिसाबले निकै नै वृहद भएको छ । नेपाली चर्चको विकास र त्यसले आमन्त्रण गरेका चुनौतीहरूमा खरो उत्रिन यसले सेवाका चारखम्बे नीति अवलम्बन गरिकन समाजमा चर्चहरूको उपस्थिति तथा नयाँ ख्रिस्टियनहरूको औचित्यलाई प्रमाण्ति गर्ने भूमिका खेलेको पाइन्छ । आधारभूत बाइबल तथा चेलापन तालिमदेखि ईश्वरशास्त्रमा उच्चशिक्षाको पहल तथा प्रावधान गर्ने, चर्चहरूलाई एकतावद्ध गर्दै नयाँ ख्रिस्ट–विश्वासीहरूलाई झूटा साथै गलत शिक्षा वा अभ्यासबाट जोगाउने, चर्चहरूलाई कानूनी हैसियतको आधार प्रदान गर्ने र समाज सेवामार्फत चर्चहरूको सामाजिक स्वीकार्यतामा टेवा दिने कामलाई यसले सफलता साथ गर्दै आएको छ । समय क्रममा एनसिएफएनले सुरु गरेका यीमध्ये कतिओटा सेवा तथा कार्यक्रमहरू यसको छत्रछायाबाट अलग्गिएका वा अलग्याइएका छन् । यसो हुनुमा तत्कालीन नेतृत्वको कमजोरी वा रणनीती पनि हुन सक्छ । छुटेर गएका वा छुटाइएका कयौं कार्यक्रमहरूले समाजमा राम्रै छाप पारिरहेका छन् भने कति त्यस्ता कार्यक्रमहरू इतिहासमा विलिन पनि भएका छन् । जो जति कार्यक्रम तथा योजनाहरू हालसम्म यसैका मातहतमा छन्, तिनमा धेरैले सन्तेषजनक उपलब्त्रीहहात पारेका छन् भने कति पयले तुलनात्मक रूपमा उत्कृष्टता प्राप्त नगरेका भान हुन्छ ।

यसो हुनुमा पछिल्ला केही दशकदेखि देखा परेको चर्च राजनीतिको चक्र हो भन्नु अत्युक्ति नहोला । चर्चहरूको वृद्धिसँगै एनसिएफएनका प्रतिद्वन्दी सङ्घ–संस्थाहरू पनि सतहमा आएका छन् । आरम्भमा नयाँ नयाँ कार्यक्षेत्र वा कार्यशैली प्रस्ताव गरेता पनि हाल आएर तिनीहरूको काम गराई वा सेवाको दायरा एनसिएफएनको भन्दा तात्विक रूपमा फरक देखिँदैैन । तेस्ता कतिपय सङ्घ–संस्थाले आफ्नो उपस्थितिको औचित्य पुष्टी गर्न कि एनसिएफएनसँग सहकार्यको प्रस्ताव गरेको, कि त एनसिएफएनको एकोहोरो विरोध गर्ने गरेको पनि पाइन्छ ।

यस प्रकारको परिवेश निर्माण गर्न बाह्य तत्वहरू जति सकृय छन्, आन्तरिक कारण पनि उत्तिकै जिम्मेवार छन् भन्न सकिन्छ । ख्रिस्टियन वृत्तमा चर्चा हुने गरेका विगतमा अभ्यासमा ल्याइएका संरचनागत अस्पस्टता, जवाफदेहिताको कमी, गुटगत निर्णय प्रकृया तथा आफ्नालाई च्याप्ने प्रवृत्ति जस्ता मानवीय कमजोरीहरूले एनसिएफएनको समग्र प्रगतिलाई सङ्कुचित गराएको मान्न सकिन्छ । चर्चहरू र तिनमा आवद्ध सदस्यहरूको उल्लेख्य वृद्धिलाई ट्याप–इन गरी ख्रिस्टियन सेवाको वृहत्तर उपस्थितिलाई अझै मजबुत पार्न सकिन्थ्यो । ईश्वरशास्त्रको पठन–पाठनमा विशिष्टता कायम गर्न सकिन्थ्यो । त्यसका लागि सहकार्यको समन्वयकारी नेतृत्व गर्न सकिन्थ्यो । ख्रिस्टियन समाज सेवाको मानक स्थापित गर्न पनि सकन्थ्यिो । तर विगतका केही दशकमा सेवाका यी यावत क्षेत्रहरूमा सङ्कुचन कायम गरी चर्चहरूको सङ्रख्या–केन्द्रित कार्य–पद्दतिलाई प्राथमिकता दिइएको छनक आउनुले समग्र समुदाय पनि त्यतैतिर खिँचिएको भान हुन्छ । त्यसमाथि, एनसिएफएन इतरका चर्चहरूमा बढ्दै गएको गैह्र–ख्रिस्टियन राजनैतिक चरित्र, मौकावाद र सञ्जालहरूको व्यक्तिगत उपयोगको उपक्रम पनि उम्दै वृद्धि भएको परिवेश हो । परिणामतः एनसिएफएन हाल इतिहासको मौलिकता, वर्तमानको कार्य–व्यापकता तथा भविष्यको स्पष्टताको क्रसरोडमा उभिएको छ भन्न सकिन्छ ।

३. वर्तमान परिदृष्य र नेतृत्वको कार्यभार

एनसिएफएनले स्थापना कालमै तय गरेको ‘नेपाली ख्रिस्टियन चर्चहरूको आत्मिक उन्नति गर्दै एकताको सम्वर्धन गर्ने’ मौलिक उद्देश्य नै वर्तमानमा चर्चहरूले प्राप्त गरेको सान्दर्भिकीकरणको परिचायक हो भन्नु अत्युक्ति हुँदैन । प्रारम्भमै कोरिएका चर्च सञ्चालनका आधारहरू, जस्तै, स्थनीय नेतृत्व, नेपाली परिवेश अनुसारको आराधना–शैली, व्यक्तिगत सुसाचार प्रचार पद्धति तथा आत्मिय सम्बन्धमा निहित आत्मिक सङ्गति आदिले नेपाली चर्चलाई वैश्यीक चर्च अभ्यासहरूका तुलनामा विशिष्टता प्रदान गरेकोमा विवाद गरिरहनुको तुक छैन । एनसिएफएनको तत्कालीन् नेतृत्वले तय गरेकै मार्गमा वर्तमानका अधिकाङ्स चर्चहरूको अभ्यास–पद्धति बसेको हुनाले नेपाली चर्चहरू हालसम्म पनि अन्र्तसाम्प्रदायिक चेतना र सहकार्यको परिचायक बनेका छन् । वर्तमान वा आगामी दिनको एनसिएफएनको नेतृत्वले आफ्नो यो विरासतलाई भूल्नु हुँदैन । अर्थात, सुसमाचारको सान्दर्भिकीकरण र साम्प्रदायिकतामा विभक्त नभएको सग्लो नेपाली चर्च । विभिन्न उपक्रमहरूको ज्वार चढेर आएका विविध सम्प्रदाय वा समूहहरूलाई सहकार्यको आमन्त्रण, नेपाली पनको अङ्गिकरण र सुसमाचारका सहकर्मीको हैसियत प्रदान गर्ने काममा नेतृत्वदायी भूमिका खेल्नु पर्नेछ ।

चर्चहरू स्थानीय समाजको हिस्सा भएका हुनाले समाजमा आउने प्रत्येक परिवर्तनका लहरहरूले यसलाई प्रभाव पार्छन् नै । नेपाली चर्चहरू पनि देसमा आएका विभिन्न प्रकारका आर्थिक, सामाजिक तथा राजनैतिक परिवर्तनहरूको सकृय साक्षी भएका छन् । यी परिवर्तनहरूमा चर्चहरूलाई आफ्नो उपस्थिति तथा उद्देश्यका बारेमा समाजलाई जानकार बनाउने अवसरहरू पाउँछन् । अहिलेको राजनैतिक तथा सामाजिक परिवर्तनले चर्चहरूलाई समाजमा आफ्ना काम गर्न तुलनात्मक रूपमा खुकुलो पारेको प्रतित हुन्छ । परिवर्तित समाजले दिएका अवसरहरूको भरपूर उपयोगद्वारा चर्चहरूले आफ्ना क्षेत्रहरूमा दह्रिलो तथा अर्थपूर्ण उपस्थिति कायम गर्नैपर्छ । एनसिएफएनको नेतृत्वले स्थानीय चर्चहरूलाई समाजका गरिब, पछाडी पारिएका वा ऐतिहासिक उपक्रमद्वारा सीमान्तकृत बनाइएका समुदायहरूको सर्वाङ्गिण सेवा गर्दै परमेश्वरको प्रेमको नमुना प्रस्तुत गर्न सशक्त बनाउनु पर्छ । यसका निम्ति देसमा उपलब्ध श्रोत–साधन, जनशक्ति, सम्बन्ध तथा समन्वयहरू पत्ता लगाउने, तिनीहरूसँग कार्यमूलक सहभागिता जनाउने र यथोचित उपयोगद्वारा समग्र समाजको उन्नतिमा योगदान गर्ने नेतृत्व आवश्यक छ ।

विगतमा एनसिएफएनले सुरू गरेका वा यसको सम्पर्कमा रहेका कयौं सङ्घ–संस्थाहरू आज पनि एनसिएफएनलाई योागदान दिन लालायीत नै देखिन्छन् ।हालैका वर्षहरूमा नेपालमा प्रदान गरिने वा नेपालीहरूले अन्यत्र गएर ग्रहण गर्ने ईश्वरशास्त्रीय तथा धर्मशास्त्रीय शिक्षण–प्रशिक्षणमा तुलनात्मक अब्बलता हासिल हुन सकिरहेको छैन । केहीमा बाहेक नेपालमा सञ्चालित अधिकाङ्श उच्चशिक्षा प्रदायक प्रतिष्ठानहरूमा दक्ष जनशक्ति तथा समय–सापेक्ष पाठ्य–सामग्रीको अभाव छ । कतिपय चर्चका अगुवाहरूमा शिक्षा प्राप्त गर्ने मनसाय सेवाको गुणस्तर स्थापित गर्नु भन्दा पनि प्रमाण–पत्रको प्राप्तीमा टिकेको देखिन्छ । कम खर्चमा र मेहेनतै नगरी प्रदान गरिने त्यस्ता उपाधीहरूले अस्वस्थ प्रतिस्पर्धा बढाउने र उच्चशिक्षा प्राप्तिको चाहनालााई निरुत्साहित गदर्छ । शिक्षाको स्थान मनगढन्ते दन्तेकथाहरूले लिन्छन् र चर्चका सदस्यहरूको सङ्ख्यात्मक वृद्धि गुणत्मकतामा रूपान्तरण हुन सक्दैन । त्यस्ता प्रतिष्ठानहरूबाट दिक्षित प्रशिक्षाथीहरूबाट सञ्चालित र निर्देशित हुनुपर्दा चर्चहरूको गुणात्मक वृद्धिमा असर पर्छ । यस्तो चलन बढ्दै जाँदा चर्चहरूमा आवश्यक धार्मिक शिक्षाको गहातामा हेलचेक्र्याँइ, नैतिक चेतनामा ह्रास र सेवा तथा सुसमाचारका काममा यथेष्ट जनशक्तिको कमी हुन जान्छ । एनसिएफएनमा आउने नेतृत्वमा समय सापेक्ष र खँदिलो ईश्वरशास्त्रीय शिक्षा ग्रहण गरेको र त्यसलाई प्रात्साहन गर्ने मनोवृत्ति हुनु आवश्यक छ । भावी नेतृत्वमा उच्चशिक्षाको चेतना, समाजलाई सुशिक्षित गर्ने दृढता र ख्रिस्टियन वृत्तमा प्राज्ञिक बहसको सुरुआत गर्ने हुटहुटी हुनुपर्छ ।

संस्थागत विशिष्टता तथा सुशासनविना उपलब्ध श्रोत तथा संभावनाहरूको उचित उ्रपयोग गरी संस्थाले तय गरेका लक्षहरू प्राप्त गर्न सकिन्न । करिब सात दसकको यात्रा तय गरेको एनसिएफएनको संस्थागत विशिष्टता के हो ? यो संस्थाको परिचायक के हो ? कुन काम यसले उत्कृष्टतामा गर्न सक्छ र कुन कुराका निमित्त यसको नेतृत्व पोख्त छ जस्ता कुराहरूले नै यस संस्थाको विषेश परिचय स्थापित गर्दछ । विगतको नेतृत्वले यी र यस्ता कुरामा अभिमुख हुन पाएन होला । तत्कालीन अवस्थामा संस्थाका यस्ता पक्षहरूमा ध्यान लगाउन सकिएन होला वा आवश्यक ठानिएन होला । परिणाममा, संस्थागत निर्णय प्रकृयामा ढिलासुस्ती, व्यक्तिवादी प्रवृत्तिको उछाल तथा सदस्य चर्चहरूको गुनासाहरूको समयोचित सम्बोधन भएन । आन्तरिक प्रशासन कमजोर हुँदा जवाफदेहितामा नकारात्मक असर पर्दछ र निर्दिष्ट गरिएका लक्षहरूमा अनावश्यक सम्झौताहरू गर्नुपर्छ । यसले संस्थाको करेन्सी घटाउँछ । केन्द्रमा रहेको र तुलनात्कम रूपमा पहुँचवाला संस्थामा भएका यस्ता कमीकमजारीहरू नै सदस्य चर्चहरूमा स्वतः हस्तान्तरण हुन्छन् । वर्तमानमा नेपाली चर्चहरूमा सबैभन्दा खड्किएको विषय नै अब्बल प्रशासनको अभाव, स्थानीय श्रोत–साधनहरूको न्युनतम उपयोग तथा आर्थिक उर्पाजन र व्यवस्थापनको अप्रभावकारिता आदिले सेवाका गुणस्तरमा ह्रास ल्याएको भन्न सकिन्छ । यी कुराहरूले चर्चहरूमा आत्म–बल घटाएका र समाजमा चर्चहरूको प्रभावकारी उपस्थितिमा भाँजो हालेका छन् । तर वर्तमानमा यी र यस्ता पक्षहरूमा विभिन्न प्रकारका उत्कृष्ट श्रोतहरू समाजमा यत्रतत्र पाइन्छन् । तिनको उचित प्रयोग गरेर संस्थालाई अब्बल स्वरूप दिन सकिन्छ । एनसिएफएनमा आउने नेतृत्वले संस्थागत विकास, सामाजिक उत्तरदायित्व तथा समतामूलक र सहभागितामूलक रुपान्तरण अभियानलाई अपनत्व दिई कार्यान्वयन गर्नुपर्छ ।

संस्थालाई प्रगतिको ट्र्याकमा गति दिन यसको अर्थ–राजनीति पाटो महत्वपूर्ण हुन्छ । आर्थिक उपार्जन, त्यसको समतामूलक वितरण तथा लगानीको स्पष्ट खाका र कार्यपद्धतिले मात्र संस्थाका निर्णयहरूलाई कार्यान्वयन गर्दै दिगोपनाको कल्पना गर्न सकिन्छ । एनसिएफएनले सदस्य चर्चहरू, यसका दाताहरू र सम्भावित साझेदारहरूलाई अभिमुख गर्ने नीति लिनुपर्छ र त्यसका निम्ति सेल्फ लर्निङको संस्कारलाई प्रोत्साहन दिनुपर्छ । आर्थिक योजना तथा व्यवस्थापन प्राविधिक विषय भएकाले विना अभ्यास कोही पनि यसमा यसै पोख्त भइँदैन । संस्थाले आफ्ना सम्भावित कार्यक्रमहरूको तर्जुमा गर्दा सदस्य चर्चहरूको क्षमता मापन गरी उनीहरूले दिन सक्ने योगदानको यथोचित विश्लेषण गरी उनीहरूमै फलदायी लगानी गर्ने परिपाटीको विकास गर्नुपर्ने देखिन्छ । यो स्थानीय क्षमता अभिवृद्धिको अत्यन्तै महत्वपूर्ण इनिसिएटिभ हुन जान्छ । तसर्थ, भावी नेतृत्वमा आउन चाहनेहरूले एनसिएफएनलाई आवश्यक अर्थोपार्जन, वितरण तथा लगानीको स्पष्ट सीप तथा खाका बुन्न सक्दा वेसै हुनेछ । यो सीप वा प्राथमिकताले चर्चहरूलाई लाग्दै आएको आर्थिक असक्षमता तथा परनिर्भरताको आरोपलाई जोडदार खारिज गरिदिँदछ ।

करिब ७० वर्षको यात्रा तय गर्दैगर्दा एनसिएफएनले अनेकौं गौरवमय कार्यहरू इतिहसमा दर्ज गरिसकेको छ । विगतका उपलब्धीहरूले हौसला प्रदान गर्छ र भविष्यका निम्ति अझ हासिल गर्ने प्रेरणा दिन्छ । तथापि, पुराना कुराहरूलाई नै सम्हालिबस्नु उपयुक्त हुँदैन । समयको चापसँगै भविष्यका नयाँ नयाँ चुनौतीहरूलाई आत्मसात गर्नुपर्छ । एनसिएफएनमा आउने आकाङ्क्षीहरूले पुराना कुराहरूको मूलाङ्कन गरी नयाँपना विकास गर्ने रणनीति प्रस्तुत गर्नपर्छ । पुरानै पद्धति वा परिपाटीमा चल्छु चलाउँछु भन्ने सोच प्रगतिको वाधक हो । यस्तो मनोदशा समाजले प्रस्तुत गर्ने नयाँ र बहुआमिक चुनौतीहरूका निम्ति लायक हुँदैन । अबको सामासजको चेतनाले नयाँपनाको माग गर्दछ, नवप्रवर्तनको खोजी गर्दछ र औसतभन्दा माथिल्लो कार्यक्षमताको अपेक्षा गर्दछ । ऊभन्दा म उमेरले, आवद्धताले वा अनुभवले वरिष्ठ छु वा अघिल्लाहरूले प्रतिवद्धता गरेअनुरूपको उपलब्धी हात पारेनन् वा उनीहरूले संस्थागत विकासको ठाउँमा वैयक्तिक विकास मात्र गरे भनेर मात्र पुग्दैन । स्वघोषित आकाङ्क्षीहरूले आफ्नो अब्बलता वाक्पटुतामा वा आरोप–प्रत्यारोपमा होइन गन्न सकिने विगतका उपलब्धीहरूमा, नाप्न सकिने अनुभवहरूमा र जोड्न सकिने तथ्य–तथ्याङ्कहरूमा पस्कनुपर्छ । र ती उपलब्धी, अनुभव र तथ्याङ्कहरू एनसिएफएनले वर्तमानमा अवलम्बन गर्ने रणनीति, लक्ष तथा उद्देश्यहरूलाई टेवा दिने खालका हुनु आवश्यक छ । पास्टर भएर यति वा उती वर्ष चर्च चलाएको वा कुनै इभेन्ट उक्तृष्टतामा म्यानेज गरेको जस्ता कुराहरू उम्मेदवारीका प्याप्त मानक होइनन् । तिनलाई चिन्हहरूका रूपमा स्वीकार गर्ने र ती इतरका सीपहरूमा वृद्धि हुने फराकिलोपनाको आवश्यकता पर्दछ । चर्चहरूको साझा संस्था नै भए पनि एनसिएफएन चर्च होइन, यसको परिचय चर्चभन्दा अलग वा फरक छ र यसका परिपाटी भिन्नै छन् । यो राज्यमा दाखिला भएको रेस्पोन्सिभ संस्था हो । यसको परिचालनका आयामहरू धेरै र अपेक्षाका दायराहरू फराकिला छन् ।

४. आसन्न महाधिवेसन, चुनाव र आकाङ्क्षीहरू

संस्थामा चुनाव, परिवर्तन वा गतिशीलता सामान्य कुराहरू हुन् । यस्ता गतिविधीहरू भएनन् भनेता संस्था जीवित रहँदैन पनि । सामयीक चुनाव आदिद्वारा संस्थामा नयाँपना, अग्रगमन तथा नवप्रर्वतन आउँछन् । नेतृत्वमा आउने फेरबदलले सधैं नै पहिलेको भन्दा असल र अब्बल कार्यक्रमको माग गर्दछ । चुनाव प्रजातन्त्रको अभिन्न अङ्ग हो । यसको सठिक अभ्यासले संस्थामा स्थायित्व प्रदान गर्ने हुनाले यसलाई प्रतिस्पर्धाभन्दा पनि एक उत्सवको रूपमा सहभागी हुनु सबको निम्ति श्रेयष्कर हुनेछ । तथापि सबै संस्थाले चुनावमार्फत सधैं अपेक्षा गरेमुनासिब हासिल नगरेका उदाहरणहरू पनि हाम्रा सामु छैदैछन् । पुराना जति सबै खराब र नयाँ जति सबै एकमुष्ठ असल हुनन्छन् भन्ने भाष्यलाई हालैमा सम्पन्न आमचुनावले गलत साबित गरिदिएको छ । साथै प्रख्यातहरू नै प्रिय हुन्छन् भन्ने मान्यता पनि क्षणिक हुन सक्ने मानक स्थापित भएको छ । तसर्थ, चुनावलाई सौहार्द बनाउन आकाङ्क्षीहरूले आफ्नो ब्राण्डिङ गर्दा अर्काको बदख्वाँइ गर्नुपर्छ भन्ने होइन । सबै आकाङक्षीहरू आ–आफ्नो स्थानमा अब्बलै देखिन्छन् । तथापि उनीहरूले आफ्नो सक्षमता आफ्ना अनुभव, उपलब्धी तथा योगदानहरूका आधारमा तय गर्नु हितकर हुन्छ । त्यसका निम्ति प्रत्येक आकाङ्क्षीले आफ्नो आफ्नो रिर्पोट कार्ड निर्माण गर्ने, आफूले संस्थालाई दिन सक्ने योगदानको फेहरिस्त प्रस्तुत गर्ने र आफ्ना भावि योजनाहरू पस्कने गर्दा मत दिने समुदायलाई तथ्यगत निर्णय गर्न सजिलो हुनेछ । मिडियामा संयम् प्रस्तुती दिने, तथ्यमा टेकेर सुसूचित गराउने र आफ्नो दावीलाई सशक्त पस्कने गर्दा मतदाताले आफ्नो निर्णयमा सहजता पाउनेछन् । सुन्दा अलिक असान्दर्भिक लाग्ला, तापनि आकाङ्क्षीहरूले आफ्ना व्यक्तिगत सीमाहरू, सिक्न बाँकी रहेका सीपहरू र निर्माण गर्न प्रयत्न गरेका चारित्रिक गुणहरूको फेहरिस्त प्रस्तुत गर्न सके मानवीय पक्षले वृद्धि हुने अवसर पनि पाउने थियो ।

निश्कर्ष :

हालैमा एक जना सामाजिक सञ्जाल प्रयोगकर्ताले एनसिएफएनको यस चुनावलाई आकाङ्क्षीहरूले नै आवश्यकताभन्दा बढी उछालेको टिप्पणी गरेका छन् । उनको यो भनाइले समग्र समाजको मुडलाई प्रतिनिधित्व गरेका प्रतित हुन्छ । आकाङ्क्षीहरूले आफ्नो धरातललाई स्वमूल्याङ्कन गर्नु आवश्यक हुन्छ । मिलेसम्म उही पदका आकाङ्क्षीहरूले प्रत्यक्ष सम्वाद आरम्भ गर्दा एक अर्काका सबलता तथा निर्माण हुन वा गर्न आवश्यक क्षेत्रहरूको पहिचान हुन्छ । उनीहरूले एक अर्काका लागि प्रार्थना गर्न र सहमतिमा सुयोग्य उम्मेदवारलाई अघि सार्ने निर्णय लिन सक्छन् । यसो हुँदा ख्रिस्टियन जगतले समाजलाई दिने सन्देशको ओज पनि बढ्न सक्छ ।
अर्को कुरा, एनसिएफएन चर्चहरूको गठजोडभन्दा बृहद छ । यसले अपनाएको चारखम्बे कार्यनीतिको समूल पुनरावलोकन गरिनु आवश्यक छ । किन र कसरी चर्च आवद्धता वा तिनको सङ्रख्या प्रमुख निर्धारक हुनआयो, सोको मूल्याङ्कन गर्दै विगतमा भएका चूकहरूको उपाय खोजिनुपर्छ र समाजमा ख्रिस्टियन चर्चहरूको समष्टिगत प्रस्तुतीमा खड्किएका पक्षहरूको खोजविन गर्दै ऐतिहासिक भूमिकामा सङ्कुचन ल्याउने तत्वहरूको निराकरण गर्ने पहल थालिनुपर्छ ।
निर्वाचन एनसिएफएनको चलिरहने एक अविछिन्न प्रकृया हो । यसलाई सम्मानजनक, सौहार्द र अनुकरणीय बनाउने प्रमुख कर्तव्य आकाङ्क्षीहरूकै हो । मतदाताहरू त उनीहरूका योग्यता, प्राथमिकता तथा मुद्दाहरूमा चित्त बुझाएर मत दिन्छन् र आगामी दिनहरूमा अझ असल प्रतिफलको आशा राख्छन् । मतदाताहरूको आशामा खरो दह्रो उत्रिन सबै आकाङ्क्षीहरूलाई प्रार्थनासहित शुभकामना ।
१७ मे, २०२६

सन्दर्भ सामाग्री –सूचि

Bist, Kumar Singh, 2026, retrived from https://www.facebook.com/reel/2050418125876420, on 17th May 2026
Hafvenstein, Joel, 2026, Joinig the Mission Renewal: Lessons from UMN History
Khanal, Durga Prasad, 2015, Contextualization of Christian Theology in Nepal: An Assessment of the Roles of National Churches Fellowship Nepal (NCFN) towards the Establishment of Indigenous Churches
Pandey, Simon, 2003, Christianity in Nepal. Kathmandu: NCFN
Subba, O.P.,2012, NCF Nepal is for All in NCFN Golden Jubilee Magagine. Kathmandu: NCFN
Thapa, T.B., 2012, Kathmandu: NCFN Congratulations to NCF Nepa in NCFN Golden Jubilee Magagine

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम