संविधानसभामा पहिचान लुकाइरहेका इसाई सभासदहरु र बिनोद पहाडीको भूमिका
- सीमान्तकृत समुदायको पक्षमा बोल्नु कुनै प्रभावमा परेर नभई मेरो नितान्त कर्तव्य हो ।
- राज्य र समाजबाट अधिकार वञ्चित तथा सीमान्तीकरणमा परेका वर्गको पक्षमा बोल्नुपर्छ र उनीहरूका अधिकारलाई सम्बोधन गर्नुपर्छ भन्ने भावना विद्यार्थी कालदेखि नै मेरो मनमस्तिष्कमा रहँदै आएको छ ।
सीमान्तकृत समुदायको पक्षमा बोल्नु कुनै प्रभावमा परेर नभई मेरो नितान्त कर्तव्य हो । राज्य र समाजबाट अधिकार वञ्चित तथा सीमान्तीकरणमा परेका वर्गको पक्षमा बोल्नुपर्छ र उनीहरूका अधिकारलाई सम्बोधन गर्नुपर्छ भन्ने भावना विद्यार्थी कालदेखि नै मेरो मनमस्तिष्कमा रहँदै आएको छ । सोही अनुरूप म निरन्तर अन्यायका विरुद्ध लड्दै आएको छु ।
सङ्घर्षकै चरणमा म पहिलो संविधानसभामा तत्कालीन नेकपा (माओवादी) को तर्फबाट संविधानसभा सदस्य निर्वाचित भएँ । त्यतिबेला संविधानसभाभित्र क्रिश्चियन समुदायका मुद्दाहरू संस्थागत रूपमा उठ्ने कुरा एकदमै कम थियो । त्यहाँ क्रिश्चियन समुदायको प्रतिनिधित्व गर्ने अन्य साथीहरू पनि हुनुहुन्थ्यो, तर उहाँहरूले आफ्नो पहिचान खुलाउन सकिरहनुभएको थिएन । जब डा. बाबुराम भट्टराईले सदनमा पहिलो बजेट प्रस्तुत गर्नुभयो, उक्त बजेटमाथिको दफावार छलफलमा मैले खुलेरै कुरा उठाएँ “मठमन्दिर र मस्जिद लगायत सबै ठाउँलाई बजेट छुट्याइएको छ भने चर्चलाई किन छुट्याइएन ? चर्चमाथि किन पक्षपात गरियो ?” मेरो यो भनाइपछि नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने लक्ष्मी परियार र एमालेबाट प्रतिनिधित्व गर्ने गोविन्द प्रजा आएर मलाई अङ्गालो हाल्नुभयो । त्यसपछि हामी तीन जना सँगै बस्यौँ ।
उहाँहरूले भन्नुभयो, “हामी त पहिचान खोल्नै सकिरहेका थिएनौँ, हामी त विश्वासी नै हौँ ।” उहाँहरूले मलाई पनि विश्वासी हो कि भनेर सोध्नुभयो । मैले जवाफ दिएँ, “म औपचारिक रूपमा विश्वासी त भइसकेको छैन, तर अन्यायका विरुद्ध त बोल्नुपर्छ नि !” त्यसपछि हामीले यो अन्यायका विरुद्ध संयुक्त रूपमा आवाज उठाउने अठोट गर्यौँ । हामीले पहिलो संविधानसभा र त्यसका विषयगत समितिहरूमा यस विषयमा व्यापक बहस र छलफल गर्यौँ। दोस्रो संविधानसभामा पनि त्यसैगरी काम गर्न पाएको भए यी मुद्दाहरूलाई संविधानमै सम्बोधन गराउन सकिन्थ्यो । तर, दोस्रो संविधानसभाको निर्वाचनमा क्रिश्चियन समुदायकै तर्फबाट छुट्टै पार्टी खोलेर साथीहरू जानुभयो । हामीले उहाँहरूलाई राखेर छलफल पनि गरेका थियौँ ।
अनुकूल वातावरण तयार भएको बेला हामीले अलिकति दबाब सिर्जना गर्न सकेको भए नेपाली क्रिश्चियनहरूले राज्यको तर्फबाट संस्थागत मान्यता पाउन सक्थे । हामीले यसका लागि पहल गर्न धेरै जोड गर्यौँ, तर साथीहरूको पहलकदमी हुँदै नभएको त होइन, यद्यपि त्यो पर्याप्त भएन । जसरी राष्ट्रिय मुस्लिम आयोग, आदिवासी जनजाति आयोग र दलित आयोग छन्, त्यसैगरी क्रिश्चियन समुदाय पनि एउटा ठूलो समुदाय भएकाले ‘राष्ट्रिय क्रिश्चियन आयोग’ नै बन्नुपर्छ भन्ने मेरो चाहना थियो । यस समुदायका समस्याहरूको अध्ययन र समाधान गर्न राज्यले क्रिश्चियन आयोग बनाएरै सम्बोधन गर्नुपर्छ भनेर हामीले पहिलो संविधानसभामै कुरा उठाएका थियौँ । तर, दोस्रो संविधानसभाबाट संविधान निर्माणको प्रक्रियामा आइपुग्दा त्यो जोड पुगेन । क्रिश्चियन समुदायकै तर्फबाट पनि जति दबाब पुग्नुपर्थ्यो, त्यहाँनेर कमी रह्यो । फलस्वरूप, इतिहासमै एउटा महत्त्वपूर्ण काम गर्न छुट्यो भन्ने मलाई आज पनि पछुतो लाग्छ ।
पहिलो संविधानसभामा हामीले धेरै काम गर्न सफल भएका थियौँ । दलितको हक र भूमि अधिकारका कुराहरूलाई हामीले स्थापित गर्न सक्यौँ । संविधानको प्रस्तावनामै ‘सबै प्रकारका विभेदको अन्त्य गरिनेछ’ भन्ने घोषणा गराउन हामीले धेरै मिहिनेत र लबिङ गर्यौँ । संविधानको प्रस्तावनामै सबै प्रकारका विभेद अन्त्यको घोषणा भइसकेपछि क्रिश्चियनमाथि पनि विभेद हुनुहुँदैनथ्यो । त्यसो भएको भए हामीले आयोग गठनको विषयलाई पनि त्यहीँ सम्बोधन गराउन सक्थ्यौँ, तर त्यहाँनेर हामी चुक्यौँ । साथै, दलितहरूका लागि प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित भएर आउने ग्यारेन्टी गर्न हामीले धेरै जोड गर्यौँ तर सफल हुन सकेनौँ । पहिलो संविधानसभामा त हामीले यसलाई मस्यौदामा पारिसकेका थियौँ, तर दोस्रोमा गएर त्यो फालियो ।
पहिलो संविधानसभा र त्यसपछिको निर्वाचनबीचको रिक्तता (ग्याप) को समयमा पनि हामीले ‘बाइबल शिक्षालाई राज्यले औपचारिक मान्यता दिनुपर्छ, नेपालका चर्चहरूलाई संस्थागत गर्ने कानुन निर्माण गर्नुपर्छ र गुठीको रूपमा दर्ता हुने कानुनी व्यवस्था हुनुपर्छ’ भनेर तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीसँग पहल गरेका थियौँ । पछि संविधान जारी भयो, नयाँ सरकार बन्यो र राजनीतिक परिवेश फेरिँदै गयो । अहिले पछिल्लो चरणमा त कतै धर्मनिरपेक्षता र समावेशीताको मुद्दा नै सङ्कटमा पर्ने पो हो कि भन्ने आशङ्का उब्जिएको छ । त्यसैले, अब हामी अझ बढी सचेत भएर लाग्नुपर्ने अवस्था आएको छ भन्ने मलाई लाग्छ ।
अन्त्यमा, यहाँहरूले व्यक्तिगत रूपमा मलाई जुन माया र सद्भाव दिनुभएको छ, त्यसका लागि म हृदयदेखि नै धन्यवाद दिन चाहन्छु । मलाई सुखमा भन्दा दुःखमा बढी सम्झिनुभयो भने, दुःखमा हातेमालो गर्दै काँध मिलाउन पाइयो भने मलाई अझ बढी गौरव महसुस हुनेछ। म सधैँ यहाँहरूसँगै छु। मलाई अतिथिका रूपमा भन्दा पनि आफ्नै परिवारको सदस्यका रूपमा लिइदिनुहुन आग्रह गर्दछु । धन्यवाद !
( प्रस्तुत आलेख माननीय पहाडीले एउटा कार्यक्रममा व्यक्त गर्नुभएको विचारमा आधारित भएर तयार गरिएको हो । )
प्रतिक्रिया
सम्बन्धित खबर
यो पनि पढौँ
छुटाउनुभयो कि ?
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
एनसीएफएन निर्वाचनका लागि प्रार्थनामा सहभागी हुन राष्ट्रिय संयोजक भव घलेको आग्रह
नेपाली चर्च एकता आजको आवश्यकता
इसाइहरुले नेतृत्व गरेकाे सवै राजनितिक दलहरुविच एकता हुन्छ : विदुर अधिकारी
येशूको पुनरुत्थानको गलत सिद्धान्तहरू
पत्रकार भनिनेले यति ठूलो आरोप लगाउँदा चर्चको हकहितको लागि लड्छौं भन्नेहरू कहाँ छन् : भोजराज भट्ट
अन्तरचर्च भलिबल प्रतियोगिता सम्पन्न, मुडाबास अभिषेक चर्च प्रथम







