single page header banner

आत्मिक अगुवापन : २

Pramodkhadka Pramodkhadka
सोमबार, आषाढ 3, 2082
Social buttons loaded
समाचार सारांश
  • पुर्व निर्धारित सफलताः यो वाक्यांश बाइबलमा धेरै पटक उल्लेख भएको छ ।
  • जस्तो हामीले यहोशूको बारेमा हेर्यौँ भने (यहोशू १:८-९) प्रभुले उहाँलाई पुर्व निर्धारित सफलता देखाइदिनुभयो ।

पुर्व निर्धारित सफलताः

यो वाक्यांश बाइबलमा धेरै पटक उल्लेख भएको छ । जस्तो हामीले यहोशूको बारेमा हेर्यौँ भने (यहोशू १:८-९) प्रभुले उहाँलाई पुर्व निर्धारित सफलता देखाइदिनुभयो । “यदि तिमीले व्यवस्थाको यो पुस्तक आफ्नो मुखबाट हटाएनौ भने, दिन र रात मनन गर्यौ भने तिमीले निश्चय नै सफलता पाउनेछौ ।” अगुवाको रुपमा पनि हामीले निश्चय नै सफलता पाउनेछौँ तर त्यसको लागी हामीले दिन र रात निर्णय लिनुपर्छ यहोशूले त्यो काम गरे, उनले व्यवस्थाको पुस्तक आफ्नो ओठबाट हट्न दिएनन्, शरिरमा लागु गरे, सदैव मनन गरे र उनि सदैव विजयी भए । किनभने यहोशू आफु्लाई बिकास गर्ने काममा सदैव लागीरहे । तपाईं र मेरो लागी पनि यही नै हो । महान अगुवा हामी एक दिनमा बन्दैनौँ अझ आत्मिकी अगुवा, परमेश्वरले चाहानुभएको अगुवा, परमेश्वरले चाहानुभएको प्रभाव हामी एकै दिनमा पार्न सक्दैनौँ । हामी
बिकसीत हुन जरुरी छ । समय दिनुहोस्, प्रभुसँग समय बिताउनुहोस्, आफूलाई वचनमा हेर्नुहोस् र उहाँको आवाज निरन्तर सुन्नुहोस् । पहिले आफुलाई डोर्याउन सिक्नुहोस् आफै नै परमेश्वरको आवाज सुनेर डोर्याइन सिक्दैनौँ भने हामी अरुलाई डोर्याउन सक्दैनौँ । त्यसैले समय लिनुहोस्, आफूलाई डोर्याउनुहोस्, आफूलाई बिकास गर्नुहोस् ।

आत्मिकि अगुवाको गुणहरु:
अगुवाको रुपमा हामीले जहिले पनि ठुलो कुरा सोच्नुपर्छ । प्रगाढ र विशाल कुरालाई सोच्नुपर्छ । हामीले पर सम्म देख्नु धेरै महत्वपुर्ण छ । अगुवाले जहिले पनि वृद्धीलाई गुणन गर्छ । सानो सोच्नु भनेको जहिले पनि आफ्नो बारेमा मात्र सोच्नु हो । मैलेनै गर्नुपर्छ, मै हुँ, म बाहेक अरुको के मतलव भने जस्तो हो । दुष्ट किन तल झर्यो ? किनकि ऊ “म” मा मात्र केन्द्रित थियो । आफैलाई जाँच्नुहोस् “म” होइन तर “हामी”, अथवा निर्माण गर्ने कुरामा, सेवा गर्ने कुरामा केन्द्रित हुनुहोस् । परमेश्वरको विचारले जहिले पनि अरुमा खन्याउने काम गर्छ । जब हामी
अरुमा खन्याउँदछौँ हामी उचालिदछौँ । र हाम्रा प्रभावहरु गुणन हुन्छन् ।

अगुवापनमा के-के कुराहरु संलग्न हुन्छन :


१. अगुवापनमा निर्देशन दिने कुरा, दर्शनलाई स्थापीत गर्ने कुरा र उद्देश्यलाई स्थापना गर्ने कुरा संलग्न हुन्छ

यसकारण तपाईंले अगुवाको रुपमा निर्देशन दिनैपर्छ, दर्शन स्थापित गर्नैपर्छ र उद्देश्यलाई बताउनै पर्छ। यदी अगुवाको रुपमा म कहाँ जाँदैछु भन्ने मलाई नै थाहा छैन भने म अरुलाई डोर्याउन सक्दिनँ । एक पटक विदेशी पाहुनाहरुलाई केही ठाउँहरुमा घुमाइदिन मलाई भनियो तर त्यस ठाउँको बारेमा मलाई नै राम्रोसँग थाहा थिएन । त्यसकारण मैले उहाँहरुलाई घुमाउन सकिनँ । कहीलेकाहीँ त्यस्तै हुन्छ, अगुवाको रुपमा हामी आफैलाई नै दर्शन थाहा छैन, निर्देशन थाहा छैन र उद्देश्य थाहा छैन भने हामी अरुलाई डोर्याउन सक्दैनौँ । यी सबै कुरा थाहा हुनुपर्छ । प्रार्थनामा समय बिताउनुहोस् । दर्शनको मालिक र प्रभु येशू ख्रिष्ट नै हुनुहुन्छ । जब तपाईंले उहाँसँग समय बिताउनुहुन्छ, उहाँले तपाईंको जीवनमा राखीदिनुभएको दर्शन वा अगुवाको रुपमा राख्दिनुभएको निर्देशन र उद्देश्य उहाँले तपाईंलाई प्रकट गर्नुहुनेछ ।

२. अगुवापनले अरुलाई त्यो दर्शन र उद्देश्यमा संलग्न हुन उत्प्ररित गर्नुपर्छ
यसमा मानिसहरुलाई जोड्नको निम्ति प्रेरणा दिने कुरा संलग्न हुन्छ । कहीलेकाहीँ हामी डर र भयद्वारा मानिसहरुलाई अगुवाई गरीराखेका हुन्छौँ । हो, परमेश्वरको डर र भय अनि उच्च आदरको बारेमा हामीले मानिसलाई सिकाउनुपर्छ, तर कहिल्यै पनि संसारिक डरद्वारा हामीले डोर्याउनु हुँदैन । यसमा मानिसहरुलाई प्रेरणा दिने कुरा पनि संलग्न हुनुपर्छ ।

३. अगुवापनमा दर्शन र उद्देश्यलाई सफल गराउन मानिसहरुलाई सुसज्जित पार्ने कुरा संलग्न हुन्छ
तपाईंले मानिसहरुलाई सुसज्जित पार्नैपर्छ । उनिहरुलाई चाहिने कुराहरुले भर्नैपर्छ । यदि मैले कुनै काम मेरा मानिसहरुलाई दिए तर त्यो काम गर्न चाहिने दक्षता र सिप सिकाइन र स्रोत साधन उपलब्ध गराइन भनेदेखि उनीहरु सुसज्जित हुनेछैनन्।

४. अगुवापनमा दर्शन र उद्देश्यमा योगदान गर्नेहरुलाई इनाम दिने काम संलग्न हुन्छ
जब मान्छेहरुले दर्शन र उद्देश्यमा योगदान गर्छन् तब उनिहरुलाई इनाम दिने कुरा पनि संलग्न हुन्छ । जसले हामी अगुवाहरुलाई परमेश्वरले दिनुभएको दर्शन र उद्देश्यलाई साहयता गर्नुहुन्छ उहाँहरुलाई इनाम दिने कुरा धेरै महत्वपुर्ण छ । इनाम दिने काम गर्नुपर्छ । तपाईको समुहमा कसैले योगदान गर्नुभएको छ भने त्यसको श्रेय आफै नलिनुहोस् तर त्यहि योगदान गर्ने तपाईको समुह वा व्यक्त्तिलाई दिनुहोस्।

५. अगुवापनमा दर्शन र उद्देश्य पुरा गर्न अन्य अगुवाहरुलाई फुकाउने कुरा समावेश हुन्छ
सँधैभरी सबै मानिस मसँगै बस्छन् भन्ने छैन । तपाईंले आफूसँग सँधै सँगै सेवाकाई गर्नेछ भनेर सोच्नु भएको मानिसहरुलाई बडो आनन्दित हृदय राखेर फुकाउन सिक्नुपर्छ । मैले धेरै पटक यस्तो अनुभुति गरेको छु । जब तपाईंले कसैलाई महान महिमाको निम्ति उनिहरुले धेरै अगुवाई गरोस्, प्रभाव पारोस् भनेर फुकाउनु हुन्छ, परमेश्वरले अझ धेरै मानिस तपाईंको जीवनमा, सेवाकाइमा ल्याउनुहुन्छ । उहाँ असल र धेरै महान परमेश्वर हुनुहुन्छ । हामी एउटा घटना पाउँछौँ (प्रस्थान १८:१३–२३) मा जहाँ मोशाले सबै कुराहरु आफै गरिराख्नुभएको थियो । अनि त्यसपछि त्यहाँ मोशाको ससुरा यित्रो आउनुहुन्छ र यित्रोले चाहीँ उहाँलाई सरसल्लाह दिनुहुन्छ । “तिमी एक्लैले यी सबै कुराहरु गर्न सक्दैनौ । त्यसकारण तिमीलाई सहायता चाहिन्छ ।“ अतः उहाँले झुण्ड-झुण्ड बनाउनुभयो । र झुण्ड झुण्डमा अगुवाहरु राख्नुभयो । यसो गरेपछि उहाँले अझ धेरै कुराहरु हासिल गर्नुभयो । सोच्ने क्षमतालाई ठुलो बनाउनु भयो । याद गर्नुहोस्, येशू जब आउनुभयो, उहाँ एक अगुवाको रुपमा आउनुभयो र आफूलाई जमीनमा रोप्नुभयो ताकी उहाँद्वारा धेरै फलहरु फल्न सकुन्। जब तपाईंले विऊलाई रोप्नुहुन्छ, तब विऊ मर्नुपर्छ । हामी पनि एउटा अगुवाको रुपमा त्यस्ता कैयौँ बलिदानको निम्ति तयार रहनुपर्छ । जुन चाहीँ मर्नु सरह हुन्छ । तर जसै तपाईंले त्यसो गर्नुहुन्छ, तपाईंले विरासतलाई उमार्नुहुन्छ, तपाईंले फललार्इं उमार्नुहुन्छ। सानो नसोच्नुहोस्, तर ठुलो सोच्नुहोस् । परमेश्वर जस्तै विशाल सोच्नुहोस् । उहाँले तपाईंको जीवनबाट महान काम गर्नुहुनेछ ।

सुरक्षित अगुवा:
एउटा अगुवाको रुपमा, एउटा आत्मिकि अगुवाको रुपमा हामीमा अर्को हुनु पर्ने कुरा के छ भने हामी सुरक्षित अगुवा हुनुपर्छ । एउटा सुरक्षित अगुवासँग सुरक्षित सोच हुन्छ र उसले जहिले पनि अरुलाई तालिम दिने काम गर्छ र त्यसको नतिजा जहिले पनि पद्धोन्नती हुन्छ । यो हाम्रो प्रभु येशू ख्रिष्टले दिनुभएको सिद्धान्त हो । जब तपाईं भन्दा तलका मानिसहरुले तपाईंले भन्दा महान काम गर्छन्, त्यो तपाईंको पद्धोन्नती हुनु हो । त्यसकारण येशूले भन्नुभयो “यदी मलाई विश्वास गर्छौ भने मैले गरेका सबै कामहरु पनि गर्नेछौ र त्यो भन्दा धेरै ठुला र महान काम तिमीहरुले गर्नेछौ ” (यूहन्ना १४:१२) हामी येशू जस्तै सुरक्षित अगु्वा हुनुपर्छ । “मैले नै सबै गर्नुपर्छ” र “म नै सबै माथि हुनुपर्छ” भन्ने कुरा सही होइन । जब तपाईंले तालिम दिएको, दर्शनहरु खन्याउनुभएको, सिकाउनुभएको मानिसहरु अघि बढ्छन् उनीहरु अघि
बढ्दाखेरी तपाईंको पद्धोन्नती भएको हुन्छ । यसकारण बप्तिस्मा दिने युहन्ना जस्तै सुरक्षित हुनुहोस्, । उनका मानिसहरुले उनलाई छोडेर गएका थिए तर उनले अशुरक्षित महसुस गरेनन् । उनले मेरो कोही छैन भनेनन् तर उनि विश्वस्त भएर मेरो काम यत्ति नै हो भने । मैले जे गरें प्रभुको महिमाको निम्ति गरेँ । म घट्नु र उहाँ बढ्नु आवश्यक छ भन्नुभयो । तपाईं पनि सुरक्षित अगुवा बन्नुहोस्, हामी पनि सुरक्षित अगुवा बनौँ ।

सुरक्षित अगुवामा हुने केही कुराहरु:

१. अनुभवी हुन जरुरी छ
वुद्धीमा, ज्ञानमा, र तपाईंको बोलावटमा अनुभवी हुन जरुरी छ । तपाईंलाई दिईएको दर्शन र उद्देश्यमा अनुभवी हुन जरुरी छ ताकी तपाईंले अरु मान्छेलाई संलग्न गर्न सक्नुभएको होस् । अनुभवले जहिल्यै पनि अरु मान्छेहरुको संलग्नताको आवश्यक्ताको माग गर्दछ, ताकी हामी दर्शन र उद्देश्यलाई पुरा गर्न सकौँ ।

२. तालिम
अगुवाको रुपमा हामीले दुइवटा कुरामा केन्द्रित भएर तालिम लीनुपर्छ । ती हुनः हिँड्नु पर्ने वाटो र गर्नु पर्ने काम: म कुन वाटो हिँड्नु पर्ने हो ? जहिले पनि मेरो हिँडाई चाहीं परमेश्वरसँग हुनुपर्छ । र मेरो काम चाहीं परमेश्वरको निम्ति हु्नु पर्छ । त्यही भएर तपाईंको हिँडाइ सर्वप्रथम आउँछ । एउटा अगुवाको रुपमा तपाईं परमेश्वरसँग हिँड्नु पर्यो र मानिसहरुलाई पनि परमेश्वर सँग हीँडाउनु पर्यो । त्यस पछि उहाँको निम्ति गर्ने काम आउँदछ ।

३. आफ्नो हृदय र दर्शन लगानी गर्न अरु व्यक्तिहरुलाई छान्नुहोस्
तपाईंले तपाईं पछिको विरासत वोकाउने व्यक्तिको बारेमा सोच्नुपर्छ, छान्नुपर्छ । हामीले हेर्यौं भने येशूले सबै जनालाई छान्नु भएन । १२ जनालाई छान्नुभयो त्यो मध्ये पनि १ जनाले आफैले इन्कार गरे । उनले गलतलाई छनौट गरे तर येशूले त उनलाई छनौट गर्नुभएको थियो । तपाईंले पनि हेरेर येशूले जस्तै तपाईंलाई दिईएको दर्शन वोकाउनको निम्ति उनीहरुलाई डोर्याउनु पर्ने हुन्छ । उनीहरुको जीवनमा लगानी गर्नु पर्ने हुन्छ । तपाईं सबैको अगुवा पनि हुन सक्नुहुन्न र सबैलाई अगुवाई पनि गर्न सक्नुहुन्न । जो व्यक्ति तपाईंलाई परमेश्वरले दिनुहुन्छ ती व्यक्तिको अगुवा तपाईं बन्नुहोस् र तिमध्ये पनि तपाईंको विरासत बोक्ने व्यक्तिलाई चिन्नुहोस्, छान्नुहोस् र उनीहरुको हृदयमा त्यो दर्शनलाई खन्याउन, लगानी गर्नुहोस् ।

४. हस्तान्तरण गर्नुहोस् र जिम्मेवारी दिनुहोस्

एउटा अगुवाको रुपमा बोलावट पुरा गर्नलाई तपाईंको कामहरु तपाईंले हस्तान्तरण गर्नुपर्छ , जिम्मेवारी दिनुपर्छ । सबै तपाईं आफै गर्न सक्नुहुन्न । बोलावट पुरा गर्नको निम्ति तपाईंलाई धेरै अंगहरु चाहिन्छ । अंगहरु चिन्नुहोस् र ति अंगहरुलाई काम हस्तान्तरण गर्नुहोस् । मुखले किड्नीको काम गर्न सक्दैन र किड्नीले मुखको काम गर्न सक्दैन । यीनीहरुको आ–आफ्नो काम छन् । यसकारण सहि प्रकारले कामलाई हस्तान्तरण गर्न पनि सिक्नुहोस् ।

५. कुनै इश्र्या बिना मानिसहरुलाई फुकाउन सिक्नुहोस्
यदि कसैले “तपाईंसँग सेवाकाई गर्दिनँ, म यहाँबाट जान्छु्” भन्छन् भने उनीहरुलाई फुकाईदिनुहोस् । किनभने प्रभुले नै मानिसहरु तपाईंको लागी ल्याउनुहुनेछ । एउटा आत्मिक अगुवा हुनको लागी हामीमा प्रतिवद्धता चाहिन्छ र यसमा हामीले अरुलाई उचाल्नु पर्ने नै हुन्छ । जबसम्म हामीले अरुलाई उचाल्दैनौँ तब सम्म हामी माथी जाँदैनौँ । राज्यको नियम नै यही हो । जब हामी होच्चिन्छौँ तब हामी उचालीन्छौँ , जब आफैलाई नम्र पार्छौँ, तब उचालिनेछौँ तर जब आफूलाई उचाल्न खोज्छौँ तब हामी होच्याइनेछौँ । (मत्ति २६:३९) यहाँ येशूले “मिल्छ भने यो कचौरा हटाइदिनुहोस्” भनेर प्रार्थना गर्नुभएको छ । तर यस प्रार्थनाको उत्तर नआउनु नै उत्तर थियो । उत्तर आएन तैपनि उहाँ प्रतिवद्ध रहनुभयो । (फिलिप्पी २ : ५–८) यी पदहरुमा येशूले क्रुसमा जान गर्नुभएको निर्णयहरु देखिन्छ । तर एउटा कारण उहाँ पिताबाट कहिल्यै पनि अलग हुनुभएको थिएन । पिता, पुत्र र पवित्र आत्मा त्रीएक परमेश्वर एक हुनुहुन्छ । उहाँहरु कहिल्यै पनि अलग हुनुभएको थिएन तर जब अलग हुने समय आउँदै थियो अनि क्रुसमा उहाँले भन्नुभयो हे परमेश्वर तपाईंले मलाई किन त्याग्नु भयो । त्यो एउटा मात्रै क्षण थियो जति बेला उहाँ पहिलो पटक त्यागिनुभयो । अतः उहाँले भन्नुभयो, “हुन सक्छ भने यो कचौरा मबाट हटाइदिनुहोस्” । अनि कतिपय
सन्दर्भमा कठिनाई अवस्थाहरुमा एउटा अगुवाको रुपमा हाम्रो प्रार्थना पनि यही हुनुपर्छ । हामीले प्रभुसँग यदि प्रभु तपाईंको इच्छा छ भने भन्दै अर्पणको प्रार्थना गर्नुपर्छ ।

एउटा प्रतिवद्ध अगुवाको रुपमा हामीलाई पछ्याउने व्यक्तिहरुको जीवनमा कस्तो खाले बोलावट छ त भनेर हामीले पत्ता लगाउन जरुरी छ । जसको जे वरदान छ, त्यही जिम्मेवारीमा राख्नुपर्यो । त्यसकारण पनि तपाईंले आफ्ना मानिसहरुको वरदान चिन्नु महत्वपुर्ण छ । एउटा अगुवाको रुपमा आत्मा छुट्याउने वरदान जसको बारेमा १ कोरिन्थी १२ अध्यायमा उल्लेख गरिएको छ । प्रभुको अनुग्रह तपाईंसँग छ जसकारण यस्ता कुराहरु छुट्याउन तपाईं सक्नुहुन्छ । जहीले पनि मानिसहरुलाई ख्रीष्टले तपाईंको निम्ति दिनुभएको वरदान हो भन्ने कुरा थाहा गर्नुहोस् । हामी यदी मानिसहरुलाई सुन, हीरा र मोती जस्ता बहुमुल्य उपहारको रुपमा हेर्दैनौँ भने हामीले उनीहरुको वृद्धीको कुरा गर्दैनौँ । एउटा अगुवाको निम्ति मानिसहरु येशूले दिनुभएको वरदान हो । मानिसहरुका जीवन उनीहरुका आफ्नै हैनन् ,उनिहरुले आफ्नै निम्ति मात्र जीउँने होइन । तर उनीहरुले प्रभुको लागी जीउनुपर्छ । जुन जीवन उनिहरु र हामीले पाएका छौँ त्यो हामीले प्रभुको निम्ति जीउनुपर्छ भनेर थाहा गराईदिनु पनि हाम्रो निकै महत्वपुर्ण जिम्मेवारी हो । तब मात्रै हामी उत्तम तरिकाले जीउन सक्छौँ । त्यसैले पावलले भन्नुभयो, “अब उसो म होइन तर ख्रीष्ट ममा जीउनुहुन्छ ।“

एउटा प्रतिवद्ध अगुवाको रुपमा हामीले मानिसहरुको उद्देश्य बुझ्नुपर्छ । सबै त थाहा नहोला, तर प्रार्थना गर्नुभयो र प्रभुसँग सोध्नुभयो भने आवश्यक सबै थाहा भइहाल्छ । पवित्र आत्माद्वारा येशूलाई प्रकट गर्नुभए जस्तै हामीलाई पनि परमेश्वरले प्रकट गर्नुहुनेछ । किनकी हाम्रो लागी अगुवाको नमुना येशू ख्रिष्ट हुनुहुन्छ । एउटा प्रतिवद्ध अगुवाले जहिले पनि येशू ख्रीष्टको शरिरलाई बुझ्दछ । (१ कोरिन्थी १२:१२,१८,२७) आत्मिकि अगुवाले जहीले पनि ख्रिष्टको शरिरलाई बुझ्दछ । विभिन्न अंगहरु छन, विभीन्न भुमीकाहरु छन तर शरिर एउटै छ । नदेखिने गरी
भित्र लुकेर रहेका अंगहरुको महत्व झन् धेरै छ । एउटा आत्मिकी अगुवाले म आफ्नो निम्ति हैन तर एउटा विशाल उद्देश्यको भाग हुँ भनेर बुझ्दछ । म आफ्नो निम्ति हैन तर केही महान कुराको लागि जीइराखेको छु । जब हामी यो कुरालाई देख्छौँ तब हामीलाई बलिदान गर्न केही गाह्रो हुनेछैन । हामीलाई आज्ञाकारी हुन केही गाह्रो हुनेछैन । एउटा आत्मिकी अगुवाले के बुझ्दछ भने परमेश्वरले दिनुभएको वरदान र बोलावट मेरो आफ्नो फाइदाको निम्ति हैन तर मैले अरुको निर्माणको निम्ति प्रयोग गर्नुपर्छ । र एउटा प्रतिवद्ध आत्मिकि अगुवाले के बुझ्छ भने म ठुलो समुहको भाग हुँ । परमेश्वरले दिनुभएको जुन उद्देश्य छ त्यो पुरा गर्नलाई समुह चाहिन्छ । शरिरलाई हेर्नुहोस्, शरिर बन्नको निम्ति धेरै सदस्यहरुको आवश्यक्त्ता पर्दछ धेरै अंगहरुको आवश्यक्ता पर्दछ । हाम्रो लागी पनि त्यही हो यो उद्देश्यलाई पुरा गर्न हामीलाई मानिसहरुको आवश्यक्ता पर्दछ । समु्हमा विविधता चाहीन्छ भन्ने कुरा पनि अगुवाले वुझ्नु पर्दछ । विभीन्न वरदान भएका मानिसहरु चाहीन्छ । हामीलाई हर प्रकारका वरदान र अनुग्रह भएका मानिसको आवश्यक्ता पर्दछ । यसरी नै हामी उद्देश्यलाई पुरा गर्न सक्दछौँ । स्तुति प्रशंसाको समुहको लागी जसरी सबै जना गाउने मात्र भएर वा गीटार वजाउने मात्र भएर पुग्दैन त्यसैगरीनै समुहमा हरेक प्रकारका मानिसहरु चाहीन्छ । हरेक प्रकारका मानिसहरु महत्वपुर्ण छन् र उनिहरुलाई हामीले आदर गर्नुपर्ने हुन्छ । साना साना काम गर्नेहरु, सहायताको सेवाकाई गर्नेहरु यी सबै हामीलाई चाहिन्छ । हामी आफै सबै काम गर्न सक्दैनौँ । हामीले सबैलाई उति नै पास्टरिय हेरचाह गर्न जरुरी छ, सबैसंग समान व्यवहार गर्न जरुरी छ । सबैलाई उत्तिनै र उस्तै व्यवहार गर्न महत्वपुर्ण छ ।

एउटा आत्मिकि अगुवाले जहिले पनि उदाहरणद्वारा अगुवाई गर्छ । आफ्नो अनुग्रहमा कसरी हिँड्ने, आफ्नो अनुग्रहमा कसरी काम गर्ने भन्ने कुरा एउटा आत्मिक अगुवालाई थाहा हुन्छ । तपाईं हामी जसले पनि सिकाउन सक्छौँ तर तपाईं जो हुनुहुन्छ त्यो मात्र सार्न सक्नुहुन्छ । स्याउको रुखमा स्याउ मात्र फल्छ आँप फल्दैन । मलाई “म को हुँ” भन्ने जब थाहा हुन्छ तब म के गर्नेछु भन्ने कुरामा दृढता आउँदछ । येशूलाई उहाँ के गर्दैहुनुहुन्थ्यो भनेर थाहा थियो । जब मानिसहरुलाई तपाईं के गर्दै हुनुहुन्छ भन्ने कुरा थाहा हुन्छ तब मानिसहरुले त्यो कुरा देख्छ र उनीहरुमा पनि दृढता आउँछ । यसलै अगुवाको रुपमा हामीलाई पनि थाहा हुनु पर्छ । हामीले अगुवाको रुपमा विश्वासद्वारा मानिसहरुको सेवा गर्नु पर्छ । हामी भावनामा र आवश्यक्ता देख्दा मात्र परिचालन हुने हैन तर विश्वासद्वारा परिचालित हुन्छौँ । विश्वासद्वारा हामी सेवा गर्छौँ । मानिसहरुले पनि त्यसैलाई पछ्याउनेछन् । जति पनि सेवामा सहायता गर्न मानिसहरु पठाइन्छन् आत्मिक अगुवाले उनिहरुको क्षमतालाई तन्काउने काम गरिदिन्छ । येशूले त्यही काम गर्नुभयो । धेरै कुरा थाहा नभएका मछुवाहरु आए, ती ११ जना चेलाहरु त्यति धेरै पोख्त थिएनन्, उनिहरु सिपालु थिएनन् तर जब उनिहरु येशू सँग आए उनिहरु गुणन भए । उनिहरु क्षमतामा गुणन भए, तन्किए । तिनै चेलाहरु माथिल्लो कोठाबाट संसारभर फैलीए र त्यसको फलस्वरुप आज हामी यो उत्तम विश्वासको अवस्थामा छौँ ।

आफै अगुवाको रुपमा हामी हुर्कीनु पर्यो र सिक्नुपर्यो:

हामी किन हुर्किँदैनौँ र सिक्दैनौँ भने कहिलेकाहीँ हामीलाई कति थाहा छ र कति थाहा छैन भन्ने पनि थाहा हुँदैन । त्यसकारण एक अगुवाको रुपमा हामीले निरन्तर सिकिरहनुपर्छ । हामी अघी बढीराख्नुपर्छ । हामी विकसित भएनौँ भने हामीलाई पछ्याउने मान्छे विकसीत हुँदैनन । पावलले भन्नुभए जस्तै जसरी म ख्रिष्टलाई पछ्याउँछु त्यसै गरी मलाई पछ्याऊ । (प्रेरित २०:१७-२१) यहाँ पावलले उदाहरणद्वारा डोर्याउनुभयो । र उहाँले पुरै नम्र भएर सेवा गर्नुभयो । उहाँले कुनै कुरा पछाडी राख्नुभएन । पहीलो प्राथमिकतामा जहिले हामीले परमेश्वरलाई राख्नुपर्छ । कहिलेकाही परमेश्वरको ठाउँमा हामी विभीन्न कुराहरुलाई राख्दछौँ । जहीले पनि उहाँ अगाडी आउनुपर्छ । त्यही सेवा र त्यही प्रभुसँग हुनको निम्ति पावलले अरु सबै कुरालाई पछाडी छोडीदिनुभयो । र सँधै पहिलो प्राथमिकतामा परमेश्वरलाई राख्नुभयो । अगुवाको रुपमा हामीले पनि यही नै कुरा गर्नु पर्ने हुन्छ । पावलले २० पदका अनुसार निर्देशन दिने कुरामा हर मौकालाई लिनुभयो । जब पनि मौका पाउनुहुन्थ्यो उहाँले निर्देशन दिने काम र उनिहरुलाई डोर्याउने काम गर्नुहुन्थ्यो ।

आत्मिक अगुवापन हाम्रो उदाहरणीय र आदरणीय उद्देश्य हो । यो परमेश्वरलाई उचाल्ने अगुवापन हो, आफैलाई उचाल्ने अगुवापन हैन । यसकारण आत्मिक अगुवापनको चाह गर्नुहोस् । प्रभुलाई उचाल्ने उहाँको सेवा गर्ने उहाँको महिमा गर्ने चाहा गर्नुहोस् । मत्ति २०: २५–२८, यही नै हाम्रो निम्ति उत्तम उदाहरण हो । उहाँले आफ्नो प्राण हाम्रो निम्ति दिनुभयो, उहाँ सेवा पाउन हैन सेवा दिन आउनुभयोा । उहाँले माथिबाट दमन गरेर, थिचेर, शासन गरेर हैन तर देखाएर उदाहरण बनेर अगुवाई गरेर शासन गर्नुभयो । उहाँले सबै आत्माका फलहरुद्वारा शासन गर्नुभएको थियो र हामीले पनि त्यही नै गर्नु पर्छ ।

आत्मिकि भनेको अरु मान्छेलाई आशिष दिनको निम्ति आत्माद्वारा आशिषीत हुनु हो । अगुवापन भनेको अरुलाई प्रभाव पार्नु हो । समग्रमा आत्मिक अगुवापन भनेको अरुलाई आशिष दिनको निम्ति परमेश्वरको आत्माद्वारा आशिषित भएर प्रभाव पार्नु हो। यदि कसैले तपाईंलाई पछ्याई रहेको छैन भने तपाईं अगुवा हुनुहुन्न । त्यसैले तपाईको चरित्रले निरन्तर प्रभाव पारि राख्नुहोस्।


लेखक मुकेश तामाङ्ग डुनामिस इन्टरनेसनलका क्षेत्रीय निर्देशक हुनुहुन्छ ।

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम