single page header banner

पास्टर सागर बैजु

admin admin
शनिबार, आश्विन 18, 2079
Social buttons loaded
समाचार सारांश
  • मेरो जन्मः वि.
  • सं.

मेरो जन्मः

वि.सं. २०३२ साल सिन्धुली जिल्लाको झागाझुगी रातमाटा भन्ने ठाउँमा भएको, जन्मेको २७ दिनमा मेरो बुबाआमालाई मकैको ढिंडो खान गाह्रो भएको कारण म २७ दिनको हुँदा तराईको सर्लाही जिल्लामा गयौं ।

मेरो बाल्यकाल ः

मेरो परिवार परियार भएको कारणले मेरो बाल्यकाल अरुले राम्रो लगाउन पाउने बेलामा हामीले पाउँदैनथ्यौं किनकि आमा बुबाले अरुको लागि लुगा सिलाउँदा सिलाउँदै हाम्रो नयाँ लगाउने दिन आउँदैनथ्यो । शिक्षाको हिसाबले पनि धेरै पढाउनुपर्छ भन्ने मानसिकता थिएन । अनि मेरो विवाह चाहिँ हिन्दु संस्कारमा पुन्य कमाउन सकिन्छ भनेर म तेह्र वर्षको हुँदा नै मलाई रुवाउँदै डोलीमा चढाएर लगियो । त्यसपछि केहि दिनमै घरबाट भागेर म काठमाडौं आएँ । मैले रोडको जीवन पनि केहि समय भोगेको छु । माघ महिनाको जाडोमा गौशालामा म करिव २०÷२१ दिन रोडमा बिताएको छु । त्यसपछि गौशालाको प्रहरी कार्यालयमा जुठो भाँडाकुँडा माझ्दै पनि समय विताएको छु । त्यसपछि तराईको हाम्रो घरमा चोरी भयो । त्यो चोरीले गर्दा मेरो बुबा पनि विरक्त हुनुभयो, त्यसपछि हाम्रो परिवार सबै काठमाडौंमा आएर बसोबास ग¥यौं । काठमाडौंको जीवन कठिनपूर्ण थियो, संगत गलत भयो । संगतकै कारण गाह्रो भयो । सानैदेखि राजनीतितिर चासो थियो ।

मेरो युवावस्था ः

काठमाडौं आएपछि राजनीतिमा झन सक्रिय भएँ र केहि समय राजनीतिका कारण जेलको जीवन पनि विताएको छु । यो कुरा २०४७ सालको हो, म पन्ध्र वर्षको मात्रै थिएँ, सेन्ट्रल जेलमा तीन महिना राजनीतिक जेल जीवन विताएको छु । जेलमा रहँदा गलत साथीहरूको संगत भयो । त्यसपछि मेरो आमा बुबाले कसैको पिटाई खाएर र प्रहरीको कस्डडीमा गएर पिटाई खाएर मर्नुभन्दा तँ यो देशबाट अर्को देशमा जा भनेर मलंगवाको सितामडी भारतको वोर्डरसम्म पु¥याएर गोजीमा केहि पैसा राखिदिएर तँ बाँचे पनि उतै बाँच्नु र मरे पनि उतै मर्नु तर फर्केर नआउनु भनि बुवा फर्कनुभयो । त्यसपछि विहार हुँदै कोलकत्ता पुगें । त्यहाँबाट नागपुर, महाराष्ट्र पुगें । महाराष्ट्रमा होटलमा वोउन्सरको काम पाएँ । त्यो समयमा मार्सल आर्टसमा रेडब्लो तैकान्डो गरिसकेथें । त्यहाँ काम गर्ने सिलसिलामा एकजना व्यक्तिले म त चर्च गएको थिएँ, त्यहाँ त नेपाली भेटें भन्यो । अनि मलाई नेपालीको मायाले चर्चसम्म पु¥यायो । पहिलो दिन चर्चमा जाँदा सबैले सारै माया गरे । राम्रो भाषा थिए, मिठो बोली थिए । अनि त्यो बोलीमा कता कता अर्कै माया थियो । अनि हरेक दिन जसो ती जवान भाई बहिनीहरूको मायाले दिनहुँ जसो चर्चमा पु¥यायो । चर्चमा जान थाले पछि त्यहाँको पास्टरले पढ्नु पर्छ भनि मलाई प्रेरणा दिनुभयो र एकदिन म चर्च गइन भने ती युवा भाई बहिनीहरू मलाई भेट्न आउनुहुन्थ्यो । तिनीहरूले गरेको प्रेम र तिनीहरूको जीवनलाई देखेर मैले येसुमा विश्वास गरें । तिनीहरू म जस्तै युवा थिए तरपनि उनीहरू म भन्दा फरक थिए । यो १९९५ को कुरा हो, जतिबेला म १८÷१९ वर्षको अल्लारे केटा थिएँ । मेरो पास्टरले उहाँको आफ्नो घरमा राखेर मलाई प्लस टु लेभलसम्म पढाउनुभयो । त्यसपछि उहाँले नै मलाई विटिएच गर्ने प्रेरणा दिनुभयो । विटिएच गरिसकेपछि म इन्डियामा अनुग्रह आराधना चर्चमा नै हिन्दी चर्चमा पास्टरसीप गरें । त्यस चर्चमा कानुनी रुपमा म फाउण्डर मेम्बर र पास्टर पनि हुँ । दिल्लीमा हुनुहुने सतिस क्षेत्रीले नेपालीहरूकै बिचमा सेवा गर्नुपर्छ भनि हौसला दिनुभयो । मनभित्रदेखि मलाई चाह बढ्यो र त्यहाँ नै नेपाली सेवा पनि सुरुवात ग¥यौं । बिहान हिन्दी सेवा हुन्थ्यो भने बेलुकी नेपाली सेवा हुन्थ्यो अहिले त्यहाँ नागपुरमा दुईवटा नेपाली सेवाको चर्च छ । एउटा मैले नै बप्तिस्मा दिएको भाईले त्यहाँ चलाउँदै हुनुहुन्छ भने अर्को मेरो पास्टरले नै हेर्नुहुन्छ ।

मलाई नेपाल फर्कने मन ः

मलाई लाग्यो अब म नेपाल फर्कनुपर्छ किनकि इन्डियामा सबै कुरा आत्मिक, शिक्षाको दृष्टिकोणले सक्षम छन् तर नेपालका पास्टर रोर्वट कार्थक र वर्णबास श्रेष्ठसँग सिलगुडीमा भेट भएपछि उहाँहरूले तपाई जस्तो मान्छे सेवकाइ गर्न यो नेपालकै डाँडाकाँडामा फर्केर आउनुपर्छ भनि प्रेरणा दिनुभयो । त्यो मेरो मन मस्तिष्कमा पुग्यो र त्यसपछि म सन् १९९९ को डिसेम्बर अन्तिमतिर नेपालमा फर्कें ।

म नेपाल आइसकेपछि ः

घरमा म एक्लो विश्वासी अरु कोही पनि हुनुहुन्थेन तर मेरो परिवर्तित जीवन देखेर परिवार सबैले विश्वास गर्नुभयो । ८२ वर्षको हजुरआमाले पनि विश्वास गर्नुभयो । मेरो सानी आमाको छोरा भाई ध्रुव कुमार परियार पनि अहिले पास्टर हुनुहुन्छ । उहाँलाई सुसमाचार सुनाउने क्रममा एकदिन उहाँ लगायत राजन, एकराज एउटै दौंतरी जस्तो भाईहरुसँग दयालु साबुन र मायालु साबुनको उदाहरण दिँदै मायालु साबुन प्रचार भएपनि राम्रो छैन तर दयालु साबुन प्रचार नभएपनि राम्रो छ भनि हिन्दु धर्मकै वकालत गर्ने भाई आज अनुग्रह विजय चर्च मुलपानीमा पास्टरीय सेवा गर्दै हुनुहुन्छ । मैले भन्दा अझ प्रभावकारी ढंगले काम गर्दै हुनुहुन्छ । अहिले मुलपानी र कपनमा गरी दुई ठाउँमा चर्च छ काभ्रेमा पनि संगति सुरु गरिएको छ भने बालगुह पनि सञ्चालन हुँदैछ । नेपाल आएर भोगेका कठिनाइहरूः नेपाल आएपछि नेपाल इसाई मण्डलीमा केहि समय संगति गएँ । त्यस्तैमा मेरो छिमेकमा बस्ने एक जना सानोभाईले एकदिन म कहाँ आएर भन्नुभयो, गुरुबा, हाम्रो सानो चर्च छ, त्यहाँ तपाईं आइदिनुप¥यो र वचन वाँडिदिनुप¥यो । सानोभाईले भनेको आधारमा नै वचन कसरी प्रचार गर्ने तर म संगतिमा चाहिँ आउँछु भनें र नेइम जोरपाटीमा संगति सकेर त्यो भाईले बोलाएको ठाउँमा गएँ, त्यहाँ चार जना बुढी आमाहरू, ६÷७ जना बच्चाहरू थिए भने एकजना पुरुष हुनुहुन्थ्यो । त्यहाँ सञ्चालन गर्ने वचन प्रचार गर्ने कोहि पनि व्यक्ति थिएन । म पुगेपछि ल उहाँ आउनुभएछ अब उहाँले नै वचन प्रचार गर्नुहुन्छ भनियो । संगति सकिएपछि म हिडें । फेरि अर्को हप्ता पनि त्यो भाई आयो र भन्यो म तपाईं जाने ठाउँमा पनि जान्छु र तपाईं पनि हाम्रोमा आउनु प¥यो । यसरी मलाई ती मानिसहरूको बिचमा सेवकाइ गर्ने प्रेरणा मिल्यो । पछि मेरो परिवारले पनि विश्वास गर्नुभएपछि हामी सबै त्यहाँ संगति गर्न थाल्यौं ।

त्यस्तैमा २०५९ सालमा जतिबेला देशमा संकटकाल थियो । एकदिन राती तीन ट्रक आर्मी आयो र मलाई घेरेर मसहित भाई ध्रुव, राजन लगायतलाई लिएर गयो । त्यहाँ लिएर गएपछि थाहा भयो कि हाम्रो संगतिमा एकजना माओवादी छापामार आउनुहुँदो रहेछ, उहाँलाई सेनाले पक्रिएपछि उहाँको डायरीमा फलानो व्यक्तिले सिकाएअनुसार हामीले काम ग¥यौंभने हामीले राज्यलाई कब्जा गर्न सक्छौं भन्दै आफ्नो धारणा लेख्नुभएको रहेछ । समातिसकेपछि हामीलाई मानसिक तनाब दिइयो । मैले के भनें भने मेरो नाम माओबादीसँग जोड्नुहुन्छ र न्यूज आउँछ भने मलाई मारिदिनुस् । म फलानो मानिस हो, राजनीतिक आस्थाले म माओबादी होइन । राजनीतिक आस्थाले म जुन पार्टीसँग छु, तपाईं त्यहाँ गएर बुझ्नुुस् । म बालबालिकाको बिचमा काम गर्छु र मेरो काम चर्च, समाजभित्र हो, तपाईंले गएर बुझ्नुहोस् भनें तर मलाई पचास घण्टा कालो पट्टीमा राखियो । जसले त्यो लेखेको थियो, त्यसलाई ल्याएर सोधियो, यो तेरो गुरु हो ? त्यसले भन्यो होइन तर उहाँले सिकाएको ठाउँमा बस्दा उहाँको कुरा सारै राम्रो लाग्यो । माथिका कुरा सबै उहाँले भनेको हो तर पछिल्लो राज्य कब्जा गर्ने कुरा मैले आफ्नो विवेकले लेखेको हो भनेर भनेपछि हामीलाई छाडिदियो ।

हाम्रो चर्चमा फेरि अर्को घटना पनि घट्यो, एकजना भाईलाई चर्चमा राखेका थियौं रेखदेख गर्नका लागि । त्यो भाईले एकजना उसको साथीलाई ल्याएछ । तिनीहरूको पैसाको लेनदेन रहेछ थाहा भएन र चर्चमा रेखदेख गर्न राखेको व्यक्तिले नै उसको साथीलाई मारेछ, जहाँ हामीले सेवा गथ्यौं त्यही कोठाभित्र । त्यस घटनाले म झन् कमजोर भएँ । छ महिना जस्तो त केसमा धाउनुप¥यो । त्यो भाईले एसेप्ट ग¥यो, यो घटना मबाट भएको हो भनेर तर सेवकाईमा गाह्रो भयो । कतिपय चर्चले त हामीलाई ज्यानमारा चर्चका लागि त प्रार्थना पनि गर्न हुँदैन, भेटघाट पनि गर्नुहुँदैन, अलग राख्नुपर्छ सम्म भनियो । त्यो कालखण्डमा धेरै दुःख भोगेको छु । प्रभुको अनुग्रह र मेरो परिश्रमले ती गाह्रा कठिनाईबाट मुक्ति पाएको छु । अहिले चर्च लोकल बेसले चलाएका छौं । हाम्रो चर्चमा कुनै पनि विदेशी लगानी छैन । हाम्रो मुभमेन्ट नेपाली पैसाले चर्च चल्नु पर्छ भन्ने हो ।

मेरो परिवार ः

१३ वर्षको उमेर हुँदा विवाह भएकी श्रीमती छिन् । दुई जना छोराहरू छन्, एउटा व्याचलर पढ्दै काम गर्छ, अर्को आठ कक्षामा पढ्दैछ । मेरो आमा हुनुहुन्छ । दुई भाई र एउटा बहिनी छ । संकटकालमा मेरो बुवा मिसप्लेस हुनुभयो । राजनीतिक कारणले नै हराउनुभएको हो, अहिलेसम्म भेटिनुभएको छैन ।

राजनीतिमा म ः

नेपाली कांग्रेसका काठमाडौं जिल्ला सदस्य, क्षेत्र नं. चारको युवा तथा खेलकुद विभागको प्रमुख, अन्य भातृसंगठनको केन्द्रिय सदस्य पनि छु । विभिन्न सरकारी निकायको विभिन्न तप्कामा बसेर काम गरेको छु र गरिरहेको छु । जसले राजनीति हाम्रो सरोकारको विषय होइन भन्छ भने त्यो परिवर्तन र विकासको विरोधी हो । परमेश्वरले यो नगर् नभन्नुभएसम्म म राजनीति गरिरहनेछु ।

म पास्टर भएर राजनीतिमा किनः

राजनीति मेरो पृष्ठभूमि हो । मैले राजनीति गर्दिन भनेर बसेंभने पनि मैले राजनीति गर्नैपर्छ किनकि मेरा टोल छिमेक लगायतकाहरू विभिन्न समस्या र गुनासा लिएर आउँछन् । ती समस्या समाधान गर्नका लागि चाहिँ म राजनीतिमा कुनै न कुनै एङ्गलबाट जोडिएको छु ।

म राष्ट्रिय ख्रिस्टियन महासंघमा किनः

महासंघको दोश्रो महाधिवेशन पछि उपमहासचिव तथा प्रवक्ता भएर दिलो ज्यानले काम गरिरहेको छु । महासंघ राष्ट्रिय, राजनीतिक र कानुनी रुपमा ख्रिस्टियनहरूको आवाज उठाउने एउटा महासंघको खाँचो थियो, त्यो हामीले पाएका छौं । यसकारण महासंघलाई दह्रो बनाउनुपर्छ भनेर म यसमा लागेको हुँ किनभने महासंघ दह्रो भयो भने नेपाली ख्रिस्ट्रियन समुदायको हक र अधिकार सुनिश्चित हुन्छ । सरकारले हामी ख्रिस्टियनहरूलाई तिमीहरूको राय के छ, देऊ भन्यो भने मान्यता पाएको र कानुनी रुपमा रहेको निकायलाई भन्ने हो, त्यो काम महासंघले गर्न सक्छ । तसर्थ महासंघको अहिलेको नेतृत्व जो छ, एकदमै प्रशंसनीय छ । महासंघलाई अहिले हक र अधिकारका लागि सरकारसँग लविङ्ग गर्न सक्ने नेतृत्वको खाँचो पर्दछ, त्यो सि.वि गहतराजले गर्न सक्नुहुन्छ । टिम पनि सारै राम्रो छ । अहिले हामी कार्यदल बनाउन लागि परेका छौं, कार्यदल बनिसकेपछि चर्चको सुचाङ्कन हुन्छ । कार्यदल बनिसके पछि धार्मिक गुठीको अन्तिम चरणमा हामी पुग्छौं र त्यसले ख्रिस्टमसको सार्वजनिक विदालाई टुंग्याउँछ । सरकारको आधिकारिक एउटा काम गर्ने कार्यदल बनेको छ, जुन महासंघको अन्डरमा बसेर बनेको छ, भोलि चर्चहरू तथा अन्य ख्रिस्टियन समुदायसँग सरोकार राख्ने विषयहरू महासंघसँग आवद्ध भएका चर्चलाई मात्र मान्यता दिन सक्छ । किनभने राज्यलाई एउटा आधिकारिक बडी चाहिएको छ, त्यो भनेको महासंघ नै हो ।

म अन्य कार्य पनि गर्छुः

केहि समय पत्रकारितामा पनि काम गरें । मेरो मेजर काम भनेको बालबालिका, चर्च, सुसमाचारका प्रचारका पर्चाहरू छाप्ने र फ्रिमा वितरण गर्ने हो । शिष्य आश्रममा पनि छु । त्यो टिममार्फत नै यो अभियान चलाएका छौं । कृषिमा कार्यरत छु किनभने परमेश्वरले सबै थोक बनाउनुभएपछि मानिसलाई बनाउनुभएपछि तैंले यो भूमिको रक्षा गर् भन्नुभयो ।

मेरो विचारमा वर्तमान समयमा चर्च र युवाः

चर्चको जिम्मेवारी हो, युवाहरूलाई डाइभर्ट गर्ने । यहाँ रहेका चर्चमा मानिसहरू ७० प्रतिशत जति कृषि पेशामा आवद्ध छन् । कृषिसँग आवद्ध भएका विश्वासीहरूलाई एउटा कृषि कार्यक्रम नै छैन । अनि हाम्रा युवा भाई बहिनीलाई बाइबल कलेज बेरोजगार भएपछि कि त बिग्रिएपछि पठाइन्छ । चर्चभित्र तीन किसिमका मानिस छन् । पहिलो अति नै विद्धान र सक्षम, यी मानिसहरू आइएनजीओ र एनजिओमा कार्यरत छन् । उनीहरूसँग चर्चको लागि समय छैन, युवावर्गलाई सिकाउने समय छैन । अर्को एउटा वर्ग छ, उ अलिअलि पढेको छ, सबै कुरामा ठिकैठिकै छ, चान्स पायो भने अमेरिका, जापान, कोरिया जस्ता मुलुकमा जाने सकिएन भने खाडी मुलुकमा जाने । तेस्रो यस्तो वर्ग छ, पढाई, व्यवसायमा कमजोर छ तर यी मानिसले चर्च धानेर बसेका छन् । यसकारण यहाँका युवाहरुलाई नेपालमै केहि गर्न सकिन्छ भन्ने प्याकेज चर्चले ल्याउन सक्नुपर्छ । अब हामीले देशकै श्रोत खोजेर चर्चलाई सक्षम बनाएर चलाउनुपर्छ । त्यसका लागि युवाहरूलाई परिचालन गर्नु पर्दछ ।

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
वजिन्दर सिंह नेपाल आउने : १ लाख मानिसहरुकाे उपस्थितिमा विशाल जागृती तथा चंगाइ सभा हुने
वजिन्दर सिंह नेपाल आउने : १ लाख मानिसहरुकाे उपस्थितिमा विशाल जागृती तथा चंगाइ सभा हुने
जीवन पछि जीवन – सम्पादकीय
जीवन पछि जीवन – सम्पादकीय
ख्रीष्टियानहरुले विश्वास गर्ने  मुख्य 14 कुराहरु
ख्रीष्टियानहरुले विश्वास गर्ने मुख्य 14 कुराहरु
निजि गुठि के हो : अर्थ व्याख्या र उपयोगिता
निजि गुठि के हो : अर्थ व्याख्या र उपयोगिता
प्रेम दयाल प्रधान एक रणनीतिक व्यक्तित्व
प्रेम दयाल प्रधान एक रणनीतिक व्यक्तित्व
इकानको भावी कार्ययोजना : ख्रीष्टियन विश्वविद्यालयको स्थापना र सातै प्रदेशमा सम्मेलन भवन निर्माण गर्ने
इकानको भावी कार्ययोजना : ख्रीष्टियन विश्वविद्यालयको स्थापना र सातै प्रदेशमा सम्मेलन भवन निर्माण गर्ने
नेपालको पहिलो मण्डली : रामघाट चर्च
नेपालको पहिलो मण्डली : रामघाट चर्च
नेपालगन्जमा प्रि ख्रिस्टमस कार्यक्रम सम्पन्न
नेपालगन्जमा प्रि ख्रिस्टमस कार्यक्रम सम्पन्न
भुटानी शरणार्थीको जीवनमा आधारित चलचित्र ‘सम्हालिएको जाती’ चाँडै दर्शकमाझ आउँदै
भुटानी शरणार्थीको जीवनमा आधारित चलचित्र ‘सम्हालिएको जाती’ चाँडै दर्शकमाझ आउँदै
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम