single page header banner

परमेश्वरको इच्छा पूरा हुँदा मानिसहरूको जीवन निर्माण हुन्छ…

admin admin
शनिबार, आश्विन 18, 2079
Social buttons loaded
समाचार सारांश
  • युवाकेन्द्रित कुराकानी पास्टर राजु सुन्दाससँग ।
  • नेपालको ख्रीष्टियन समुदायमा युवापुस्ताका बिचमा सुपरिचित पास्टर अर्थात परमेश्वरको सेवामा समर्पित पास्टर राजु सुन्दास होसन्ना चर्च,  काठमाण्डौंमा पास्टरीय सेवामा समर्पित हुनुहुन्छ ।

युवाकेन्द्रित कुराकानी पास्टर राजु सुन्दाससँग ।

नेपालको ख्रीष्टियन समुदायमा युवापुस्ताका बिचमा सुपरिचित पास्टर अर्थात परमेश्वरको सेवामा समर्पित पास्टर राजु सुन्दास होसन्ना चर्च,  काठमाण्डौंमा पास्टरीय सेवामा समर्पित हुनुहुन्छ । पास्टर राजु सुन्दास पछिल्लो समयमा अधिक छिटो मण्डलीमा विश्वासीको संख्यात्मक बृद्धि भएको मण्डलीको पास्टर मात्र नभई आत्मिक क्षेत्रमा पनि उत्तिकै पोख्त गराउन सफल एक सेवकको रुपमा चिनिनुहुन्छ । उहाँले विगत समयदेखि होसन्ना चर्च लगायत अन्य विभिन्न क्षेत्रमा पनि उत्तिकै सक्रिय भई योगदान दिनुभएको छ । पछिल्लो समय धेरैको आर्दश व्यक्तित्व बनाउन सफल परमेश्वरको दास पास्टर राजु सुन्दाससँग गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

तपाईंको युवावस्थाका बारेमा बताइदिनुहोस् न ?

मेरो युवावस्थाको बारेमा एक वाक्यमा भन्नुपर्दा धेरै संघर्षका साथ ब्यथित गर्नुपर्यो । ती सबै संघर्षको बिचमा पनि परमेश्वरको अनुग्रह र प्रेमको कारण सामना गर्नको लागि सामथ्र्य प्राप्त भयो ।

तपाईंका युवावस्थाका चाहना वा परिकल्पना के के थिए ?

सबैको चाहना एवं परिकल्पना ठूला ठूला हुन्छन् । मेरो हृदयदेखिको चाहना भनेको परमेश्वरको सेवा गर्नुथियो । सबै किसिमका चुनौतीका बिच काम गर्दै गएँ र आज आएर पनि परमेश्वरको सेवा गरिराखेको छु ।

युवावस्थाका परिकल्पना पुरा भएको जस्तो लाग्छ ?

मेरो इच्छा र परिकल्पनाहरू पूरा भए वा भएनन् भन्ने कुराभन्दा पनि परमेश्वरको इच्छा र परिकल्पना पूरा भयो कि भएन भन्ने कुरा चाहिँ मेरो लागि महत्वपूर्ण छ । मेरो इच्छा वा परिकल्पना भनेको स्वार्थी हुन सक्छन् तर परमेश्वरको इच्छा पूरा हुँदा मानिसहरूको जीवन निर्माण हुन्छ ।

प्रभु येशुलाई कसरी पाउनुभयो ?

आजभन्दा तीस वर्ष अगाडि मेरो बुबाको साथीबाट प्रभु येशुलाई चिन्ने मौका पाएँ । प्रभु पाउनुको मुख्य कारण भनेको हाम्रो परिवारमा आएको ईश्वरीय चंगाई नै हो ।

तपाईंको विवाह लभ या एरेञ्ज कुन विवाह भएको हो र कसरी सम्भव भयो ? 

मेरो विवाह दुबै हो । अलिकति लभ अनि अलिकति एरेञ्ज अर्थात पहिले लभ अनि पछि एरेञ्ज । हाम्रो प्रेमको बारेमा हाम्रा अभिभावक एवं मण्डलीका अगुवाहरूलाई बतायौं र उहाँहरूले हाम्रो परमेश्वर र एक अर्काप्रतिको सम्मानता देखेर साथ दिनुभयो, जसले गर्दा यो सम्भव भयो ।

तपाईंको आफ्नो परिभाषामा युवा भनेका को हुन् ?

युवा भनेका जुनसुकै क्षेत्रका पनि बलिया धरोहर हुन् अर्थात आजको समाजका निर्माता हुन् ।

वर्तमान युवाहरूलाई कसरी मुल्याङ्कन गर्नुहुन्छ ?

समयसँगसँगै मानिसहरूको सोच्ने तरिका र व्यवहार परिवर्तन हुन्छ । अहिलेका युवाहरूको सोच्ने तरिका धेरै फरक छ । उनीहरू बढीजसो आत्मसम्मान गर्ने खालका हुन्छन् । अहिलेका युवाहरू क्रान्तिकारी र परिवर्तनशिल छन् । अहिलेका युवाहरूमा मपाईं धेरै भएको देखिन्छ । आफ्नो निर्णयलाई नै सत्य मानिनुपर्छ भन्ने सोच छ । वर्तमान युवाहरूलाई नियाल्दा उनीहरूमा सिक्न सक्ने क्षमता बढी देखेको छु । अहिलेका युवाहरूमा भेदभावको भावना नभएको देखिन्छ । छोराछोरी दुवैलाई समान मौका र अवसर दिनुपर्छ भन्ने उनीहरूको मान्यता छ । त्यससँगसँगै अहिलेका युवाहरू भावनामा चाँडै बहकी हाल्ने खालका हुन्छन् । आमा बुबाको कुरामा भन्दा साथीभाइको कुरा सुन्ने र उनीहरूकै कुरा विश्वास गर्ने स्वभाव उनीहरूमा पाइन्छ । उनीहरूमा सिक्न सक्ने क्षमता बढी भएको कारण र केही गर्न सक्छौं भन्ने आत्मविश्वास भएको कारण आज धेरै युवाहरूले धेरै नयाँ कुराको आविष्कार गर्न सफल भएका छन् र समाज, राष्ट्र र विश्वमा ठूलो योगदान पुर्याएका छन् ।

युवाहरूको आफू सक्षम भएपनि मौका नपाएको गुनासो सुनिन्छ, तपाईंको मण्डलीमा युवाहरूले कस्तो खालका मौका पाएका छन् ?

मौका पाउने वा नपाउने कुरा युवाहरूको सक्षमतामा होइन तर विश्वासयोग्यतामा भर पर्दछ । युवाहरूले गुनासो प्रकट गर्नु स्वभाविक कुरा हो । गुनासोको सट्टा विश्वासयोग्यता प्रकट गरे भविष्यमा उनीहरूले ठूला ठूला काम गर्न सक्छन् । हाम्रो मण्डलीमा युवाहरूले सबै किसिमको मौका पाएका छन् । युवाहरू नै मण्डलीको भविष्य भएकाले समयमा नै उनीहरूको बोलावट अनुसार जिम्मेवारी दिनु बुद्धिमत्ता हुनेछ । हाम्रो मण्डलीमा अधिकांश सदस्यहरू युवाहरू नै छन् र उनीहरूकै अथक परिश्रम र विश्वासयोग्यताबाट यो मण्डली यहाँसम्म आइपुगेको छ ।

देश, समाज र ख्रीष्टिय मण्डली निर्माणमा युवाहरूले कस्तो भूमिका खेल्न सक्लान् ?

आजको यो एक्काइसौं शताब्दीलाई हेर्ने हो भने युवावर्ग भनेको आजको देश निर्माण कार्य तथा देश, समाज र ख्रीष्टिय मण्डलीलाई रुपान्तरण गर्ने जोस, जाँगर र नयाँ सोचलाई देश, समाज तथा मण्डलीका लागि महत्वपूर्ण अंगको रुपमा लिइन्छ । युवाहरूले देश, समाज र ख्रीष्टिय मण्डलीप्रति सकारात्मक सोच बनाउनु पर्दछ । आ–आफ्नो क्षेत्रबाट आधुनिक सोचका साथ स्वयमसेवकका रुपमा योगदान दिएर निर्माण कार्य गर्न सक्दछन् । देश, समाज र ख्रीष्टिय मण्डली निर्माण गर्नका लागि आफूमा भएको वरदानको प्रयोग गर्नुपर्दछ । आशाबादी भएर देशका लागि कर्मठ, निष्ठाका रुपमा नागरिक समाजका लागि प्रगतिका लागि समर्पित युवा र मण्डलीका लागि प्रगतिशिल एवं विश्वासयोग्य सदस्य भएर युवाले समाज निर्माणमा योगदान पुर्याउन सक्दछन् ।

अन्त्यमा के भन्न चाहनुहुन्छ ?

आजको समाजमा युवा माग नभएर सिङ्गो विश्व नै उनीहरूको हातमा छ । यदि युवाहरूले चाहेको खण्डमा विश्व नै उथलपुथल पार्न सक्ने क्षमता उनीहरूमा छ । यहि क्षमतालाई सहि ढंगले सञ्चालन गरी समाजमा सकारात्मक सोचको विकास गरी अगाडि बढ्न, काम कर्तब्यप्रति जिम्मेवार हुन, आत्मिक जीवनमा अग्रसर हुन नयाँ जोस, नयाँ उमंगका साथ कार्यहरू सृजनात्मक शैलीमा सम्पन्न गर्न सल्लाह दिन्छु ।

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम