single page header banner

मेरो बलले र शरीरले साथ दिएसम्म परमप्रभुको नै सेवा गर्नेछु – वरिष्ठ पास्टर अब्दियल मुखिया

admin admin
शनिबार, आश्विन 18, 2079
Social buttons loaded
समाचार सारांश
  • वरिष्ठ पास्टर अब्दियल मुखिया, चेला संगति, हरिसिद्धी, ललितपुर जन्म र बाल्यकालः मेरो जन्म भारतको दार्जिलिङ नजिकै खर्साङमा सन् १९३६ मा भएको हो ।
  • म ख्रीष्टियन परिवारमा जन्में र हुर्के ।

वरिष्ठ पास्टर अब्दियल मुखिया, चेला संगति, हरिसिद्धी, ललितपुर

जन्म र बाल्यकालः

मेरो जन्म भारतको दार्जिलिङ नजिकै खर्साङमा सन् १९३६ मा भएको हो । म ख्रीष्टियन परिवारमा जन्में र हुर्के । मेरो बाजे र काका पास्टर हुनुहुन्थ्यो । म १० वर्षको हुँदा मेरो आमाको मृत्यु भयो । त्यसपछि मेरो दिदी कलकतामा बस्नुहुन्थ्यो । दिदीसँग बसेर मेरो अध्ययनको क्रम पनि त्यही नै भयो ।

युवावस्थाः

मेरो युवावस्था भारतको कलकतामा पढाईकै सिलसिलामा हुँदा शुरु भयो र बाँकी जीवन नेपालमा नै आएर बिताएँ । मैले मेरो पढाई सकाएपछि सन् १९६६ मा नेपाल आएँ र करीब नौं वर्ष जति पर्यटन क्षेत्रमा काम गरें र यति ट्राभल्स् दरबारमार्गमा पर्यटन सेवा तथा टुर एक्जिकुटिमको रुपमा काम गर्दै आएको थिएँ । त्यस बेलासम्म म विश्वासी भएपनि पूर्णरुपले विश्वासीको जीवन जिउन सकिरहेको थिइन । त्यसको केही समयपछि एक असल ख्रीष्टियन विदेशी दम्पत्तिसँग मेरो भेट भयो । जो बप फोस्टर र उहाँको सेवकाइ चाहिँ चेला बनाउने थियो । त्यो समय नेपालमा ख्रीष्टियनहरू थोरै थिए । पहिलो पटक मलाई ख्रीष्टियन भेट्टाउँदा उहाँ धेरै खुशी हुनुभयो । पछि ३५ वर्षको  हुँदा जब परमेश्वर मसँग बोल्नुभयो, त्यसपछि उहाँमा विश्वास लाग्यो र मैले भित्री हृदयदेखि प्रभु येशु ख्रीष्टलाई ग्रहण गरें ।

मेरो लभ अफेर्यस र विवाहः

म भारतबाट नेपालमा काम गर्न भनि आएको थिएँ । काठमाडौंमा आएपछि यतै बस्ने आफ्नै साथीको बहिनीलाई मन पराएको थिएँ । त्यतिबेला अहिले जस्तो मोवाइल, फोन जस्ता सञ्चारका साधन थिएन । मलाई उनी मन परेपछि चिठ्ठी लेखेर एक जना सानो बालकमार्फत पठाएको थिएँ, त्यताबाट पनि सकारात्मक जवाफ पाएँ । म त धेरै खुशी भएँ । हामी भेट्थ्यौं तर अहिलेका केटाकेटी जस्तो टाँसिएर कहाँ बस्थ्यौं र ! टाढा टाढा तर कुरा नै गर्न नपाएपनि देखेपछि हामीलाई यति खुशी लाग्थ्यो कि त्यसको बर्णन नै गर्न सकिन्न । वास्तवमा मैले आफूलाई मन परेको हाल मेरी श्रीमतीलाई भगाएर विवाह गरेको हुँ ।

भुल्न नसकिने जीवनका क्षणः

बप फोस्टरले मलाई त्यो सेवकाइमा तालिमको लागि अमेरिका जान निम्तो दिनुभयो । करीब २ वर्षपछि अमेरिकाको कोलो¥याडो स्प्रिङ्ग, जहाँ उहाँहरूको र्यान्च थियो र मलाई त्यही ठाउँमा तालिम र काम दिने भनेर नियुक्ति गरिदिनुभयो । त्यस तालिमको अवधिमा उहाँहरूले मलाई विभिन्न स्टेट्हरूमा भएका कार्यक्रमहरूमा जाने अवसरहरू दिनुभयो । म त्यो समयमा विभिन्न परिवार, मण्डली र समुहहरूमा गएर सेवकाइ गर्ने मौका पाएँ । यसै क्रममा यस्तो परिवारसँग मेरो भेट भयो । जसले मेरो पारिवारिक जीवन आय स्रोत के कस्तो र त्यहाँबाट फर्केपछि के गर्ने योजना लगायतका जानकारी लियो । साथै मेरो गाडी, घर, जग्गा र बैंक ब्यालेन्स लगायतका कुरा सोधपुछ ग¥यो । मेरो यर्थाथ कुरा बताइदिएँ कि नेपालमा मेरो केहि पनि छैन र नेपाल फर्केपछि पनि सबै कुरा परमेश्वर कै इच्छामा राखेको छु । उसले मलाई सोध्यो, “नेपालमा एउटा घर किन्न वा बनाउन कति लाग्छ ?” यसका सम्बन्धमा मैले सोच्दै नसोचेको भएर ठीक जवाफ दिन सकिन र मैले भनें, “मलाई थाहा छैन ।” तर पनि उसले सोध्यो, “अन्दाजमा कति लाग्ला ?” सायद ५/७ हजार डलर लाग्ला भनि मैले जवाफ दिएँ ।

भोलिपल्ट बिहान खाजा खाने समयमा अमेरिकन डलर ५ हजार लिएर मलाई दिनुभयो र भन्नुभयो, “यो तिम्रो घर बनाउनको लागि हो ।” अनि मैले त्यो पैसा पाएपछि के गर्ने ? पैसा मेरै अगाडि छ । त्यस पैसालाई मैले एकैचोटी ग्रहण गर्न सकिन । म यस पैसाको लागि आएको होइन । मैले उसलाई भनें, “जुन व्यक्तिले मलाई यहाँ ल्याउनुभयो, एक पटक पहिला उहाँलाई सोध्छु र उहाँले जे भन्नुहुन्छ त्यही नै गर्नेछु ।” उसलाई मैले आफैले र सिधै इन्कार गर्दा उसको चित्त दुःख्ला भनि मैले सोचें । मलाई जसले अमेरिकामा लग्नु भएको थियो, उहाँले मलाई एउटा शर्त राख्नुभएको थियो, “पैसा कमाउन वा पैसाको लागि कुनै सम्झौता नगर्ने ।” जसले गर्दा मैले पहिला उहाँसँग अनुमति माग्नुपर्छ र त्यसपछि उहाँले जे भन्नुहुन्छ म त्यही गर्नेछु ।

मैले बप फोस्टरलाई यो जानकारी दिएँ । उहाँले मलाई जुन पहिला गरेको त्यो शर्तलाई सम्झाइदिनुभयो । मैले त्यस शर्तलाई नकार्न सकिन र मैले त्यो पैसा लिन इन्कार गरें । मलाई पैसा दिने त्यो मानिस पनि छक्क प¥यो । यसरी म अमेरिका जाँदा जस्तो गएको थिएँ, फर्कदा पनि त्यस्तै नै फर्केंँ । तर म परमेश्वरलाई धन्यवाद दिन चाहन्छु कि मैले पैसा भन्दा बहुमुल्य परमेश्वरको ज्ञान लिएर फर्केको थिएँ ।

सेवकाइको अनुभव:

शुरुमा सेवकाइ गर्दा मलाई गाह्रो भयो । त्यो समयमा धेरै विश्वासी थिएन, र भएकाहरू पनि चेला बनाउने प्रक्रियामा कोही पनि लागि परेका थिएनन् । नेपालमा आएपछि मैले जुन आफुले पाएको शिक्षाहरू मण्डलीमा भएका विश्वासी र जवानहरूको बीचमा सिकाउन र बाँड्न मण्डलीमा अनुमति मागें, तर मण्डलीले स्वीकृति दिएन । जसले गर्दा मैले अर्को सेवकाइ शुरु गरें । मैले ड्रग सेवन गर्ने र कुलतमा फसेका युवाहरूको बीचमा सेवकाइ गर्न थालें । तिनीहरूले परमेश्वरलाई ग्रहण गरे साथै बप्तिस्मा पनि लिए । जसको फलस्वरुप तिनीहरू मध्ये अहिले कतिपय पास्टरीय सेवामा पनि छन् । त्यसपछि मलाई बप फोस्टरले टीम नेपाल मार्फत सेवकाइ गर्ने पोन न्युगेटरको एक सेवकसित परिचित गराउनुभयो । त्यसपछि म काठमाडौंको मुक्ति मण्डली स्यम्भुमा सेवकाइ गर्न थालें । त्यहाँ हामीहरूलाई परमेश्वरले धेरै आशिष दिनुभयो तर पछि त्यहाँ पनि केही समस्याहरू आए ।

एक बिहान म काममा जानको लागि तयारी हुँदै थिएँ । त्यसै समयमा एक मधुरो आवाजमा मलाई “अब्दियल” भनेका आवाज सुनें । मैले मेरो वरिपरि यसो हेरें तर कोही पनि थिएन । फेरि पनि त्यस्तै आवाज आयो । फेरि पनि त्यो आवाजको प्रतिक्षामा बसें । अर्को पटक पनि पहिला झैं आवाज आयो, “अब्दियल” तेस्रो पटक चाहिँ मैले भनें, ‘हजुर ! परमेश्वरले मलाई भन्नुभयो, “अहिलेसम्म मैले तेरो इच्छामा छोडेको थिएँ, तर अबको जीवन र समय चाहिँ मेरो निम्ति तैले दिनुपर्छ, म तेरो साथमा हुनेछु ।” त्यसपछि मलाई एकदमै रुन मन लाग्यो, म रोएँ । अनि मैले सम्झें, “म जस्तो मान्छेसँग पनि परमेश्वर बोल्नुभयो ।” त्यसपछि मैले कपडा खोलेर भान्सा कोठामा खाना बनाइरहेकी मेरी श्रीमती कहाँ गएर भनें, “म अब काम गर्दिन, परमेश्वर मसँग बोल्नुभयो ।” उनी पनि छक्क परिन् । मैले परमेश्वरको बोलावटलाई महशुस गरें । उहाँमाथि विश्वास गरें र पूरा उहाँको सेवकाइमा लागें । त्यसपछि टुरिजमको काम छाडेर अमेरिकामा तालिम लिएको चेला बनाउने सेवकाइमा लागें । जुन स्वयम्भुको मुक्ति मण्डली थियो । तर मुक्ति मण्डलीमा सहकार्य गरी सेवकाइ गर्दा मलाई गाह्रो भयो । म त्यहाँबाट निस्कन बाध्य भएँ र निस्कें पनि । मलाई आराधना मण्डलीका पास्टर हनोक तामाङले १९८० मा पाष्टर अभिषेक गरिदिनुभयो । त्यसपछि साथी जोनाथन सुनुवारसँग मिलेर संगति शुरु ग¥यौं । त्यही संगति नै आज चेला संगति हो ।

जसरी येशुले मत्ती २८ः१९–२० मा चेलाहरूलाई पठाउनु भयो । त्यसरी नै पहिला चेला बनाउने र पठाउने काम चेला संगतिले गर्दछ । चेला संगतिले शाखा मण्डली होइन, चेला बनाउने र पठाउने काममा विश्वास गर्छ । प्रभु येशुले १२ जना चेलाहरूलाई राम्ररी सिकाएर चेला बनाउनु भयो र संसारभरि सुसमाचार सुनाउनेहरू तिनीहरू नै भए । मलाई पनि परमेश्वरले दिनुभएको दर्शन चेला बनाउने हो । म अहिले इन्टरनेट र कोही विदेशीसँग पनि सम्पर्कमा छैन । मेरो मण्डली र सेवकाइको लागि सहयोग मागेको छैन । मैले विश्वास गरेको परमेश्वरले मलाई धेरै आशिष दिनु भएको छ । म त्यसैमा सन्तुष्ट छु । मैले मुस्लिम समुदाय र जेलमा पनि सेवकाइ गरिरहेको छु । अहिले मलाई कुनै पनि मण्डली उद्घाटन, विवाह, बाल अर्पण, पास्टर, एल्डर र डिकनको अभिषेक कार्यक्रममा बोलाउनुहुन्छ, म गएर अभिषेक गरी परमेश्वरसँग प्रार्थना गरिदिन्छु । अथितिको रुपमा सम्मान गर्छन्, यो नै परमेश्वरको ठूलो आत्मिक आशिष हो ।

बाँकी जीवनः

मैले रुपैयाँ पैसा कहिल्यै पनि मागेको छैन तर स्वर्गीय ज्ञान, बुद्धि माग्छु । मेरी श्रीमती र मेरो बिहान र बेलुकीको प्रार्थना नै यही हुन्छ । राम्ररी नै हिडडुल गर्न र सेवा संगतिमा जान सक्छु । मेरो बलले र शरीरले साथ दिएसम्म परमप्रभुको नै सेवा गर्नेछु । जुन समयबाट परमेश्वर मसँग बोल्नुभयो त्यस समयदेखि म निरन्तर उहाँको नै सेवकाइमा लागि रहेको छु र प्रशस्त मात्रामा आशिष पाइरहेको छु । मैले विश्वास गरेको परमेश्वर जो प्रभु येशु ख्रीष्ट हुनुहुन्छ, उहाँलाई धन्यवाद होस् ।

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम