single page header banner

असल इच्छा, सही मार्गदर्शन र परमेश्वरको इच्छा (१ इतिहास १७:१–१५)

admin_news admin_news
मंगलबार, आश्विन 9, 2083
Social buttons loaded
समाचार सारांश
  • डा.
  • शिवहरि भट्टराई मुख्य पद:“त्यही राति परमेश्वरको वचन नातानकहाँ आयो…” (१ इतिहास १७:३) १ इतिहास १७:१–१५ मा राजा दाउदको एउटा असल इच्छा, अगमवक्ता नातानको प्रारम्भिक मानवीय प्रतिक्रिया, र अन्ततः परमेश्वरको सर्वोच्च इच्छाको प्रकटिकरण देखिन्छ।
  • डा. शिवहरि भट्टराई

मुख्य पद:
“त्यही राति परमेश्वरको वचन नातानकहाँ आयो…” (१ इतिहास १७:३)

१ इतिहास १७:१–१५ मा राजा दाउदको एउटा असल इच्छा, अगमवक्ता नातानको प्रारम्भिक मानवीय प्रतिक्रिया, र अन्ततः परमेश्वरको सर्वोच्च इच्छाको प्रकटिकरण देखिन्छ। दाउदले परमेश्वरको निम्ति मन्दिर बनाउने पवित्र इच्छा राखे, नातानले तुरुन्त समर्थन गरे, तर पछि परमेश्वरले फरक योजना प्रकट गर्नुभयो “तिमीले होइन, तिम्रो सन्तानले मेरो घर बनाउनेछ।” यो खण्डले परमेश्वरको योजना मानिसको असल इच्छा भन्दा पनि उच्च हुन्छ भन्ने शिक्षा दिन्छ ।

भूमिका

आज नेपालको मण्डलीको सन्दर्भमा हेर्दा, धेरै असल योजना, सेवाकार्य, संस्था, भवन, नेतृत्व, चुनाव, कार्यक्रम, जागरण र सेवाको इच्छा त छ; तर एउटा गम्भीर प्रश्न उठिरहेको छ । के हामी परमेश्वरको इच्छा अनुसार अघि बढिरहेका छौँ, कि आफ्नै राम्रो लागेका योजनालाई परमेश्वरको नाममा अघि बढाइरहेका छौँ ? दाउद खराब व्यक्ति थिएनन् । उनको इच्छा पनि खराब थिएन । तर असल इच्छा हुनु र परमेश्वरको इच्छा हुनु एउटै कुरा चाँहिँ अवश्य होइन।

१. दाउदको जस्तो असल इच्छा मण्डलीमा हुनुपर्छ (पद १–२)

दाउद महलमा थिए, तर परमेश्वरको करारको सन्दूक पालमा थियो । त्यसले उनको हृदय छोयो । यहाँ दाउदको मनोभाव हेर्नुहोस् — “म आराममा छु, तर परमेश्वरको काम अझ व्यवस्थित भएको छैन । ” आज नेपालका धेरै मण्डलीहरुमा समस्या के छ ? हामी आफ्नो घर, व्यवसाय, भविष्यमा धेरै लगानी गर्छौं तर मण्डली, मिशन, प्रचार, नयाँ पुस्ता, बाइबल शिक्षा, प्रार्थना र जीवनमा कम चासो दिन्छौं । हामीलाई दाउदको जस्तो हृदय आज चाहिन्छ । “प्रभुको काम अघि बढोस्” भन्ने चिन्ता हुनुपर्छ ।

नेपालको मण्डलीका लागि शिक्षा:

केवल आफ्नै परिवार मात्रै होइन, मण्डलीको भविष्य पनि सोचौं । मण्डलि भवनभन्दा पनि परमेश्वरको राज्यको चिन्ता गरौं परमेश्वरको सेवामा बलिदान दिने मन राखौं । तर एउटा खतरा यहाँ पनि छ त्यो हो : कहिलेकाहीँ असल इच्छा मात्रै पर्याप्त हुँदैन।

२. नातानको गल्ती: आत्मिक अगुवाले पनि कहिलेकाहीँ मानवीय निर्णय गर्न सक्छन् (पद २–५)

नातानले थप सुझबुझ , समझ परमेश्वरको अगुवाइ विनै तुरुन्त भने “तपाईंको मनमा जे छ, त्यही गर्नुहोस्।” तर त्यही राति परमेश्वरले नातानलाई भन्नुभयो “होइन, त्यो मेरो योजना होइन।” यसले एउटा ठूलो सत्य सिकाउँछ : आत्मिक अगुवाले बोलेको हरेक कुरा स्वतः परमेश्वरको इच्छा नहुन सक्छ। उक्त कुरा परमेश्वरको वचनद्वारा जाँचिनुपर्छ।

आज नेपालको मण्डलीमा पनि कहिलेकाहीँ : भावनामा निर्णय हुन्छ समूहको दबाबमा निर्णय हुन्छ मानिस खुसी पार्न निर्णय हुन्छ प्रार्थनाविनाको नेतृत्व हुन्छ कहिलेकाहीँ अगुवाले पनि छिटो निष्कर्ष निकाल्छन् ।

मण्डलीका लागि चेतावनी: लोकप्रिय निर्णय सधैं परमेश्वरको निर्णय हुँदैन । मण्डलीले सोध्न सिक्नुपर्छ : “यो साँच्चै परमेश्वरको इच्छा हो कि केवल राम्रो र हाम्रो विचार मात्रै हो ?”

३. परमेश्वरको इच्छा मानिसको योजनाभन्दा ठूलो हुन्छ (पद ६–१०)

परमेश्वरले दाउदलाई भन्नुभयो “तिमीले मेरो घर बनाउँछौ भन्ठानेका छौ होला, तर म तिमीलाई तिम्रो घर बनाइदिन्छु।” यहाँ “घर” भन्नाले वंश, राज्य र प्रतिज्ञा बुझिन्छ। परमेश्वरले दाउदलाई सम्झाउनुभयो “मैले तिमीलाई गोठालोबाट राजा बनाएँ।” यसको अर्थ: परमेश्वरलाई हामीले सेवा गर्नु भन्दा पहिले उहाँले हामीमाथि गर्नुभएको कृपा सम्झनुपर्छ ।

आज नेपालको मण्डलीमा पनि : कहिलेकाहीँ हामी भन्छौं — “मैले चर्च बनाएको” “यो सेवा मैले चलाएको” “यो संस्था मेरो योगदानले भएको”
तर परमेश्वर भन्नुहुन्छ — “तिमीलाई यहाँसम्म ल्याएको परमप्रभु परमेश्वर म हुँ।” आत्मिक शिक्षा: सेवा अधिकार होइन, परमेश्वरको अनुग्रह हो।

४. सबै असल काम सबैले गर्न पाउँदैनन् (पद ११–१४)

दाउदले मन्दिर बनाउन चाहन्थे । परमेश्वरले भन्नुभयो “तिमीले होइन, तिम्रो छोरोले।” यो दाउदको परमेश्वरको लागि मन्दिर बनाउने इच्छाशक्तिको अस्वीकृति थिएन, भूमिकाको पुनर्निर्धारण थियो । नेपालको मण्डलीमा एउटा ठूलो समस्या छ । “सबै काम मैले नै गर्नुपर्छ” भन्ने भावना लुकेको छ। यसले : नेतृत्वमा द्वन्द्व ल्याउँछ, पुस्ता हस्तान्तरण रोक्छ वा ढिलो गराउछ, युवा नेतृत्वलाई दबाइन्छ, मण्डली विभाजन हुन्छ वा गरिन्छ । दाउदले परमेश्वरको “होइन” लाई विद्रोह गरेनन् तर सहर्ष स्विकार गरे ।

शिक्षा: कहिलेकाहीँ परमेश्वर भन्नुहुन्छ । “अहिले होइन” “तिमी होइन” “अर्को पुस्ता” “अर्को व्यक्ति” परिपक्व मण्डलीले यो स्वीकार गर्न सिक्नुपर्छ।

५. परमेश्वरको इच्छा स्वीकार गर्ने मण्डली नै आशिषित हुन्छ ।

दाउदले जिद्दी गरेनन् । उनले भन्न सके — “प्रभु, तपाईंको इच्छा सर्वोत्तम हो ।” आज नेपालको मण्डलीलाई यही चाहिएको छ:

१. व्यक्ति केन्द्रित होइन, त्रिएक परमेश्वर केन्द्रित मण्डली । २. गुटको योजना होइन, परमेश्वरको योजना ३. महत्वाकांक्षा होइन, आज्ञाकारिता ४. प्रतिस्पर्धा होइन, सहकार्य ५. मानवीय इच्छा होइन, परमेश्वरको निर्देशन ।

निष्कर्ष

१ इतिहास १७:१–१५ ले तीन पात्रबाट तीन प्रकारका शिक्षा दिन्छ : दाउदबाट : असल इच्छा राख, तर परमेश्वरको इच्छामा समर्पित बन । नातानबाट: आत्मिक अगुवाले पनि परमेश्वरको आवाज सुनेर मात्र निर्णय गरून् तर हचुवाको भरमा होइन । परमेश्वरबाट: उहाँको योजना मानिसको योजनाभन्दा सधैं ठूलो र सर्वोत्तम हुन्छ ।

आज नेपालको मण्डलीका लागि प्रश्न: “हामी दाउद जस्तो सेवा गर्न चाहेका छौँ वा आफ्नै मनगढन्ते सेवा, नातान जस्तो हतारो निर्णय गर्ने छौँ कि परमेश्वरको अगुवाइ खोजेर, र परमेश्वरको इच्छा खोज्ने, उहाँको इच्छाअनुसार चल्ने मण्डली बन्ने छौँ?”

समापन चुनौती: “प्रभु, मेरो इच्छा होइन, तपाईंको इच्छा पूरा होस् । मेरो योजना होइन, तपाईंको राज्य अघि बढोस् । मेरो नाम होइन, तपाईंको महिमा होस्।”

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
भर्खरै
होम