single page header banner

नेपाली चर्च एकता : आजको आवश्यकता

admin_news admin_news
शनिबार, आश्विन 27, 2083
Social buttons loaded
समाचार सारांश
  • भव वहादुर घले (बिबी घले), राष्ट्रिय संयोजक, संयुक्त राष्ट्रिय नेपाली चर्च परिषद (UNNCC) जयमसिह !
  • संयुक्त राष्ट्रिय नेपाली चर्च परिषद (UNNCC) को सुरुवात भएको करिब तीन वर्ष भएको छ ।
  • भव वहादुर घले (बिबी घले), राष्ट्रिय संयोजक, संयुक्त राष्ट्रिय नेपाली चर्च परिषद (UNNCC)

जयमसिह !

संयुक्त राष्ट्रिय नेपाली चर्च परिषद (UNNCC) को सुरुवात भएको करिब तीन वर्ष भएको छ । यो परिषद एउटा अर्को एनजीओ (NGO) वा कुनै नयाँ संस्था जन्माउने कुरा होइन । यो त नेपाली मण्डली (चर्च) अर्थात् नेपाली क्रिश्चियन समुदायलाई एक ढिक्का बनाउन र एकतामा गाँस्न ल्याइएको एउटा अभियान हो । हामी आफैंमा ख्रिस्टमा एक छौं, तर जब काम गर्ने कुरा आउँछ त्यहाँ हामीबीच कार्यगत एकता (Action oriented unity), दर्शनसहितको एकता (Vision oriented unity) र प्रार्थनासहितको एकता (Prayer oriented unity) को अभाव देखिन्छ । आज हामीले एक-अर्कालाई स्वीकार गर्दै सहमति, सहकार्य र सहभागितामा अघि बढ्नुपर्ने आवश्यकता छ ।

‘ए+क+ता’ को सिद्धान्त र हाम्रा चुनौतीहरू :

मैले करिब २५-२६ वर्षअघि नेपाली चर्चको एकताको विषयमा केही लेखहरू लेखेको थिएँ । त्यतिखेर मैले भनेको थिएँ हाम्रो एकता ‘ए + क + ता = एकता’ हुनुपर्छ । तर विडम्बना, हाम्रो एकता विभाजित (Fragmented) छ । कहिले ‘ए’ एकातिर, ‘कता’ अर्कोतिर हुन्छ त कहिले ‘ए’ र ‘क’ मिलेर ‘एक’ त हुन्छ तर ‘ता’ छुटिरहेको अवस्था छ । मेरो परिकल्पना र प्रयास भनेको ‘ए’, ‘क’ र ‘ता’ लाई भत्काउने, बिगार्ने वा एउटैमा गाभ्ने होइन । ‘ए’ आफ्नै पहिचानमा ‘ए’ नै हुनुपर्छ, ‘क’ ‘क’ नै र ‘ता’ ‘ता’ नै हुनुपर्छ, तर तिनीहरू सँगै एउटै उद्देश्यका लागि उभिनुपर्छ ।

अहिले हामीबीच अस्वस्थ प्रतिस्पर्धा, तछाडमछाड र ‘मेरो संस्था, तेरो संस्था’ भन्ने दोहोरोपन (duplications) छ । येशू ख्रिस्टले यूहन्ना १७ अध्यायमा हामी पूर्ण रूपमा एक हुनका लागि प्रार्थना गर्नुभएको छ । यदि हामी एक भएनौं भने समाज र राज्यले पनि हामीलाई हेर्ने दृष्टिकोण फरक हुन्छ । सरकारले पनि हामीलाई हाम्रा एजेन्डा र मागहरू लिएर जाँदा ‘विभिन्न ग्रुपमा नआउनुस्, एक भएर आउनुस्’ भन्ने गरेको छ । त्यसैले यो तछाडमछाड र प्रतिस्पर्धाको अन्त्य गर्दै स्रोतसाधनको सही सदुपयोगका लागि हामीबीच सहकार्य अनिवार्य छ । एकता चिया खान वा गफ गर्नको लागि मात्र होइन, मिलेर काम गर्नको लागि हो ।

प्रार्थना अभियानबाट सुरु भएको एकताको यात्रा :

सन् २००३ तिर म बेलायतमा थियोलोजी पढ्दै गर्दा नेपालमा द्वन्द्व र राजनीतिक अस्थिरता थियो । त्यतिबेला मलाई परमेश्वरले एउटा दर्शन दिनुभयो एउटी आमा र छोरी रोइरहेको । त्यो वास्तवमा द्वन्द्वले गर्दा आँसु झारिरहेकी नेपाल आमाको चित्र थियो । त्यही बोझका साथ मैले देशको लागि प्रार्थना अभियान सुरु गरेँ र नेपाल फर्किएँ । नेपाल आएपछि ४० दिने प्रार्थना, डाँडाको प्रार्थना, मोटरसाइकल प्रार्थना, हवाई प्रार्थनादेखि लिएर त्रिशूली नदीमा र्‍याफ्टिङ प्रार्थनासम्मका अभियानहरू सञ्चालन गरिए । यी अभियानले देशको शान्ति र समृद्धिका लागि मात्र काम गरेनन्, बरु नेपाली मण्डलीमा एकताको वातावरण पनि सिर्जना गरिदिए । जावलाखेलको फुटबल ग्राउन्डमा हाम्रा आदरणीय अग्रजहरू रोबर्ट कार्थक, राजेन्द्र रोंगोंग, एम.जे. जोसेफ लगायतले हात जोडेर एकतामा प्रार्थना गरेको तस्बिर र दृश्य अहिले पनि हामी स्मरण गर्न सक्छौं । यसले मण्डलीमा पक्कै पनि एकताको भावना जगाएको थियो ।

अग्रज र विद्यमान संघसंस्थाहरूको सम्मान: ‘राउन्ड टेबल’ को परिकल्पना :

हाम्रो एकताको अभियानले पुराना र स्थापित संस्थाहरूलाई विस्थापन गर्न खोजेको होइन । म स्पष्ट पार्न चाहन्छु कि हाम्रो एनसीएफ (NCF), एनसीएस (NCS), र राष्ट्रिय क्रिश्चियन महासंघ लगायतका सबै क्रिश्चियन समुदाय र हाम्रा अग्रजहरूप्रति उच्च सम्मान र आदर छ । एनसीएफ पञ्चायतकालमा सतावटको बेला चर्चहरूको संगतिको रूपमा जन्मियो, त्यसपछि मण्डलीका थप आवश्यकताहरू पूरा गर्न एनसीएस र महासंघहरू जन्मिए । यी सबै संस्थाहरू हाम्रै हुन् र उहाँहरूको आफ्नै छुट्टै पहिचान र पोर्टफोलियो छ । हामी कसैलाई हस्तक्षेप गर्न वा बहिष्कार गर्न आएका होइनौं ।

हामीले एनसीएफ, एनसीएस वा महासंघको विकल्पमा अर्को महासंघ खडा गर्न खोजेका पनि होइनौं । हामीले त एउटा ‘राउन्ड टेबल’ (Round Table) को परिकल्पना गरेका हौं । जहाँ एनसीएफ, एनसीएस, महासंघ मात्र नभएर त्यहाँ नअटाएका अन्य चर्च, समूह, विज्ञहरू, पत्रकारहरू सबै सँगै बस्न सकून् । ठूलो-सानो कोही नभई, सबै मिलेर नेपाली क्रिश्चियन समुदाय र परमेश्वरको राज्यको लागि एउटै आवाज बनाउन सकियोस् भन्ने हाम्रो उद्देश्य हो ।

चर्च परिषद (UNNCC) का पहल र कार्यहरू :

चर्च परिषदले कुनै आधिकारिक एनजीओको रुपमा दर्ता गरेर पद ओगट्न खोजेको छैन । मलाई ‘प्रेसिडेन्ट’ बनेर हिँड्ने रहर छैन, नत्र संस्था दर्ता गर्न एक हप्ता पनि लाग्दैन र फन्ड जुटाएर प्रोजेक्ट चलाउन गाह्रो थिएन । तर हाम्रो लक्ष्य पद र प्रोजेक्ट होइन, हाम्रो लक्ष्य विशुद्ध एकता हो । यही मर्मलाई बुझेर हामीले धेरै पहलहरू गरेका छौं । कोभिड-१९ को समयमा जुम (Zoom) मार्फत अन्तरक्रिया कार्यक्रमहरू गर्यौं, जहाँ डा. के.बी. रोकाय लगायतका व्यक्तिहरूलाई बोल्ने र आफ्ना विचार राख्ने अवसर दियौं, जसले गर्दा दूरीहरू कम भए । हामीले म्यानमार एम्बेसीमा संयुक्त रूपमा राहत प्याकेज बुझायौं । होटल हिमालयमा राजनीतिक दलका नेताहरू र अन्तरधार्मिक गुरुहरूलाई राखेर ख्रिस्टमस कार्यक्रम सम्पन्न गर्यौं ।

हालै ‘जेन-जी’ (Gen-Z) आन्दोलनकै दिनमा हामीले राष्ट्रिय सभामा अन्तरधार्मिक गोलमेच सम्मेलन (Roundtable) आयोजना गर्यौं । त्यस्तै, संविधान संशोधनको विषयमा अहिले सबै संस्था (एनसीएफ, एनसीएस, काउन्सिल) को हस्ताक्षरसहित एउटै संयुक्त सुझाव पत्र तयार गरी गृह मन्त्रालय र सरकारलाई बुझाएका छौं । पहिले-पहिले सबैले छुट्टाछुट्टै सुझाव दिने परिपाटी थियो, तर यसपटक हामीले एकताको सन्देश दिँदै एउटै आवाज सरकारसामु लगेका छौं ।

भावी पुस्ता र हाम्रो दायित्व :

कतिपयलाई हाम्रो यो अभियानप्रति असुरक्षा (insecure) महसुस भएको हुन सक्छ । कसैलाई यो नयाँ कुरा आएर हाम्रो काममा हस्तक्षेप गर्छ कि भन्ने भ्रम पनि होला । तर यथार्थ त्यस्तो होइन । बाइबलले हामीलाई इमान्दारिता, सुशासन, शान्ति र राष्ट्रको लागि प्रार्थना गर्न सिकाएको छ । हामीले देश र समाजलाई सुशासन र एकता सिकाउनुपर्नेमा आफैं विभाजित हुनु विडम्बना हो । ख्रिस्टका चेलाहरूलाई उनीहरूको प्रेम र एकताबाट संसारले चिन्नुपर्छ (यूहन्ना १३ अध्याय) ।

मैले यो एकताको विषयमा कुनै हतार गरेको छैन । गन्तव्य र दिशा (Destiny and Direction), गति (Speed) भन्दा धेरै महत्त्वपूर्ण हुन्छन् । हाम्रो एकताको अवधारणा पत्र र घोषणा आज प्रत्येक क्रिश्चियन अगुवाहरूको ल्यापटप र मोबाइलमा पुगिसकेको छ; यो एउटा ऐतिहासिक दस्तावेज बनिसकेको छ । यदि आजका वर्तमान अगुवाहरूले यो राउन्ड टेबल र पूर्ण एकताको दर्शनलाई स्वीकार गर्न ढिलाइ गरे पनि, मलाई पूर्ण विश्वास छ कि भोलिको नयाँ पुस्ता (Next Generation) ले यसलाई अवश्य स्वीकार गर्नेछ ।

अंग्रेजीमा एउटा भनाइ छ- “What 10,000 divided people cannot do, 10 united people can do.” (दश हजार विभाजित मानिसले गर्न नसक्ने काम, एकतामा रहेका दस जना मानिसले गर्न सक्छन्)। आउनुहोस्, नेपाली मण्डली र राष्ट्रको बृहत्तर हितको लागि एकताको यो राउन्ड टेबलमा हामी सबै सँगै बसौं ।

धन्यवाद ! जयमसिह !

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
दुई दिने बाइबल अध्ययन सेमीनार सम्पन्न (तस्वीरहरु)
दुई दिने बाइबल अध्ययन सेमीनार सम्पन्न (तस्वीरहरु)
येशूको पुनरुत्थान तथा ईस्टरका अर्थहरू
येशूको पुनरुत्थान तथा ईस्टरका अर्थहरू
संयुक्त राष्ट्रिय नेपाली चर्च परिषद : स्थापनाको उद्देश्य र पृष्ठभूमि
संयुक्त राष्ट्रिय नेपाली चर्च परिषद : स्थापनाको उद्देश्य र पृष्ठभूमि
अन्तरचर्च भलिबल प्रतियोगिता सम्पन्न, मुडाबास अभिषेक चर्च प्रथम
अन्तरचर्च भलिबल प्रतियोगिता सम्पन्न, मुडाबास अभिषेक चर्च प्रथम
निजि गुठि के हो : अर्थ व्याख्या र उपयोगिता
निजि गुठि के हो : अर्थ व्याख्या र उपयोगिता
रुकुम र जाजरकोटका पास्टर अगुवाहरु भुकम्प प्रभावित क्षेत्रमा उद्धार र सहयोगमा जुट्दै
रुकुम र जाजरकोटका पास्टर अगुवाहरु भुकम्प प्रभावित क्षेत्रमा उद्धार र सहयोगमा जुट्दै
एलपिपिजे फेलोशिप द्वारा संविधान संशोधन सम्बन्धी सुझाव सरकारसमक्ष पेश गर्ने निर्णय
एलपिपिजे फेलोशिप द्वारा संविधान संशोधन सम्बन्धी सुझाव सरकारसमक्ष पेश गर्ने निर्णय
इकानको भावी कार्ययोजना : ख्रीष्टियन विश्वविद्यालयको स्थापना र सातै प्रदेशमा सम्मेलन भवन निर्माण गर्ने
इकानको भावी कार्ययोजना : ख्रीष्टियन विश्वविद्यालयको स्थापना र सातै प्रदेशमा सम्मेलन भवन निर्माण गर्ने
आधुनिक विज्ञानको उदयमा बाइबलको  प्रभाव
आधुनिक विज्ञानको उदयमा बाइबलको प्रभाव
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम