single page header banner

पादरी गंगाप्रसाद प्रधानको महान् योगदानहरू

admin admin
मंगलबार, आश्विन 21, 2079
Social buttons loaded
समाचार सारांश
  • — समय कुमार रम्तेल ।
  • नेपाली बाइबल अनुवादको पिता तथा बहुआयमिक साधक स्व.

— समय कुमार रम्तेल ।

नेपाली बाइबल अनुवादको पिता तथा बहुआयमिक साधक स्व.पादरी गंगाप्रसाद प्रधानको जन्म काठमाडौंस्थित ठमेलको ठहिंटी टोलमा ४ जुलाई १८५१ अर्थात वि.स. १९०८ अषाढ २२ गते भएको थियो । बुबा रूपनारायण र माता राजमती प्रधानका कान्छो छोरा थिए । उनका जेठा दाजु प्रभुनारायण र दुई दिदीहरू सँगै थिए । वाध्यतावश उनका दाजु नेपालको पूर्व हुँदै दार्जिलिङ पुगे । आमाको निधनले उनी सानैमा टुहुरो भए । फलस्वरुप धेरै वर्ष धोको पुग्नेगरी आमाको माया संगाल्न पाएनन् । गंगाप्रसाद नौ वर्षको उमेरमा आफ्नो परिवारसँगै दार्जिलिङ २९ मे, १८६१ का दिन पुगे । ४ जुलाई, १८७० अर्थात उनको १९ औं जन्मदिनमा मेकफर्लेनको स्कूलमा भर्ना भए । तर सानी आमाले स्कूल पठाइनन् । दिनरातका कचकच र टोकसोलाई सहन नसकी एक महिनामै उनले स्कूल छोडे । चियाको पत्ती टिप्न विवश भए । घरैमा मेकफर्लेन आएर निशुल्क पढाइदिने भएपछि उनी पुनः उत्साहित हुँदै स्कूल जान थाले । नौ महिना स्कूल पढेपछि एक दिन कक्षा एकका शिक्षक अनुपस्थित भएकाले म्याकफार्लेनले सो कक्षा पढाउने जिम्मा गंगाप्रसादलाई दिए । चार वर्षसम्म शिक्षकको जागिर खाएका थिए । यसैबीचमा गंगाप्रसादले इसाई शिक्षकबाट परमेश्वरको जिउँदो वचन सुने र येशूलाई आफ्नो प्रभु र मुक्तिदाता भनी ग्रहण गरे । तर त्यस समयमा ख्रीष्टियन हुनु ‘फलामको चिउरा चपाउनु’ सरह थियो । बप्तिस्मा लिन र दिन मुस्किल थियो । त्यसपछि भागेर अलाहाबाद पुगी २४ जनवरी १८७५ मा पादरी बिनकूपबाट बप्तिस्मा लिए । इसाई हुन गाह्रो थियो । ग्रहण गर्नेहरूलाई किरिया गरिन्थ्यो, मरेकै बराबर गरिन्थ्यो, पानी वाहेक, घर निकाला र समाजबाट बहिस्कार गरिन्थ्यो तर उनले येशू ख्रीष्टको दुःखलाई नै रोजे । ग्रहण, बप्तिस्मा र सेवकाइमा लागि परे । त्यसको करिब एक वर्षपछि उनको विवाह एलिजाबेथ राईसँग भयो र उनीहरूको २ छोरा र ६ छोरीहरू जन्मिए । आफूले पाएको सत्य ख्रीष्टबारे अरुलाई पनि बताउन, सुसमाचारको दर्शन झन झन वृद्धि हुदै गयो ।

उनको सेवकाइमा शिक्षक, अनुवादक, लेखक, सम्पादक र पादरीको रुपमा जीवनको अन्त्य सम्म नै सेवा गर्दै रहे । उनको परिवार संयुक्तरुपमा वस्थ्यो । त्यसको पारिवारिक आर्थिक भार बढी उनकै काँधमा थियो । उनको आफ्नो निजी घर र जमिन केहि थिएन । उनको सन्ध्याकालिन जीवनमा धेरै उतारचढाव रहेको थियो । सायद उनको अन्तिम सम्पादकीय कति हारगोहार मिश्रित सुस्केराहरू थिए होलान् । उनका शुभचिन्तक पाठकहरूका चिठीहरू कसले पल्टाए होलान ? पत्रिकाले जन्माएका नयाँ लेखकहरू विचल्लीमा परे होलान् । आफ्नो मृत्यु पछि आफ्नी धर्मपत्नीलाई के हुने हो सोबारे प्रधानलाई निकै ठूलो पीर थियो । उनले भन्ने गर्थे “म त प्रभुकहाँ जाँदैछु, तर धमालाई के हुने हो थाहा छैन । तिमीहरू सबैले उनको याद गर्नु” भन्नुहुन्थ्यो रे । पारिवारिक आर्थिक स्थिति सन्तोषजनक थिएन । आफ्नै घर समेत थिएन । कर्मथलो दार्जिलिङ भएपनि उनको जन्मथलो काठमाडौं थियो । त्यो समयका प्रशासनले इसाई भएकै कारण काठमाडौं आएको केही समयमै पुनः दार्जिलिङ पठाइयो । आफ्नो जन्मथलो अनि मानिसप्रतिको माया र ख्रीष्टको सन्देश अधुरै राखी सपरिवार लखेटिनु पर्दा प्रधानलाई पिडा भएको थियो । उनको स्वार्थ भनेको गोर्खालीहरूको निःस्वार्थ सेवा थियो । अन्ततः पादरी गंगाप्रसाद प्रधानको स्वर्गे २८ मार्च, १९३२ का दिन दार्जिलिङमा ८१ वर्षको उमेरमा भयो ।

गंगाप्रसाद प्रधानका महान् योगदानहरू:

त्यतिबेला भारतमा अंग्रेजहरूले मात्र पादरी पदमा अभिषेक पाउँथे तर नेपाली पहिलो पादरीको रुपमा अभिषेक भए । त्यसैगरी सन् १९१६ मा लण्डन बाइबल सोसाइटीद्धारा उनलाई लाइफ गर्भनरको सदस्यता दिइयो । नेपालीमा पहिलो पाठ्यपुस्तक लेख्ने, बाइबल अनुवाद गर्ने, पहिलो नेपाली पादरी (पास्टर), पत्रिका सम्पादक तथा प्रकाशक भइ नेपाली समाचार पत्र चलाउने उनी नै भए । उनले भाषा साहित्य, अनुवाद, सम्पादन, शिक्षा र मण्डलीको पास्टरीय सेवामा समेत उत्तिकै योगदान दिन सफल छन् । त्यसैले पादरी गंगाप्रसाद प्रधानलाई बहुआयामिक क्षेत्रका साधक तथा व्यक्तित्व भनी सम्बोधन गरिन्छ । उनको जीवनकालमा विभिन्न क्षेत्रमा रहेर सेवा पुर्याउनुको एक मात्र लक्ष्य भनौ या मिसनको केन्द्रविन्दु चाहिँ येशू नै हुनुहुन्छ । मानिसलाई परमेश्वर चिनाउनु उद्देश्य रहेको देखिन्छ । शिक्षक, प्रचारक, लेखक, अनुवादक, पास्टर र सम्पादक जे भएपनि आफ्नो नेपाली भाषी र जातिको लागि लक्षित गरेको देखिन्छ । साहित्य, संगीत र सेवकाइमा परमेश्वरको राज्य विस्तारको महान् योगदान पुर्याएका छन् उनले । नेपाली ख्रीष्टियनहरूले पादरी गंगाप्रसाद प्रधानको योगदानलाई वास्तविक रुपमा कदर गरेका छैनौं । अरुले बनाइदिएको इतिहासमा बाँच्ने मात्र नबनौं । हामी पनि नयाँ इतिहास रट्ने होइन रच्ने बनौं ।

१) नेपाली बाइबल अनुवाद

उनी बाइबलका शिक्षक, मण्डलीका पहिलो पङ्क्तिका अगुवा र प्रवक्ता भएर रहे । अनुवादको काममा मिसनेरी पादरी टर्नबुल र किल्गोर जस्ता ग्रीक र हिब्रू भाषाबिदहरूबाट पनि सहयोग लिएर सन् १९१४ मा अनुवाद गरी किङ्ग जेम्स भर्सनको विलकुल हुबहु अनुवाद १९१४ मा कलकत्ताबाट प्रकाशित भएर आइपुग्यो । यी नै नेपाली बाइबलबाट लाखौ नेपालीले जीवनको पानी पिए । नेपाली भाषामा गंगाप्रसादको शीर्ष योगदान बाइबल जस्तो महान् ग्रन्थलाई नेपाली भाषामा तर्जुमा गर्नु जस्तो अर्को योगदान अरु हुन सक्दैन । नेपाली बाइबल अनुवाद भएको पनि आज १०६ वर्ष पूरा भएको छ । यसैको खुशीयालीमा महान् प्रभुलाई धन्यवाद भन्दछौं । अनि पादरी गंगाप्रसाद प्रधानलाई सम्झिरहेछौं । नेपाली भाषामा पवित्र धर्मशास्त्र बाइबल अनुवाद गरी प्रकाशन हुनुले आज पनि पादरी गंगाप्रसाद हामी बिचमा बोलीरहे झैं लाग्छ । २० वर्षको साधना र अथक परिश्रमले उनलाई नेपाली बाइबल अनुवादका साधक, महारथि र पिता बनाएको छ । अनुवाद, लेखन र प्रकाशनमा उनको योगदान विशिष्ट र प्रथम पंक्ति मै पर्दछ ।

२) ‘गोर्खे खबर कागत्’ मासिक पत्रिका (सन् १९०१–१९३२)

पादरी गंगाप्रसाद प्रधानको दोस्रो ठूलो योगदान ‘गोर्खे खबर कागत्’ मासिकको प्रकाशनलाई लिन सकिन्छ । प्रधानले स्कटीस मिशन ओर्फनेज प्रेसलाई सन् १९०१ मा खरिद गरेर यो प्रेसलाई ‘द गोर्खा प्रेस’ भनेर नामाकरण गरे । उनको यो कदम प्रशंसनीय थियो । नेपाली भाषा साहित्य र पत्रकारिता प्रकाशनमा यो प्रेस र गंगाप्रसाद महत्वपूर्ण कोशेढुङ्गा बने । यो १ जनवरी, १९०१ मा ‘गोर्खे खबर कागत्’ प्रकाशन शुरु भएको समाचारप्रधान मासिक पत्रिका जीवन पर्यन्तसम्म प्रकाशनमा आएको बुझिन्छ । यो पत्रिका नियमित रुपमा उनको आफ्नै स्वामित्वमा रहेको छापाखाना ‘द गोर्खा प्रेस’ बाट प्रकाशित हुन्थ्यो । आठ पृष्ठमा प्रकाशित ‘गोर्खे खबर कागत्’ पत्रिकाको सत्र ओटा अंक मदन पुस्तकालय, ललितपुरमा दर्ता गरिएको छ । यो पत्रिका नेपालको ‘गोरखापत्र’ भन्दा ४/५ महिनाले जेठो छ । पत्रकारिताको विजारोपणमा ठूलो योगदान दिएका छन् ।

३) पुस्तक लेखन र अनुवादमा योगदान

यसको साथसाथै त्यसताका दार्जिलिङमा हिन्दी भाषाको माध्यमबाट पढाई हुन्थ्यो । उनले नेपाली भाषामा स्कूलका निम्ति प्राथमिक र केही सहयोगी पुस्तकहरू तयार गरे उनको भाषा र अनुवाद कार्यमा उसबेलाको दार्जिलिङे चलनचल्तीको भाषा र शब्दहरूको प्रयोग गरी जम्मा २८ वटा पुस्तकहरू अनुवाद र नयाँ पुस्तक लेखे अनि आफ्नै प्रेसबाट छापे । त्यसैगरी विश्वप्रसिद्ध बाल कथाहरू अनुवाद गरेका छन् । दार्जिलिङ क्षेत्रमा नेपाली पाठ्यपुस्तक लेख्ने पहिलो नेपाली उनै हुन् । मौलिक कथाहरू, आत्मकथा समेत लेख्न सफल छन् ।

४) संगीत क्षेत्रमा योगदान — लोकगीत रचनाकार

इसाई भएको नाताले उनले थुप्रै इसाई भजनहरू लेखेका छन् । जुन भजनहरू आज पनि मण्डलीहरूमा बडो आदरभावसाथ गाइन्छन् । त्यसैले हामी भन्न सक्छौ कि उनी गीतकार पनि हुन् । उनले रचेका गीतहरू मध्ये “येशू है ख्रीष्टको क्रूसैको मरण, यो जग कहिले छैन स्थिर, जय जय मसीह की जय, उभै ता हेरु बैकुण्ठ धाम छ र प्रभु, अर्जि सुनिलेउ, गोर्खालीले मुक्ति पाउने ढोका खोलीदेऊ ” जस्ता गीतहरू उनका मनपर्ने गीत हुन् । दर्जनौ नेपाली भजन तथा गीतहरू रचेर मण्डलीमा सिकाए । विश्वासीलाई आफ्नै भाषा, लयमा आराधना गर्दा संगतिलाई प्रभावशाली बनाउँथे । उनका गीतहरूमा नेपाली जाति र भाषा बोध गराउने शब्द पाइन्थ्यो । जस्तै भादगाउ, पाटन कान्तिपुर शब्द छन् । उनका गीत संगीत धार्मिक मात्र नभएर जातीय प्रेमले ओतप्रोत छन् । उनले सरल र लोकलयका धार्मिक संगीत क्षेत्रमा योगदान दिए । वर्तमान नेपाली इसाई संगीतको समृद्ध रुप नै उनको देन हो ।

५) भाषा शिक्षक तथा शिक्षासेवीको रुपमा योगदान

धेरै अंग्रेज मिसनेरीहरूलाई नेपाली (तत्कालिन गोर्खाली) भाषाको शिक्षा पनि दिए । जस्तै यिनैले पादरी टर्नबुललाई सिकाए । अंगे्रजी नेपाली शब्दकोश पनि संग्रह गरी प्रकाशन गरे । त्यसैगरी दार्जिलिङको कुनाकुनामा प्राइमरी स्कूल स्थापित भई विद्याको प्रचारप्रसार भएको हो । शिक्षक मात्रै भएनन् पाठ्यक्रम विद र शिक्षा सेवी पनि भएको देखिन्छ । उनले भाषा शिक्षण र शिक्षा सेवीको रुपमा योगदान दिएका छन् ।

६) इसाई सेवकको क्षेत्रमा योगदान

गंगा प्रसादले ख्रीष्टको प्रेमलाई साँचोसँग आफ्नो व्यक्तिगत जीवनमा अनुभव गरेका थिए । प्रत्येक कार्यहरूमा सुसमाचार प्रचारको लागि अवसर बनाउँथे । येशू प्रभुको हृदयलाई आत्मसाथ गर्दै ख्रीष्टको प्रेम बाँड्न कहिले पछि परेनन् । सुसमाचार प्रचारमा पनि त्यतिकै लागि पर्दथे । बप्तिस्मा दिने यूहन्ना जस्तै निडर र सत्यतासँग प्रचार गर्दथे । प्रत्येक आइतबार त्यसताका गुन्द्रीबजार भनिने आजको चौक बजारमा तिनको प्रचार सुन्न मानिसहरूको धुइरो लाग्थे र विश्वास गर्दथे । त्यसैले उनलाई कुशल प्रचारक भनिन्थ्यो । सरल र प्रभावकारी रुपमा प्रार्थना, संगति सेवा र बाइबलीय शिक्षा पनि सिकाउँथे । त्यतिबेलाका दार्जिलिङ क्षेत्रका बाइबलीय शिक्षक र मिसनेरी जस्तै भएर ठाउँठाउँमा गएर सिकाउँथे । आत्मिक तथा बाइबलीय ज्ञानमा पोख्त भएकाले गर्दा उनलाई खरसाङमा भएको मण्डली रेखदेख गर्नलाई १८७७ मा र पछि दार्जिलिङको सन्त कोलम्बा मण्डलीमा १९०१ अगस्तको शुभदिनमा पूर्ण पादरीको रुपमा ५० वर्षमा अभिषेक गरियो । नेपालीहरूबाट पहिलो पादरी (पास्टर) भए । पादरीको परिपक्व गुण थियो । पादरी सेवामा तिनी पुल्पीटमा उभिएर प्रवचन दिने र मण्डलीको धर्म विधिका कार्य सम्पन्न गर्ने व्यक्ति मात्र नभएर तिनी बडो सम्वेदनशिल प्रकृतिका थिए । विश्वासीको घरदैलोमा पुगी वास्ता र सरोकार राख्न पनि भ्याउँथे । तिनले आफ्नो सन्तुलित र सफल परिवारलाई सबैको अघि नमूना बनाएका थिए । उनले मण्डलीको सेवाकार्यलाई असल भण्डारे भएर गरे । उनले असल चेला वा अगुवा निर्माण गरी मण्डलीको जिम्मेवारी र प्रतिष्ठित पदभारबाट बीस वर्ष सेवारत रहेर १९२१ मा अवकाश ग्रहण गरे । त्यसपछि मण्डलीका संरक्षक र सल्लाहकारमा रहेर सेवा पुर्याइरहे ।

अब हाम्रो पालो, के योगदान दिने ?

उहाँका योगदान हाम्रो निम्ति एउटा गाडधन झैं भएको छ । उहाँको त्यो विविध पक्षको निरन्तर साधना र उपासना प्रति कृतज्ञ छौं । नेपाली इसाई जगतमा रहेका अग्रज सेवक, स्रष्टाहरूको योगदान र कृतिहरूको जर्गेना गरौं । ताकि भोलिको सुनौलौ इतिहास बनाऔं । आजको संकलन गरिएका अभिलेखहरू नै एक दिन इतिहास बन्दछन् । पादरी गंगाप्रसाद प्रधानको ३२ वर्षे पत्रकारिता—प्रकाशनको महान् यात्रामा हिमश्रृंखलाका कञ्चन हिमनदीहरू अविरल बगाइरहे । जीवनको अन्तिम स्वाससम्मै पवित्र कलम घोटिरहे । २० वर्षे बाइबल अनुवादमा लागि परे । २० वर्षे पादरीको सेवकाइलाई प्रभावशाली बनाए । पादरी गंगाप्रसाद प्रधानको बहुआयमिक व्यक्तित्व, प्रभावशाली जीवन र दर्जनौ कृतिहरू नेपाली इसाई जगतको लागि योगदान दिएका छन् । सो समयमा लेखनबाट अगुवाई गर्नुभयो । हाल नेपाली इसाई जगतमा पनि करिब १ दर्जन सशक्त कलमहरूले नेतृत्व गरी नेपाली मण्डलीलाई अगुवाइ र सेवा गर्नुपरेको छ । पादरी बहुआयामिक व्यक्तित्व र प्रतिभाका साधक बनिरहे । चम्किलो तारा झै चम्किरहे । महान् योगदान दिइरहे । तर अब हाम्रो पालोः के योगदान दिने ? र कस्तो इतिहास बनाउने ?

धन्यवाद

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
आनन्दित एज्रा अगुवापन तालीम सम्पन्न, १७ जना अगुवाहरु दिक्षान्तित
आनन्दित एज्रा अगुवापन तालीम सम्पन्न, १७ जना अगुवाहरु दिक्षान्तित
कर्णाली प्रदेश संयुक्त जवान शिखर सम्मेलन २०८१ सफलताको संदेश, योगदान र प्रभाव
कर्णाली प्रदेश संयुक्त जवान शिखर सम्मेलन २०८१ सफलताको संदेश, योगदान र प्रभाव
पुतलीसडक चर्चमा समलैंगिकता वारे कार्यक्रम
पुतलीसडक चर्चमा समलैंगिकता वारे कार्यक्रम
संयुक्त राष्ट्रिय नेपाली चर्च परिषद (UNNCC) पुनर्गठन : अध्यक्षमा डा. पा. सुन्दर थापा र राष्ट्रिय संयोजकमा पा. भव घले
संयुक्त राष्ट्रिय नेपाली चर्च परिषद (UNNCC) पुनर्गठन : अध्यक्षमा डा. पा. सुन्दर थापा र राष्ट्रिय संयोजकमा पा. भव घले
पास्टर र राजनीति : परमेश्वरको बोलावट, मण्डलीको विधान र हाम्रो दृष्टिकोण
पास्टर र राजनीति : परमेश्वरको बोलावट, मण्डलीको विधान र हाम्रो दृष्टिकोण
पन्तियस पिलातस, पुरात्वविद्या र बाइबल
पन्तियस पिलातस, पुरात्वविद्या र बाइबल
जीएनएन नेपालको दशौँ बार्षिकोत्सव सम्पन्न
जीएनएन नेपालको दशौँ बार्षिकोत्सव सम्पन्न
हामी सबैले अगमवाणी बोल्न सक्छौँ
हामी सबैले अगमवाणी बोल्न सक्छौँ
बाइबल : केहि रोचक जानकारी
बाइबल : केहि रोचक जानकारी
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम