single page header banner

नेपाली चर्च एकता आजको आवश्यकता

admin_news admin_news
बिहिबार, आश्विन 11, 2083
Social buttons loaded
समाचार सारांश
  • बिबि घले “यदि तिमीहरूले एक-अर्कालाई प्रेम गर्‍यौ भने, यसैबाट सबैले जान्नेछन् कि तिमीहरू मेरा चेलाहरू हौ।
  • ” — यूहन्ना १३:३५ एकता हुनुपर्छ, अपरिहार्य छ ।
  • बिबि घले

“यदि तिमीहरूले एक-अर्कालाई प्रेम गर्‍यौ भने, यसैबाट सबैले जान्नेछन् कि तिमीहरू मेरा चेलाहरू हौ।” — यूहन्ना १३:३५

एकता हुनुपर्छ, अपरिहार्य छ । एकताको विकल्प छैन । एकताको विकल्प एकता नै हो ।

“१० हजार जना विभाजित भएर गर्न नसक्ने काम १० जना एक भएर गरे भने गर्न सकिनेछ।”

“जुन महिमा तपाईंले मलाई दिनुभएको छ, मैले तिनीहरूलाई दिएको छु, ताकि हामी एक भएझैँ तिनीहरू पनि एक होऊन्। म तिनीहरूमा, अनि तपाईं ममा, र तिनीहरू पूर्ण रूपले एक होऊन्, र तपाईंले मलाई पठाउनुभएको हो, अनि मलाई प्रेम गर्नुभएजस्तै तपाईंले तिनीहरूलाई पनि प्रेम गर्नुभयो भनी संसारले जानोस्।” — यूहन्ना १७:२२–२३

एकता के हो ?
——————
एकता सहकार्य हो ! एकता मेलमिलाप हो ! एकता प्रेम हो ! एकता सद्भाव हो ! एकता समझदारी हो ! एकता सहमति हो ! एकता आपसी स्वीकार र सम्मान हो ! एकता साझा दर्शन र साझा उद्देश्य हो ! एकता समावेशी र साझा नेतृत्व हो !

एकता के होइन ?
———————
एकता निषेध होइन ! एकता बहिष्कार होइन ! एकता हैकमवाद होइन ! एकता आफ्नो मात्र विचार, आफ्नो मात्र निर्णय होइन ! एकता अपमान, असहमति होइन ! एकता आफू मात्र जित्नुपर्छ भन्ने होइन ! एकता सबै ठाउँ आफैले ओगट्ने भन्ने होइन ! एकता आफैले मात्र सबै क्रेडिट लिने भन्ने होइन ! एकता इन्कार र प्रतिशोध होइन ! एकता अस्वस्थ प्रतिस्पर्धा होइन ! एकता तँछाडमछाड होइन ! एकता दोहोरोपन (Duplication) होइन । एकता आपसी विरोध होइन!
एकता एकल नेतृत्व र साम्राज्यवाद नीति होइन!

एकताको शत्रु वा विरोधी को हो त ?
——————————————
एकताका विरोधी डाह, ईर्ष्या, घमण्ड, अहम्, आडम्बर, विरोध, नकारात्मक सोच, अरूको नराम्रो मात्र देख्ने, आलोचना मात्र गरिरहने, विरोध मात्र गरिरहने, काम नगर्ने, अरूलाई र अरूको कामलाई स्वीकार नगर्ने, देख्न नसहने, असुरक्षित महसुस गर्ने, पद नै चाहिने, नाम नै चाहिने, आफू मात्र देखिन चाहने, आफू मात्र छु भन्ने, सबै मैले नै गरेको भन्ने, जहाँ पनि आफू नै हुनुपर्ने, अग्रजहरूलाई अपमान गर्ने, नसुन्ने, अग्रजहरूको अस्तित्व, सल्लाह र सुझाव नमान्ने, नस्वीकार्ने आदि हुन्। यस्तै यस्तै… थुप्रै…

के एकता सम्भव छ त ?
—————————
नेपाली चर्च एकता आजको आवश्यकता! एकता सम्भव छ, हुन्छ र हुनुपर्छ ! एकता नेतृत्वको हृदय र मनमा हुनुपर्छ। एकता काममा, व्यवहारमा, सोचमा र चरित्रमा हुनुपर्छ । एकता पद होइन, पैसा होइन, संस्था होइन, ब्यानर होइन, लोगो होइन, इगो होइन, नाम होइन; तर एकता काम हो, सहकार्य हो, दर्शन हो, ख्रीष्टको चाहना र प्रार्थना हो ।

अब कस्तो एकता सम्भव छ त? कस्तो एकता हुनुपर्छ होला त ?
—————————————————
१. अबको एकता प्रार्थनामुखी हुनुपर्छ ।

अग्रजहरू अब हिजोका कुराहरू बिर्सेर एक-अर्कालाई स्वीकार गरेर, मुन्टो नबटारीकन, क्षमाशील हृदय र मेलमिलापको आत्मा, साँचो प्रेमको भाव लिएर एक ठाउँमा आएर प्रार्थना, संगति र संवाद गर्नैपर्छ। छुट्टाछुट्टै होइन, एक ठाउँमा आएर। र आपसी विरोध अब बन्द गर्नुपर्छ। हामीभित्र विभाजनको पर्खाल हुनुहुँदैन। छ भने पनि अब तोड्नुपर्छ, भत्काउनुपर्छ। केही हदसम्म त भत्किसकेको पनि छ।

२. अबको एकता समावेशी र सहकार्यमुखी हुनुपर्छ ।

सहकार्य बिना कसैले, एक्लो नेतृत्वले वा एक्लो संस्था र संगठनले मात्र केही गर्न सक्ने र हुनेवाला छैन ।

३. दर्शनमुखी र एजेण्डामुखी एकता हुनुपर्छ ।

एउटै संस्थामा, पद बाँडफाँडमा, एकल विचार, एकल पहिचान र एकल नेतृत्वमा एकता बनाउने र खोज्ने होइन। जातिवादी र संकीर्ण सोच सबैले त्याग्नुपर्छ । अब सबैले एकता बनाउने होइन, खोज्ने होइन; व्यावहारिक सहकार्य र सहनेतृत्व कायम राखेर, एकले अर्कोलाई स्वीकार गरेर, प्रेम, मेलमिलाप र सहकार्य गर्दै एकतामा जिउने कोसिस गर्ने हो ।

एकताको लागि विशेष प्रार्थना
————————————
अब एकता गरेको हो भन्ने, लुकीलुकी काम गर्ने, षड्यन्त्र रच्ने, ख्रीष्टियन समुदायको लागि माखो नमार्ने तर एकता गर्छु र गरिरहेका छौँ भन्ने, पद दिन्छु, पैसा दिन्छु, विदेश घुमाइदिन्छु भन्ने, “त्योसँग किन लागेको? हामीतिर आउ” भन्ने, “त्यो हाम्रो होइन”, “त्यसलाई हामीले स्वीकार गरेका छैनौँ” भन्ने, कित्ताकाट गर्ने, एकता भाँड्ने जस्ता दुष्ट र प्रदूषित आत्माबाट छुटकारा पाउन, नेपाली चर्च र ख्रीष्टियन समुदायलाई यस्ता दुष्ट र दूषित आत्माबाट जोगाउन र ख्रीष्टको मन जगाउन सबैले प्रार्थना गरौँ।

लेखकको एउटै इच्छा, सपना र दर्शन एकता हो—“नेपाली चर्च एकता”।

सबै जना प्रेममा मिलून्, सहकार्य गरून्, स्वीकार गरून्, नेपाली चर्चको गवाही राम्रो बनोस्, प्रभुको नाम बदनाम र अपमान नहोस्, नेपाली चर्च अनुशासित, संवेदनशील र जिम्मेवार बनोस्, सेवकाई इमानदार र पारदर्शी बनोस्, संसारले, राज्य र समाजले ख्रीष्टका चेला भनेर सकारात्मक रूपमा चिनोस् । मिलेर राज्य र समाजलाई सकारात्मक प्रभाव पारौँ। परमेश्वरको राज्य र इच्छा पूरा गर्न मिलेर अस्वस्थ प्रतिस्पर्धा नगरी स्रोत, साधन र कामको दोहोरोपन नगरी सही सदुपयोग गरौँ। समावेशी र सहभागितामूलक नेतृत्वसहित स्पष्ट कार्यविभाजन गरी सहकार्य गरौँ। नेपाललाई प्रार्थना, आशिष् र धार्मिकताको देश बनाऔँ। नेपाली चर्च र ख्रीष्टियन समुदायको भलाई, सुरक्षा, संरक्षण, संवर्द्धन र प्रवर्द्धनका लागि मिलेर सहकार्य गरौँ । लेखकको सपना – एक दिन नेपाली चर्च तथा ख्रीष्टियन समुदायका चर्च, संघसंस्थाका प्रमुखहरू हंसिलो मुहार लिएर एउटै टेवल वरिपरी गोलमेच संगति तथा भेलामा प्रार्थना, छलफल, बहस गर्दै राष्ट्रिय मुध्दाहरुको सम्बोधन र योजनाहरु बनाउदै मिलेर सहकार्य गरेको देख्ने छ ।

एकताको विकल्प छैन !
——————————
झगडा गरेरै भए पनि मिल्नुको विकल्प छैन। हामी सबै अब हार होइन, जित-जितको खेल खेलौँ! प्रभु, नेपाली चर्च र नेपाली ख्रीष्टियन समुदायको विजय हुनेछ। हामी सबै एकचोटि हार्यौँ भने एकताको जित हुन्छ ! हामी हारौँ, हाम्रो एजेण्डा हारोस्, हाम्रो अहंकार हारोस्, तर प्रभुको राज्य जितोस्, नेपाली चर्च र ख्रीष्टियन समुदाय जितोस् ! हामी सबैले केही त्याग गर्नुपर्ला, केही हार स्वीकार गर्नुपर्ला, तर यदि त्यसबाट नेपाली चर्चको एकता, साक्षी र प्रभाव बढ्छ भने त्यो हार वास्तवमा जित हो ।

हाम्रो नामभन्दा परमेश्वरको नाम महान् बनोस्, हाम्रो संस्थाभन्दा परमेश्वरको राज्य अगाडि बढोस्, र हाम्रो व्यक्तिगत एजेण्डाभन्दा नेपाली चर्चको साझा मिशन सफल होस्। अब अनावश्यक रूपमा विरोधका लागि विरोध नगरौँ, बरु काम गरेर देखाऔँ। अरू कुरा प्रभुले, इतिहासले, नेपाली चर्चले र समयले मूल्याङ्कन गर्नेछन् । गलत गर्नेहरू आफैँ नाङ्गिँदै, खुलिँदै र सुक्दै जानेछन्। आफैँ दण्डित हुनेछन्। प्रभुले नै न्याय गर्नुहुनेछ ।

प्रभुको प्रार्थना पूरा होस्—“तिनीहरू सबै एक होऊन्।” (यूहन्ना १७:२१)

“पुनश्चः लेखकको कसैप्रति दुश्मनी, वैरभाव, विरोध, डाह, ईर्ष्या वा बैमनस्यता छैन । यदि त्यस्तो लाग्न वा पर्न गएको छ भने क्षमा दिनुहोला । नेपाली चर्च, सबै संघसंस्था र अग्रजहरूप्रति लेखकको सम्मान र आदर छ। सबै अग्रजहरू जम्मा भएर मेलमिलापसहित एक ठाउँमा आऔँ र प्रार्थना गरौँ । सबै आफैँ जोडिँदै, मिल्दै र सुध्रिँदै जानेछन् ।”

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
भर्खरै
होम