single page header banner

शोकमा परेका परिवार तथा मण्डलीहरूलाई कसरी सान्त्वना दिने ?

admin admin
मंगलबार, आश्विन 21, 2079
Social buttons loaded
समाचार सारांश
  • पास्टर दिनेश बाबु श्रेष्ठ, रुपान्तरण ख्रीष्टीय मण्डली, काठमाडौं ।
  • अहिले यो विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को महामारीको दोश्रो कहर (जसलाई कतिपयले इन्डियन भेरियन्ट पनि भन्छन्)ले हाम्रो देश नेपाल पनि अति नराम्रोसँग प्रभावित भयो ।

पास्टर दिनेश बाबु श्रेष्ठ, रुपान्तरण ख्रीष्टीय मण्डली, काठमाडौं ।

अहिले यो विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को महामारीको दोश्रो कहर (जसलाई कतिपयले इन्डियन भेरियन्ट पनि भन्छन्)ले हाम्रो देश नेपाल पनि अति नराम्रोसँग प्रभावित भयो । यो महामारीले धेरैको ज्यान लियो, कतिले जवान अवस्थामा नै अल्पायुमा नै यस पृथ्वी छोडेर जानु पर्ने भयो । यो महामारीले हामी ख्रीष्टियन समुदाय पनि अति नै नराम्रोसँग मारमा पर्यौं । धेरै जना पास्टर, अगुवाहरू, विश्वासीहरूले प्रभुमा विश्राम लिनुभयो । नेपालका अति नै आदरणीय पास्टर रोवर्ट कार्थक गुरुबा पनि यही महामारीको चपेटामा पर्नुभयो । यसले कुनै धर्म, जाति, देश नभन्ने रहेछ । शुरु शुरुको कोभिड १९ को कहरमा हामी नेपालीले खासै ठूलो मानवीय क्षतिको सामाना गर्नु परेको थिएन अनि हामीले घमण्ड पनि गर्न थाल्यौं, हाम्रो नेपालीको खानपिन राम्रो, मसला राम्रो, हाम्रो इम्युन शक्ति (रोग प्रतिरोधात्मक शक्ति) राम्रो छ पनि भन्यौं । तर हाम्रै छिमेकी देश भारतमा त्यो महामारीको रुप देख्दा, अक्सिजन अभाव भएर मृत्यु भएको देख्दा पनि हामी खुल्ला सिमाना भएको देशले उचित सावधानी अपनाउन नसक्दा हामीले यस पटक धेरै क्षति व्यहोर्नु पर्यो ।

यी सबै परिस्थितिमा रहँदै गर्दा हामी ख्रीष्टियन समुदाय पनि नराम्रोसँग आक्रान्त भयौं । मैले यस लेखमा जोड दिन खोजेको कुरा चाहिं के हो भने हामी यस्तो विषम परिस्थिति भएर जाँदै गर्दा हामी शोकमा परेका, पिडामा परेका परिवारहरूलाई सहि प्रकारले सान्त्वना दिन नजान्दा वा अलिकति संवेदनशील नहुँदा झन् ठूलो चोट थपिदिएको कुराहरू पनि बाहिर सुन्नमा आयो । हुन त म यो सम्वन्धमा त्यति विज्ञ व्यक्ति होइन तर एउटा पास्टर सेवकको नाताले हामीले जानेर पनि नजानेर पनि मानिसहरूलाई सल्लाह दिनु पर्दछ, सान्त्वना दिनु पर्दछ, दुःखमा उभिनु पर्दछ, त्यसकारण यस सम्बन्धमा थोरै भएपनि जानकारी भएमा हामीले ठूलो राहत दिन नसकेतापनि कम्तिमा चोट थप्ने कामसम्म चाहिँ गर्देनौं । बाइबलले भन्छ, आनन्द गर्नेहरूसँग आनन्द गर । रुनेहरूसँग रोओ (रोमी १२ः१५) । यस्तो दुःख, शोकमा परेका परिवार, मण्डलीहरूलाई झन् न्याय गरेर बोलिदिंदा, अनलाइनमा भए पनि गरेको शोक सभामा पहिला भएका असमझदारीमा आफूले जस लिने गरेर बोल्दा पिडित परिवार, मण्डलीलाई झन् चोट थपिदिने काम भयो । यो त प्रतिनिधि घटना मात्र हुन् भने हामीले कति ठाउँमा कति चोट पुर्यायौं होला ।

शोक चाहिँ आफ्नो जीवनमा महत्वपूर्ण भुमिका निभाउने व्यक्तिलाई अचानक गुमाउनु पर्दा आउने सामान्य प्रक्रिया हो । यो चाहिँ त्यस्तो परिस्थितिमा आउने भावनात्मक र शारीरिक प्रतिक्रिया हो । यो चाहिँ व्यक्ति पिच्छे फरक पनि हुन्छ, जसमा सामान्य अवस्थामा फर्कि आउन १८ महिना देखि २४ महिनासम्म वा ३ वर्ष पनि लाग्न सक्दछ । यसमा सबैमा एउटै कुरा हुन्छ भन्ने हुँदैन, एउटै प्रक्रिया एक पछि अर्को हुन्छ भन्ने पनि हुँदैन । यसमा मानिसहरू आघात हुने वा ठूलो चोट पुग्ने, रिसाउने, डिप्रेसनमा जाने, विवाद गर्ने वा स्वीकार गर्ने चरणमा पनि हुन्छन् । एउटा महत्वपूर्ण व्यक्तिलाई गुमाउनु पर्दा आउने पिडाले अरु धेरै क्षेत्रमा पिडाहरू पनि थपिदिएर आउँदछ, जस्तो आर्थिक पिडा, सम्वन्धमा समस्या, डिप्रेसन, जागिर गुमाउनु पर्ने अवस्था आदि । यस्तो अवस्थामा उहाँहरूले व्यक्त गरेको कुराहरूलाई लिएर न्याय गरिहाल्नु हुँदैन । उहाँहरूमा परमेश्वर माथि पनि प्रश्न आउन सक्छ, प्रार्थनामा परमेश्वरसँग एक किसिमको प्रतिवाद गर्ने कुरा पनि हुन्छ, त्यो सबै आउने भावनात्मक प्रक्रिया हो, जुन सामान्य हो । हामीले विलापको भजनहरू हेर्यौं भने बाइबलमा सबै कुराहरू स्पष्टसँग पाउँदछौं । विलापको भजनमा पाउँदछौं, शोकमा परेको व्यक्ति परमेश्वरमा कराउँछ, आफ्नो दुःख पोख्छ, सहायता माग्छ, अनि विगतको दिनमा परमेश्वरले गर्नु भएको सहायता सम्झन्छ, परमेश्वरले दिनु भएको जवाफ हेर्छ र अन्तमा परमेश्वर माथि आफ्नो भरोसा राख्दछ । हामीले बुझ्नु पर्ने सत्य चाहिँ के हो भने परमेश्वर त्यो अवस्थामा पनि हामीसँग हुनुहुन्छ, उहाँले हामीलाई त्याग्नुहुनेछैन, कहिल्यै छोड्नुहुनेछैन (हिब्रू १३ः५) । उहाँ इम्मानुएल परमेश्वर हुनुहुन्छ । यस्तो शोक, पिडामा परेकाहरूलाई हामीले कसरी सान्त्वना दिन सक्छौैं त ?

पहिलो कुरा, यस्तो अवस्थामा हामीले गर्ने भनेको आफ्नो उपस्थिति दिएर सेवा पुर्याउने हो । सम्भव भएसम्म हामीले आफ्नो भौतिक उपस्थिति दिनु पर्दछ । अहिले कोरोनाको समयमा भौतिक उपस्थिति नै दिनुपर्ने कुरामा होशियारी चाहिँ हुनुपर्दछ । अहिलेको प्रविधिलाई प्रयोग गरेर विभिन्न माध्यमबाट हामी भेट्न सक्छौं । तपाईंले वास्ता गरेर ध्यानसित उहाँहरूको कुरा सुनिदिनु चाहिँ हामीले बोल्ने शब्दहरू भन्दा बढी हो । यस्तो अवस्थामा हामीले धेरै बोल्नु पर्दैन । हामीले उहाँहरूको भावनालाई बुझेर ध्यानसित सुनिदिने (Empathetic listening) गर्नुपर्दछ । दोश्रो चाहिँ उहाँहरू सँगै भएर परमेश्वरमा आउनुपर्दछ । उहाँहरूलाई प्रार्थना गरिदिने, प्रार्थनामा परमेश्वरमा डोर्याउने, नम्र, कोमल शब्दहरूमा बोल्ने र वचनबाट परमेश्वरको प्रेमिलो शब्दहरू बोलेर निश्चित बनाउने गर्नु पर्दछ । तेस्रो चाहिँ उहाँहरू सँगै हिंड्नुहोस् । सम्भव भएसम्म पहिलो दिनमा नै पुग्न कोशिस गर्नुहोस्, परमेश्वरले अगुवाई गरेअनुसार सेवकाई पुर्याउने गर्नुहोस्, उहाँहरूलाई बोल्न दिनुहोस् र सम्भव भएसम्म वास्तविक बन्नुहोस्, बनावटी नहुनुहोस् । चौथो चाहिँ उहाँहरूको जीवनमा आउने विशेष ऋतुहरू, दिनहरूलाई सम्झनुहोस् । प्रायः गरेर शोकमा परेका मानिसहरूकोमा एक दुई हप्तासम्म धेरै मानिसहरू भेट्न आउँछन् तर एक महिनापछि कसैले सोध्ने, भेट्ने गर्देनन् अनि उहाँहरू त्यतिबेला बढी आफूलाई एक्लोपना महशुस गर्छन् । त्यो वर्ष आउने वर्थ डे, बैवाहिक वर्षगाँठ, विशेष चाड पर्वहरूमा बढी आफ्नो जीवनको महत्वपूर्ण व्यक्तिलाई गुमाउनु पर्दाको पिडा महशुस गर्छन् । यसैले हामीले सम्भव भएसम्म यस्ता विशेष दिनहरूमा भेट्ने, उपहारहरू दिने, वास्ता गर्ने गर्नुपर्दछ ।

हामीले शोकमा परेको व्यक्ति, परिवारलाई के भन्ने, के नभन्ने पनि जान्नु पर्दछ । आफूले बोल्ने बोलीमा वास्तविक हुनुहोस्, भावना नलुकाउनुहोस् । उहाँहरूलाई पर्ने केही व्यवहारिक काममा सहायता गर्न आफू तयार भएको कुरा भन्न सक्नुहुनेछ । उहाँहरूले गुमाउनु भएको व्यक्तिको बारेमा कुरा गर्न अफ्ठ्यारो नमान्नुहोस्, उहाँहरू सँगै हामी पनि उहाँको उपस्थिति नहुँदा परेको पिडाको सत्यतालाई स्वीकार गर्नुहोस् । उहाँको बारेमा बोल्न चाहन्छन् भने बोल्न दिनुहोस् तर कर चाहिँ नगर्नुहोस् । यदि शोकमा परेको व्यक्ति विलाप गर्न चाहन्छन् भने कुनै न्याय नगरिकन, आलोचना नगरिकन गर्न दिनुहोस् । तपाईंमा के बोल्ने भन्ने शब्द नभएमा केवल तपाईंले ध्यानसित सुनिदिएर पनि, माया, अंकमाल गर्दा मात्रै पनि हुन्छ । धेरैचोटि शोकमा परेको व्यक्ति आफूले माया गरेको व्यक्तिको बारेमा कुरा गर्न चाहन्छ, गर्न दिनुहोस्, त्यो कुरा दोहोर्याइरहन चाहन्छ, सुनिदिनुहोस्, ध्यानसित सुनिदिनु भएको छ भन्ने कुरामा निश्चिन्त बनाउनुहोस् । अनावश्यक सल्लाह दिने, आफ्नो अनुभवसँग, आफूले अनुभव गरेका भावनासँग तुलना गर्ने नगर्नुहोस् । उहाँहरूको बाहिरी रुपलाई हेरेर तपाईं कति राम्रो देखिनु भएको छ, तपाईं बलियो हुनुहुन्छ जस्ता कुराहरू नभनिदिनुहोस्, यसले उहाँहरूमा आफ्नो पिडा लुकाउने दबाब पर्दछ । यो कुरामा निश्चिन्त गराइदिनुहोस् कि उहाँहरूलाई खाँचो परेको समयमा तपाईं सहायता गर्न तयार हुनुहुन्छ । उहाँहरूको व्यवहार, चालचलनलाई ध्यान दिनुहोस्, यदि धेरै डराउने, दैनिकी क्रियाकलापका कामहरू नगर्ने, बढी रिसाउने, दिक्क मान्ने, मर्न लाग्छ भन्ने जस्ता कुराहरू केही समयसम्म गरिरहेमा डाक्टरसँग परामर्श गर्न जाने, सही व्यवसायिक परामर्शदाताहरूकोमा जाने सल्लाह दिनुहोस् वा लिएर जानुहोस् ।

यी केही व्यवहारिक तरिकाहरूलाई मात्रै पनि हामी पास्टर, अगुवा, सेवकहरूले जान्यौं र हाम्रा मण्डलीका सदस्यहरूलाई सिकायौं भने यो शोकको घडीमा धेरै शोकमा परेका परिवारहरूलाई, मण्डलीलाई हामीले सान्त्वना दिन सक्छौं र यो शोकको घडीमा सही प्रकारले सेवा पुर्याउन सक्छौं । हाम्रो मनसाय राम्रै हुन्छ तर धेरै पटक हामीले सही प्रकारले गर्न नजान्दा वा संवेदनशील नहुँदा हामीले सान्त्वनाको साटो चोट पुर्याएर पिडा थपिदिएका हुन सक्छौं । आशा छ, यो सानो लेखले हामी नेपाली मण्डलीलाई परेको यो ऐतिहासिक शोक, विपत्तिको समयमा थोरै भएपनि राहत, आशा मिल्नेछ । परमेश्वरले शोक सन्तप्त परिवार र मण्डलीलाई उहाँबाटकै सान्त्वना र शान्ति मिलेको होस् (२ कोरिन्थी १ः३—११, यूहन्ना १४ः२७, १६ः३३) ।

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
आपतकालीन वैठक : पास्टर, अगुवाहरुलाई उपस्थित हुन भव घलेको आह्वान
आपतकालीन वैठक : पास्टर, अगुवाहरुलाई उपस्थित हुन भव घलेको आह्वान
सुसमाचार भनेको के हो ?
सुसमाचार भनेको के हो ?
उपत्यकाव्यापी पुनरुत्थान (इस्टर) महोत्सव २०२३ को धन्यवाद तथा समिक्षा बैठक सम्पन्न
उपत्यकाव्यापी पुनरुत्थान (इस्टर) महोत्सव २०२३ को धन्यवाद तथा समिक्षा बैठक सम्पन्न
के रवि लामिछानेले पनि हिन्दु रास्ट्रवादकै वाटाे समातेका हुन ?
के रवि लामिछानेले पनि हिन्दु रास्ट्रवादकै वाटाे समातेका हुन ?
उपत्यकाव्यापी पुनरूत्थान महोत्सव-२०८० का केही तस्बिरहरू
उपत्यकाव्यापी पुनरूत्थान महोत्सव-२०८० का केही तस्बिरहरू
नेपाल वाइवल सोसाइटीको वृद्धी र विकासमा आफ्नो योगदान अतुलनीय रहेको तेज जीरेलको दावी
नेपाल वाइवल सोसाइटीको वृद्धी र विकासमा आफ्नो योगदान अतुलनीय रहेको तेज जीरेलको दावी
बाढीबाट पीडित परिवारहरुलाई ब्लाङकेट वितरण : तस्विरहरु
बाढीबाट पीडित परिवारहरुलाई ब्लाङकेट वितरण : तस्विरहरु
क्रमिक विकासको सिद्धान्तलाई चिर्दैः ईश्वरको अस्तित्वको प्रमाण फेला A surgery of Evolution Theory: Discovery of Evidence of Existence of God.
क्रमिक विकासको सिद्धान्तलाई चिर्दैः ईश्वरको अस्तित्वको प्रमाण फेला A surgery of Evolution Theory: Discovery of Evidence of Existence of God.
संयुक्त राष्ट्रिय नेपाली चर्च परिषद (UNNCC) पुनर्गठन : अध्यक्षमा डा. पा. सुन्दर थापा र राष्ट्रिय संयोजकमा पा. भव घले
संयुक्त राष्ट्रिय नेपाली चर्च परिषद (UNNCC) पुनर्गठन : अध्यक्षमा डा. पा. सुन्दर थापा र राष्ट्रिय संयोजकमा पा. भव घले
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम