काठमाडौं, जेष्ठ २५ — नेपालको संविधानले सुनिश्चित गरेका मौलिक हक, समानता तथा धार्मिक स्वतन्त्रताको पक्षमा प्रतिनिधि सभामा निरन्तर आवाज उठाएको भन्दै एल.पि.जे. फेलोशिप नेपाल ले प्रतिनिधि सभा सदस्य तथा श्रम संस्कृति पार्टीकी सांसद माननीय राधिका रम्तेल लाई प्रशंसा-पत्र प्रदान गरेको छ।

सिंहदरबारस्थित श्रम संस्कृति पार्टीको संसदीय दलको कार्यालयमा आयोजित कार्यक्रममा एल.पि.जे. फेलोशिप नेपालका अध्यक्ष श्री दिनेश न्यौपाने र कार्यकारी निर्देशक अधिवक्ता रामेश्वरी जोशी ले संयुक्त रूपमा प्रशंसा-पत्र हस्तान्तरण गर्नुभएको थियो र निर्देशक रामेश्वरी जोशीले दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।

प्रशंसा-पत्रमा नेपालको संविधानले प्रत्याभूत गरेका स्वतन्त्रताको हक, समानताको हक तथा धार्मिक स्वतन्त्रताको हक लगायतका नागरिक अधिकारका विषयमा संसदमा प्राथमिकताका साथ आवाज उठाएकोमा सांसद रम्तेलको योगदानको उच्च मूल्यांकन गरिएको छ। साथै निष्पक्ष, जिम्मेवार र जनउत्तरदायी सांसदका रूपमा उहाँले निर्वाह गर्नुभएको भूमिकाको समेत प्रशंसा गरिएको छ।

कार्यक्रममा बोल्दै एल.पि.जे. फेलोशिप नेपालकी कार्यकारी निर्देशक अधिवक्ता रामेश्वरी जोशी ले संविधानप्रदत्त अधिकारहरूको संरक्षण र कार्यान्वयन लोकतान्त्रिक शासन व्यवस्थाको आधारभूत आवश्यकता भएको बताउनुभयो। उहाँले भन्नुभयो, “धार्मिक स्वतन्त्रता, समानता र मानव अधिकार कुनै समुदाय विशेषका विषय मात्र होइनन्, ती प्रत्येक नेपाली नागरिकका संवैधानिक अधिकार हुन् । यी अधिकारहरूको संरक्षण र प्रवर्द्धनका लागि संसदमा आवाज उठाउने जनप्रतिनिधिहरूलाई प्रोत्साहन गर्नु आवश्यक छ।”

त्यसैगरी एल.पि.जे. फेलोशिप नेपालका अध्यक्ष श्री दिनेश न्यौपानेले धार्मिक स्वतन्त्रता र नागरिक अधिकारको विषयमा सांसद रम्तेलले निर्वाह गर्नुभएको भूमिकाको प्रशंसा गर्दै भन्नुभयो, “संविधानले सुनिश्चित गरेका मौलिक अधिकारहरूको रक्षा र प्रवर्द्धन लोकतान्त्रिक समाजको आधार हो । संसदजस्तो सर्वोच्च जनप्रतिनिधिमूलक संस्थाभित्र नागरिक स्वतन्त्रता, समानता र धार्मिक स्वतन्त्रताका पक्षमा स्पष्ट रूपमा आवाज उठाउनु साहसिक र प्रशंसनीय कार्य हो । यस्ता प्रयासहरूले नेपालको लोकतन्त्रलाई अझ समावेशी, न्यायपूर्ण र अधिकारमुखी बनाउन योगदान पुर्‍याउँछन्।”

प्रशंसा-पत्र ग्रहण गर्दै माननीय राधिका रम्तेलले आफूले संसदमा उठाएका विषयहरू कुनै एक समुदायको मात्र नभई सम्पूर्ण नेपाली नागरिकको संवैधानिक अधिकारसँग सम्बन्धित रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “नेपालको संविधानले सबै नागरिकलाई समान अधिकार प्रदान गरेको छ। ती अधिकारहरूको संरक्षण र कार्यान्वयन सुनिश्चित गर्नु हामी जनप्रतिनिधिहरूको साझा दायित्व हो । आगामी दिनहरूमा पनि नागरिक स्वतन्त्रता, धार्मिक स्वतन्त्रता, समानता र मानव मर्यादाको पक्षमा मेरो आवाज निरन्तर रहनेछ।”

एल.पि.जे. फेलोशिप नेपालले सांसद रम्तेलले संसदमा नागरिकका मौलिक अधिकार, धार्मिक स्वतन्त्रता तथा समानताको विषयमा देखाउनुभएको सक्रियता सम्पूर्ण नेपाली समाजका लागि प्रेरणादायी रहेको उल्लेख गर्दै उहाँको सफल संसदीय कार्यकालको शुभकामना व्यक्त गरेको छ।

कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्व, ख्रीष्टियन समुदायका अगुवा तथा अभियन्ताहरुको उपस्थिति रहेको थियो । सहभागीहरूले संविधानप्रदत्त अधिकारहरूको प्रभावकारी कार्यान्वयन, धार्मिक स्वतन्त्रताको सुनिश्चितता तथा सबै नागरिकबीच समान व्यवहारको वातावरण निर्माणका लागि राज्यका निकाय र जनप्रतिनिधिहरूले अझ सशक्त भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रमको संयोजन तथा सञ्चालन ख्रीष्टियन अगुवा एवं सामाजिक अभियन्ता एलिएजर जोङ्पाले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *