Jaya Mashi

कर्णाली प्रदेश संयुक्त जवान शिखर सम्मेलन २०८१ सफलताको संदेश, योगदान र प्रभाव

कर्णाली प्रदेशका सम्पूर्ण चर्चहरूको संयुक्त प्रयासबाट यही असोज २२-२४ गतेसम्म प्रादेशिक स्तरमा दोश्रो संयुक्त जवान शिखर सम्मेलन सफलपूर्ण सम्पन्न गरेको छ । कार्यक्रमका अध्यक्ष रेभ. पदम गैरे ज्यू र सम्पूर्ण आयोजक समिति धन्यवादका पात्र हुनुहुन्छ । प्रदेशका सम्पूर्ण जिल्लाबाट लगभग ३,५०० युवाहरुको उत्साहपूर्ण सहभागिता रहेको यस सम्मेलनले नेपाली चर्च समुदायलाई उत्साहपूर्ण दीर्घकालीन प्रभाव राख्ने महत्त्वपूर्ण संदेश दिएको छ । साथै ख्रीष्टियन समुदायको तर्फबाट राज्यलाई नयाँ चुनौती दिन पनि सम्मेलन सफल भएको छ ।

(१) एकताको संदेश : नेपाली सभ्यताको थलो कर्णाली, नेपाली चर्च एकताको थालनीको थलो सिद्ध भएको छ । विभिन्न चर्च सम्प्रदायहरु; ए. ओ.जी., एन.सी.एफ., ब्याप्टिस्ट, विलिभर, ग्रेस, विश्राम, इङ्लिकन, म्याथोडिस, पेन्तिकोस्तल, गोस्पाल, साथै बहुसंख्यक स्वतन्त्र चर्चहरुको संयुक्त प्रार्थना, सहभागिता, साझेदार, सहकार्य र परिश्रममा यो शिखर सम्मेलन सम्मपन्न भएको छ । आ-आफ्नो निजी स्वार्थ र इच्छाहरुलाई थाती राखेर परमेश्वरको महिमा र समग्रह चर्चहरूको हितलाई प्राथमिकता राखी महान आज्ञा पूरा गर्न एक ठाउँमा एकतामा खडा भई यस सम्मेलनलाई सफल पार्नु नै समग्र नेपाली ख्रीष्टियन समुदायले अनुशरण गर्नुपर्ने एकताको संदेश हो । कर्णालीबाट सुरुवात भएको यो एकता र सहकार्य अब नेपालका अन्य प्रदेशहरुले पनि सिक्नु पर्दछ ।

(२) चर्च सबल भएको सन्देश : शिखर सम्मेलनलाई सफल पार्न आवश्यक आर्थिक व्यवस्थापन नेपाली मण्डलीहरुबाट नै गरिनु अर्को एक महत्त्वपूर्ण प्रयास हो । नेपाली मिसनको लागि आवश्यक श्रोत जुटाउन नेपाली मण्डलीहरु सबल छन् भन्ने बलियो सन्देश प्रवाह भएकोछ । राष्ट्रिय स्तरका विज्ञ र योग्य वक्ताहरुले विभिन्न विषयमा प्रशिक्षण गर्दा अब अन्तराष्ट्रिय प्रशिक्षकहरुको खासै अनिवार्यता नभएको प्रष्ट हुन्छ । चर्चहरु सबल भएका छन् । तर हामीमा स्रोत-साधनको पहिचान, उचित व्यवस्थापनको लागि योग्य अगुवापनको जरूरत छ । दर्शन देख्ने र दर्शन अनुसारको मिसनमा कटिबद्ध हुने नेतृत्व विकास अबको आवश्यकता भएकोछ ।

(३) राज्यको दृष्टि उघ्रनु पर्छ : कर्णाली प्रदेशका मुख्य मन्त्रीले सम्मेलन उद्घाटन सत्रमा बोल्दै गर्दा भन्नु भएको कुरा, “अब ख्रीष्टियन समुदाय नीतिगत रुपमा अगाडि आउनु पर्छ । र राज्यको मूलधारमा सहभागिता हुनुपर्छ ।” यो भनाई भित्र धेरै कुराहरु लुकेका छन् । ख्रीष्टियन समुदाय र यसले ओगट्ने जनसंख्या देखेर राज्यको आँखा खुल्नु जरूरत छ । राज्यको नीति निर्माणमा चर्च समुदायको सहभागिता अनिवार्य छ । त्यतिले मात्र पुग्दैन । त्यसकारण अब नेपाली ख्रीष्टियन युवाहरुलाई व्यवस्थापिका, न्यापालिका, कार्यपालिका, राज्यका सबै अंगहरुमा पुर्याउने रणनितीक प्रयास अब चर्चहरुको हुनुपर्दछ । संघीय, प्रदेश र स्थानीय निकायहरुले चर्च समुदायको संगठन, स्रोतसाधन र जनशक्तिलाई राज्य निर्माणमा समान सहभागिताको अवसर प्रदान गर्न उदार हुनुपर्दछ ।

निष्कर्ष : कर्णाली प्रदेशको जवान शिखर सम्मेलन २०८१ ले युवा पुस्तहरुमा नयाँ अभियानको आरम्भ गरेको छ । प्रविधिको अधिकतम विकास भएको युवाहरुको युगमा नेपाली ख्रीष्टियन समुदायको सहभागिता राज्यको हरेक तह र निकायमा पुर्याउनु पर्छ । कर्णाली ख्रीष्टियन समुदायको यो प्रयास अब सबै प्रदेशले सिकौ । नेपाली मण्डली, नेपाली मिशन, यसैबाट गरौं नेपालको रूपान्तरण ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?