एलपीजे (LPJ) फेलोसिप: स्थापना र सतावटदेखि कानुनी उपचारसम्मको हाम्रो यात्रा
- अधिवक्ता रामेश्वरी जोशी एलपीजे (LPJ) फेलोसिप नेपालको स्थापना र पृष्ठभूमिसँग मेरो गहिरो सम्बन्ध र लामो यात्रा जोडिएको छ ।
- यो संस्था कसरी जन्मियो भन्ने कुरा बुझ्न हामी केही दशक अगाडि फर्किनुपर्छ ।
- अधिवक्ता रामेश्वरी जोशी
एलपीजे (LPJ) फेलोसिप नेपालको स्थापना र पृष्ठभूमिसँग मेरो गहिरो सम्बन्ध र लामो यात्रा जोडिएको छ । यो संस्था कसरी जन्मियो भन्ने कुरा बुझ्न हामी केही दशक अगाडि फर्किनुपर्छ ।
२०५० सालतिरको कुरा हो, म आइएल (कानुन) पढ्दै थिएँ । मैले कानुन अध्ययन गर्नुको एउटै मुख्य कारण पञ्चायत कालमा नेपाली इसाईहरूमाथि भइरहेको चरम सतावट थियो । एक दिन वकिल बनेर सतावटमा परेका हाम्रा निर्दोष नेपाली इसाईहरूलाई कानुनी सहायता गर्छु भन्ने अठोटका साथ म यस क्षेत्रमा प्रवेश गरेकी थिएँ ।
त्यस समयको एउटा हृदयविदारक घटनाले मलाई भित्रैदेखि दुःखी बनाएको थियो । करिब सय वर्ष पुगिसकेका एक जना निर्दोष बाजेलाई धर्म परिवर्तन गराएको झुटो आरोपमा ५ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना तोकिएको थियो । जेलभित्र दिइएको क्रूर यातनाका कारण पछि अस्पताल भर्ना गर्दा उहाँको होस नै थिएन । यस्तो अमानवीय अत्याचार हुँदा पनि इसाईहरूले कहिल्यै ढुङ्गा हानेर वा हिंसात्मक रूपमा प्रतिकार गरेनन् । बरु, हाम्रा अग्रज अगुवा र विश्वासीहरूले निरन्तर घुँडा टेकेर प्रार्थना गरिरहनुभयो ।
समय बित्दै गयो, म वकिल बनेर निस्कने बेलासम्ममा देशमा प्रजातन्त्र आइसकेको थियो र नेपालका जेलका ढोकाहरू खुले । ती बाजेको मुद्दा पनि सरकारले खारेज गरिदियो र इसाईहरूलाई सताउने तत्कालीन शासकहरूको पनि पतन भयो । यो घटनाबाट मैले एउटा ठुलो पाठ सिकेँ— म एक जना वकिल एक्लैले लडेर एक-दुई वटा मात्र जेलका ढोका खुल्थे होलान्, तर हाम्रा अग्रजहरूको प्रार्थनाले त कानुन नै बदलिदियो र सबै ढोकाहरू खोलिदियो। त्यसैले लाइसेन्स प्राप्त वकिल भए तापनि सुरुमा म कानुन व्यवसायमा नलागी मण्डलीको सेवकाइमा होमिएँ । यसका साथै, पीडित सेवा सङ्घमा पनि आबद्ध भएर काम गरेँ । मैले पहिलो पटक दिदी बहिनी र बाल संगती साढे चार वर्षसम्म बालाजु क्वाइनोनिया मण्डलीमा गरें । हिमालयन सुसमाचारीय मण्डलीमा सात वर्ष दिदी बहिनी सॅंगती, तिन वर्ष प्रार्थना संगती । २०५० सालदेखि बेला बेलामा पीडित सेवा संघ अन्तर्गट रहेर महिला कारागार भित्र परामर्स तथा वचन प्रचारको सेवा पनि गरें, केही वर्ष त्यस सॅंगठनको अध्यक्षको कार्यवाहकको रुपमा पनि रहें ।
तर, समयक्रमसँगै परिस्थिति फेरियो । २०७२ सालमा संविधान संशोधन भई ‘सनातनी’ भन्ने शब्द थपिएपछि धर्मनिरपेक्षता फितलो भएको महसुस भयो र फेरि इसाईहरूमाथि सतावट बढ्न थाल्यो। यो अवस्था देखेपछि एउटा वकिल भएको नाताले म चुप लागेर बस्न सकिनँ । हाम्रो इसाई समुदायमा आज वरिष्ठ अधिवक्ता, पत्रकार, प्रहरी र सेनाका उच्च अधिकारीहरूसहितका ठुल्ठुला पदमा पुगेका व्यक्तिहरू हुनुहुन्छ । यद्यपि, बाइबलको सिद्धान्तअनुसार हामी कहिल्यै हिंसात्मक प्रतिकार गर्दैनौँ ।
“म वकिल भएर पनि किन चुप लागेर बस्ने ?” र “एक जना वकिलले मात्र लडेर सबैलाई न्याय दिन सकिँदैन” भन्ने महसुस भएपछि मैले हाम्रा क्रिश्चियन वरिष्ठ अधिवक्ता, प्रहरी अफिसर र पत्रकारहरूलाई एकै ठाउँमा जम्मा गर्ने प्रयास गरेँ । सतावटमा परेका निर्दोष विश्वासीहरूको पक्षमा सामूहिक रूपमा कानुनी लडाइँ लड्न र बहस पैरवी गर्न मैले उहाँहरूलाई आग्रह गरेँ । मेरो निरन्तरको प्रयास, कहिलेकाहीँको झगडा र रुवाइपछि उहाँहरू आफ्नो व्यस्तताका बाबजुद पनि यस कार्यका लागि एकै ठाउँमा आउन तयार हुनुभयो ।
यसरी ‘एलपीजे (LPJ) फेलोसिप नेपाल’ को स्थापना भयो। यो विशेषगरी क्रिश्चियन वकिल (Lawyers), पत्रकार (Journalists) र प्रहरी (Police) हरू मिलेर बनेको एउटा सङ्गठन हो । अहिले यसमा राजनीतिक क्षेत्रका उच्च ओहोदाका विश्वासी जनहरू सम्मिलित एउटा छुट्टै राजनीतिक विभाग पनि थपिएको छ । यो कतै दर्ता नभएको एउटा स्वतन्त्र मञ्च (Loose Forum) र सेवा सङ्गतिको रूपमा नेपालभरि सक्रिय छ । हाम्रो यस सङ्गठनको पहिलो र मुख्य प्राथमिकता प्रार्थना र सङ्गति नै हो । सर्वशक्तिमान् परमेश्वरलाई गरिने साँचो प्रार्थनामा नै सबैभन्दा ठुलो शक्ति हुन्छ र बदला लिने काम परमेश्वरको हो भन्ने हाम्रो अटल विश्वास छ । सडकमा उत्रिएर झगडा गर्नुको सट्टा आफ्नो कानुनी दायरा र धार्मिक परिधिभित्र बसेर काम गर्ने भएकाले नै यसको नामको पछाडि ‘फेलोसिप’ राखिएको हो ।
हामी कानुन, पत्रकारिता, सुरक्षा र राजनीति गरी विभिन्न ३-४ वटा क्षेत्रका विज्ञ विश्वासीहरूलाई एकै ठाउँमा ल्याएर सङ्गठित रूपमा काम गर्छौँ । यस संस्थाले मुख्यतः निम्न कार्यहरू निरन्तर गरिरहेको छ : १. सतावटमा परेका क्रिश्चियन अगुवा तथा विश्वासीहरूलाई कानुनी उपचार र सहायता प्रदान गर्ने र निर्दोषहरूलाई छुटकारा दिलाउन कानुनी लडाइँ लड्ने २. नागरिक कानुन र धर्मसम्बन्धी कानुनले दिएका हकअधिकारहरूबारे क्रिश्चियन अगुवा र साधारण विश्वासीहरूलाई अवगत गराउन अन्तरक्रिया तथा जनचेतनाका कार्यक्रमहरू सञ्चालन गर्ने ३. आवश्यक परेका व्यक्तिहरूलाई निःशुल्क कानुनी सल्लाह (Counseling) दिने र सानातिना समस्यामा एकअर्कालाई सहयोग गर्ने ।
२०७२ सालको संविधान संशोधनपश्चात् बढेको सतावटको बिचमा जन्मिएको यो फेलोसिप आज नेपालभरिका सतावटमा परेका क्रिश्चियनहरूको आवाज बनेको छ। हामी आवश्यकता पर्दा जुनसुकै बेला निर्दोषहरूको रक्षा गर्न र उनीहरूलाई न्याय दिलाउन कानुनी र आत्मिक रूपमा सधैँ तत्पर छौँ ।
प्रतिक्रिया
सम्बन्धित खबर
यो पनि पढौँ
छुटाउनुभयो कि ?
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
विदुर अधिकारीको नेतृत्वमा विपद व्यवस्थापन समीति गठन
संविधानसभामा पहिचान लुकाइरहेका इसाई सभासदहरु र बिनोद पहाडीको भूमिका
नेपालगन्जमा प्रि ख्रिस्टमस कार्यक्रम सम्पन्न
रुकुम र जाजरकोटका पास्टर अगुवाहरु भुकम्प प्रभावित क्षेत्रमा उद्धार र सहयोगमा जुट्दै
अव्यवस्थित मण्डलीबाट व्यवस्थित र उद्देश्यपूर्ण मण्डलीतर्फ
हामी सबैले अगमवाणी बोल्न सक्छौँ
बाइबलीय अर्थमा विवाह र परिवारको परिभाषा







