हामी सबैले अगमवाणी बोल्न सक्छौँ
- – विमल क्षेत्री शिर्षक पढ़्दा सायद झस्किनु भयो होला है ?
- तर यो कुरा साँचो हो, हामी सबैले अगमवाणी बोल्न सक्छौ।
– विमल क्षेत्री
शिर्षक पढ़्दा सायद झस्किनु भयो होला है ? तर यो कुरा साँचो हो, हामी सबैले अगमवाणी बोल्न सक्छौ। होइन कस्तो अचम्मको कुरा गर्नुभो, हामीले कसरी अगमवाणी बोल्न सक्छौ ? अगमवाणी त अगमवक्ताले पो बोल्छ होईन र ? यस्तो प्रश्न मनमा आउनु स्वभाविकै हो, अनि अगमवाणी र अगमवक्ता सम्बन्धि हामी प्रायले बुझेको कुरा पनि यति नै हो। तर बाइबल (नयाँ करारमा) अगमवाणी परमेश्वरले मण्डलीमा सबैलाई दिनुभएको सेवा हो।
अवस्य अगमवाणी त अगमवक्ताले नै बोल्छ अर्थात अगमवाणी बोल्नेलाई नै अगमवक्ता भनिन्छ। तर नयाँ करारमा ‘अगमवाणी बोल्नु’ र ‘अगमवक्ताको सेवा’ अलग अलग कुरा हो जसलाई दुईवटा स्तरहरुमा राखिएको छ-पहिलो अगमवक्ताको सेवाकाई (एफिसी 4:11) दोस्रो अगमवाणीको सेवाकाई (रोमी 12:6) अगमवक्ताको सेवाकाई चाहिॅं पन्चदलिय सेवाहरुमध्ये जस्तै प्रेरित, शिक्षक, पाष्टर र प्राचारकसॅंगै एउटा सेवाकाई हो तर अगमवाणीको सेवकाई विश्वासको परिणाम अनुसार प्रयोग गरिने बरदान हो। (रोमी 12:6)
प्रेरित पावलले कोरिन्थीको मण्डलीलाई पत्र लेख्नुहुँदा बरदान, सेवा र कामको कुरा गर्नु भएको छ। “वरदानहरू विभिन्न किसिमका छन्, तर पवित्र आत्मा एउटै हुनुहुन्छ। सेवाहरू धेरै थरीका हुन्छन्, तर प्रभु एउटै हुनुहुन्छ। कामहरू धेरै किसिमका छन्, तर उनै परमेश्वरले हरेकलाई ती काम गर्ने प्रेरणा दिनुहुन्छ।” यसकारण हामी सबैजना अगमवक्ता होइनौं तर हामी सबैले अगमवाणी बोल्नसक्छौ। अर्को शव्दमा भन्नुपर्दा अगमवाणी सबैजनाले बोल्नुसक्छ तर अगमवाणी बोल्ने सबैजना अगमवक्ता हुँदैनन्। (१ कोरिन्थी 12:4-6 NNRV)
१ कोरिन्थी 14 अध्यायमा प्रेरित पावलले अन्यभाषालाई भन्दा धेरै अगमवाणी बेल्ने कुरालाई जोड दिएका छन् जस्तै- “..आत्मिक वरदानहरूका निम्ति उत्कट अभिलाषा राख, विशेष गरी अगमवाणी बोल्नका निम्ति।” (१ कोरिन्थी 14:1 NNRV) “तर अगमवाणी बोल्ने हरेकले मानिसहरूसँग नै बोल्दछ। तिनीहरूका आत्मिक वृद्धि, उत्साह र सान्त्वनाको निम्ति ऊ बोल्दछ।” (१ कोरिन्थी 14:3 NNRV) “..अगमवाणी बोल्नेले मण्डलीको आत्मिक वृद्धि गराउँछ।” (१ कोरिन्थी 14:4 NNRV) “.., तर त्यसभन्दा अझ बढ़ी तिमीहरूले अगमवाणी बोलेका म चाहन्छु।..” (१ कोरिन्थी 14:5 NNRV) “..मण्डलीको आत्मिक वृद्धिको निम्ति कसैले अर्थ खोलिदिएन भने, अन्य भाषामा बोल्नेभन्दा अगमवाणी बोल्ने श्रेष्ठ हो।” (१ कोरिन्थी 14:5 NNRV)

प्रेरित पावलले अन्यभाषा भन्दा बढी अगमवाणी बोल्न किन जोड दिए त ? यसको कतिवटा कारणहरु थियो तर त्यस मध्ये एउटा कारण बारे बचनले यस्तो भन्दछ- “तर अगमवाणी बोल्ने हरेकले मानिसहरूसँग नै बोल्दछ। तिनीहरूका आत्मिक वृद्धि, उत्साह र सान्त्वनाको निम्ति ऊ बोल्दछ।” (१ कोरिन्थी 14:3 NNRV) यसैकारण अघिल्लो पदमा उनले लेखेका छन्- “.., तर त्यसभन्दा अझ बढ़ी तिमीहरूले अगमवाणी बोलेका म चाहन्छु।..” (१ कोरिन्थी 14:5 NNRV) उनको चाहाना थियो सबैजनाले अगनवाणी बोलुन् भन्ने तर यो भनाई अगमवक्ताहरु र विशेष वरदान प्राप्त मानिसहरुको निम्ति मात्र भनिएको थिएन तर सबैको निम्ति भनिएको थियो। यो भनाई कसरी अरु सबै बर्गका मानिसहरुलाई पनि सन्बोधन गरेर भनिएको थियो ? यसलाई सजिलो प्रकारले बुझ्ने कुरा यसै अध्यायको पद तीनमा यसरी लेखिएको छ- “तर अगमवाणी बोल्ने हरेकले मानिसहरूसँग नै बोल्दछ। तिनीहरूका आत्मिक वृद्धि, उत्साह र सान्त्वनाको निम्ति ऊ बोल्दछ।” (१ कोरिन्थी 14:3 NNRV)
वास्तवमा पावलले यस पदमा अगमबाणीलाई अति सरल रुपमा परिभाषित गरिदिएका छन्। तर हामीले अगमवाणीलाई जसरी बुझेको छौ त्यसले अगमबाणीलाई अझै जटिल (complicated) बनाई दिएको छ। किनभने हाम्रो बुझाई अनुसारको अगमवाणी भनेको ‘कसैको मनको कुरा भनिदिनु’ वा ‘कसैको भविष्यको बारे भनिदिनु’ र अरु यस्तै यस्तै हो। अनि यस्तो अगमवाणी बोल्नलाई त हामीले पनि मोसा, शमुएल र एलियाले जस्तै परमेश्वरलाई देख्नु र सुन्नु पर्छ भनेर अगमवाणी भन्नुसाथ हाम्रो संकिर्ण विश्वासले यसलाई जटिल बनाईदिन्छौं। अवस्य कसैको मनको कुरा भनिदिनु वा कसैको भविष्यको बारे भनिदिनु पनि अगमवाणी नै हो तर यति मात्र चाहिॅं अगमवाणी होइन।
त्यसो भए हामी सबैले गर्न सकिने अगमवाणी के हो त ? अनि हामी सबैले कसरी अगमवाणी बोल्न सक्छौ ?
यसको उतर अगमवाणी के हो ? भन्दा पनि यसले के कस्तो परिणाम ल्याउॅंछ ? भन्नेकुरा बुझ्न सक्यौ भने हामी सबैले अगमवाणी बोल्नसक्छौ। अनि यसले के कस्तो परिणाम ल्याउॅंछ भन्ने प्रश्नको उत्तर यसै अध्यायको पद 3 ले यसरी दिन्छ- “तर अगमवाणी बोल्ने हरेकले मानिसहरूसँग नै बोल्दछ। तिनीहरूका आत्मिक वृद्धि, उत्साह र सान्त्वनाको निम्ति ऊ बोल्दछ।” (१ कोरिन्थी 14:3 NNRV) यसकारण अब बिचार गर्नुहोस- तपाईले कुनै मानिसलाई उत्साह र सान्त्वना दिनुहुँदैछ भने ( किनभने अगमवाणी बोल्ने हरेकले मानिसहरूसँग नै बोल्दछ) तपाईले अगमवाणी बोल्नुहुँदैछ।
हामीले अगमवाणी कसरी बोल्ने ? पहिलो कुरा त तपाईले कसैलाई बाइबलको बचन भन्नु नै अगमवाणी हो। किनभने परमेश्वरको बचन नै अगमवाणी हो। (२ पत्रुश 1:20-21) यसकारण तपाईले कसैलाई, “परमेश्वरले तपाईलाई प्रेम गर्नुहुन्छ” भन्नु अगमवाणी हो। तपाईले कोही बिमारीलाई, परमेश्वरले तपाईलाई निको पार्नुहुन्छ“ भन्नु अगमवाणी हो। परमेश्वरले बचनमा हाम्रो निम्ति उहाँको बिचारहरु प्रकट गर्नु भएको छ। हामी सृष्टि हुनुभन्दा अघि देखीको अनन्तसम्मको योजना, उदेश्य र प्रतिज्ञाको कुराहरु हामीले विश्वासमा कसैलाई भन्नु अगमवाणी हो।
यसरी तपाईले परमेश्वरको बचन बोल्नु र विश्वासमा घोषणा गर्नु अगमवाणी हो।
अनि त्यसरी नै तपाईले कसैको आत्मिक वृद्धि, उत्साह र सान्त्वनाको निम्ति केही गर्नु हुँदैछ अर्थात तपाईले बोलेका कुराहरुले कसैको आत्मिक वृद्धि हुँदैछ, कसैले उत्साह सान्त्वना पाउॅंदैछ भने त्यो अगमवाणी हो। यसैकारण प्रेरित पावलले “..तिमीहरूले अगमवाणी बोलेका म चाहन्छु।..” (पद 5) भनेर लेखेका हुन्। किनभने कुरा स्पष्ट थियो, अन्यभाषा परमेश्वरसॅंग बोलिन्छ तर अगमवाणी मनिसहरुसॅंग बोलिन्छ। (पद 2 र 3)
औ अन्यभाषाले बोल्ने ब्यक्तिको मात्र सुधार हुन्छ तर अगमवाणीले त अरुको सुधार (आत्मिक वृद्धी गर्छ)। तर कोरिन्थीको मण्डलीले अन्यभाषालाई मात्र आफ्नो आत्मिकपन देखाउने आधार बनाए जब कि सभामा त्यसको भन्दा धेरै प्रयोग (फाइदा पुर्याउनसक्ने बरदान) अगमवाणी थियो तर कोरिन्थीको मण्डलीले शिष्टता र अनुशासनलाई पालन नगरी आत्मिक बरदानहरुमा गोलमाल ल्याईदिए। अन्यभाषा त शुरुको प्रार्थनामा होस कि, भेटीको प्रार्थनामा होस। चाहे खानाको प्रार्थनामा होस या यस्तै अरु कुनै पनि प्रार्थनामा किन न होस जहिले पनि जतासुकै अन्यभाषामै मात्र प्रार्थना गर्नेहुँदा समस्याहरु उत्पन्न हुनथाल्यो यसैले अन्यभाषाको निम्ति पावलले मण्डलीलाई कतिवटा निर्देशनहरु दिनुपर्यो। तर अगमवाणी सन्बन्धि तिनको बिचार र निर्देशन जो थियो त्यो ब्याक्तिगत होइन तर समुह अर्थात मण्डलीको निम्ति थियो जो आज पनि उपयोगी छ।
आफुलाई विशेष अगमवक्ताकै रुपमा प्रस्तुत गर्ने (मलाई प्रभुले यस्तो र त्यस्ते देखाउनु भयो भन्दै) आत्मिकपन देखाउॅंदै अगमवाणी बोल्ने होइन जसमा कसैको ब्याक्तिगत जीवनको कुराहरुलाई सार्वजनिक गरिदिएर सबैको सामु लज्जित पार्ने अगमवाणीहरु नबोलौं। यस्ता नचाहिन्दो निम्न स्तरको अगमवाणीहरुले कसैको सुधार हुदैन बरु त्यसको नकारात्मक प्रभावमा परेर कहिले मण्डली नआउने र मनमा चोट परेर प्रभुदेखी टाड़ा भएको कति दु:खद घटनाहरु मण्डलीमा देखिएको छ।
तिमीमा त व्यभिचारको आत्मा छ भन्ने, त्यो परिवारमा त डरलाग्दो मृत्यु आउॅंदैछ भन्ने र कुन देशको कुन राजनैतिक पार्टीले कति भोट पाउॅंछ र कुन नेताले जित्छ भन्ने जस्ता बिना अर्थको मनगढन्ते बिचारलाई अगमवाणीको नाम दिएर नकारात्मक कुराहरु नबोलौ औ यस्ता कुरा बोल्नेलाई अगमवक्ता भनेर स्विकार गर्नुपनि उचित हुँदैन तर मण्डलीको आत्मिक वृद्धि, उत्साह र सान्त्वनाको निम्ति नयाँ करारको मण्डलीलाई दिए अनुसार सरल अगमवाणी बोलौं जो सबैले विश्वासमा सेवाको निम्ति बोल्न सक्छन्। “यसकारण भाइ हो, अगमवाणी बोल्ने उत्कट इच्छा गर,..” (१ कोरिन्थी 14:39 NNRV)
प्रतिक्रिया
सम्बन्धित खबर
यो पनि पढौँ
छुटाउनुभयो कि ?
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
राष्ट्रिय युवा आयोगको आयोजनामा शैक्षिक करियर विकास तथा परामर्श कार्यक्रम सम्पन्न
इसाई समाज कैलालीको आयोजनामा एक दिने रक्तदान कार्यक्रम सम्पन्न
सातै प्रदेशका लागि जागृतिको प्रार्थना कार्यक्रम सम्पन्न
अब बोलेर पनि नेपालीमा टाइप गर्न सकिने
नेपाल वाइवल सोसाइटीको वृद्धी र विकासमा आफ्नो योगदान अतुलनीय रहेको तेज जीरेलको दावी
पवित्र आत्माको बप्तिस्मा भनेको के हाे ?
बाइबल कलेज द्वारा सुकुम्वासी वस्तीमा राहत वितरण







