पा. प्रवजन शाही ,संस्थापक , गुड न्युज नेपाल
के तपाईले कसैलाई प्रेम गर्नु भएको छ ? वा कसैले तपाईलाई प्रेम प्रस्ताव राखेको छ । एक चोटि यी दुई प्रश्नलाई अति गहनरूपमा विचार गर्नुहोस् त ! संसारमा सबैभन्दा बढी मानिसहरूले सुन्न चाहेको शब्दहरूमध्य पहिलो शब्द हो प्रेम । संसारमा प्रेम ३ प्रकारका हुन्छन् : इरोश, फिलियो र अगाप्पे प्रेम ।
जीवनमा हामीले हाम्रो परिवार, आफन्त, श्रीमान् श्रीमती, छोराछोरी, भाइबहिनी र आफ्ना मित्रहरुलाई प्रेम गरिरहेका नै हुन्छ, यस प्रकारको प्रेमलाई इरोश प्रेम भनिन्छ । यो हाम्रो जीवनको अनुभव पनि हो । हामीले संसारमा रहँदासम्म निष्कलङ वा निःस्वार्थ प्रेम न त पाउन सक्छौ, न अरुलाई दिन नै । संसारमा हामीले गर्ने प्रेममा शर्त लुकेर रहेको हुन्छ, कतिपटक स्वार्थी हुन्छ, त्यस्तो प्रेमलाई फिलियो प्रेम भनिन्छ । तर एउटा यस्तो प्रेम पनि छ जसले तपाईलाई निःस्वार्थ वा विनाशर्त प्रेम गर्छ । त्यो प्रेम मानिसले गर्ने जस्तो स्वार्थी प्रेम होइन, अगाप्पे प्रेम मानिसको सामर्थ्य भन्दा बाहिर आउँछ । अर्थात् मानिसले कहिल्यै पनि अगाप्पे प्रेम गर्न सक्दैन । हामी संसारमा रहँदासम्म कसैले पनि हामीलाई अगाप्पे प्रेम गर्न सक्दैन । तपाईलाई जन्म दिने तपाईकी आमाले तपाईले चाहेको जस्तो प्रेम नगर्न सक्नुहुन्छ, तपाईले प्रेम गरेको तपाईको प्रेमी वा प्रेमिकाले तपाईको प्रेमलाई नबुझ्न सक्छन् । हामीले कतिपटक साना लालाबालाहरुलाई आमा बाबाले छाडेर गएको खबरहरु पनि सुनेका छौं । सुन्दा पक्कै पनि नरमाइलो लाग्छ तर यसबाट एउटा कुराचाहिँ प्रष्टै हुन्छ । त्यो कुराचाहिँ यो हो कि : एक दिन पतन भएर जाने संसारमा कसैले पनि अगाप्पे प्रेम गर्न सक्दैन । तर बाइबलले बताउँछ, कि परमेश्वर यो प्रेम हुनुहुन्छ । अनि त्यो प्रेम नष्ट भएर जाने स्वार्थी प्रेम होइन तर तपाईले चाहेको जस्तो अगाप्पे प्रेम हो । तपाईका आफ्नै नजीकका मासिनहरुले तपाईलाई त्यागेतापनि परमेश्वरले तपाईलाई कहिल्यै पनि त्याग्नु हुँदैन किनकी परमेश्वर आफैले भन्नु भएको छ, ‘म तिमीलाई कुनै पनि रीतिले छोड्नेछैन, म तिमीलाई कहिल्यै त्याग्नेछैन ।’- हिब्रू १३:५
किन परमेश्वरले तपाईलाई कहिल्यै छाडदिन र कहिल्यै पनि त्याग्दिन भनेर प्रतिज्ञा गर्नुभयो ? किनकी उहाँले तपाईलाई अति प्रेम गर्नुहुन्छ त्यसैले यो धर्ति छोडीजाँदा स्वर्गमा आफूकहाँ आएको चाहनु हुन्छ ।
बाइबलले बताउँछ, ‘परमेश्वरले संसारलाई यति धेरै प्रेम गर्नुभयो कि उहाँले पापी मानिसलाई उसका सबै अधर्मबाट बचाउन आफ्नो एकमात्र पुत्र येशू ख्रीष्टलाई (शरीर) यस संसारमा दिनुभयो । ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले कहिल्यै नाश नहुने अनन्त जीवन पाओस् ।’ आज त्यही प्रेमिलो परमेश्वरले तपाईलाई भन्दै हुनुहुन्छ कि, म तिमीलाई प्रेम गर्छु ।