Jaya Mashi

ख्रीष्टियन रिपोर्टर्स क्लबको उद्घाटन :शब्दचित्र (फोटोहरु सहित )

वैशाख २४, ललितपुर । ख्रीष्टियन रिपोर्टर्स क्लबको संयोजनमा ललितपुर ढोलाहिटी स्थित कभनान्ट चर्चको हलमा “राजनीतिमा ख्रीष्टियनहरूको सहभागिता र अबको विकल्प” विषयक अन्तरक्रिया कार्यक्रम आयोजना भयो । ख्रीष्टियन रिपोर्टर्स क्लबका अध्यक्ष मनोज कुमार खड्काको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा क्लबका उपाध्यक्ष तथा सम्पादक गणेश ढकालले स्वागत मन्तव्यसाथ क्लबको उद्देश्य र योजनासाथै कार्यक्रमको लक्ष्य स्पष्ट पार्नुभयो । पास्टर माधव पौडेलल सुरूवाति प्रार्थना गर्नुभएपछि, ख्रीष्टियन रिपोर्टर्स क्लबको ब्यानर अनावरण (Unfurl) गरिएको थियो अनि प्रस्तावित रिपब्लिकन पार्टी नेपालका महासचिव विदुर अधिकारीले अन्तरक्रियाको विषयमाथि कार्यपत्र प्रस्तुत गर्दै राज्य सरकार र राजनीतिका बारेमा प्रचलित ५ वटा भ्रम, तिनको बारेमा सत्यता, र अबको विकल्प राष्ट्रिय राजनीतिमा ख्रीष्टियनहरूको अर्थपूर्ण प्रभाव नै हो भन्ने तर्क गर्नुभयो । राजनीतिको उपस्थितिबाट हामी भागेर कहीँ जान सक्दैनौं । परिवार, समाज र राज्य परमेश्वरले स्थापना गर्नुभएका संस्था हुन्, यसकारण हामी यिनीहरूबाट अलग रहन सक्दैनौं । सरकारले बलजफ्ती धर्म लागु गराउनुपर्छ, सरकारले धर्मलाई जीवनका सबै क्षेत्रबाट बहिस्कार गर्नुपर्छ, सरकार दुष्ट र शैतानिक हुन्छ ।

सुसमाचार प्रचारको काम गर, राजनीति होइन, राजनीति गर, सुसमाचार प्रचार होइन जस्ता गलत अवधारणा छन्, अपूरा छन्, उहाँको कथन थियो । आफ्नो उपस्थिति र असल कर्मद्वारा राज्य र सरकारमा इसाईहरूले सकारात्मक उदाहरण प्रस्तुत गर्नुपर्छ र प्रभाव पार्नुपर्छ । यसो गरिरहँदा, सबै नागरिकका लागि धार्मिक स्वतन्त्रता कायम राख्दै, शान्ति सम्वृद्धि र विकासका योगदान दिनुपर्छ । असहिष्णु, हिंसात्मक, घृणा फैलाउने, क्रोधित क्रियाकलापमा संलग्न बन्नुहुँदैन । तर सबैको मन जित्ने, गम्भीर, बौद्धिक, प्रेमिलो, साथसाथै नैतिक तथा ईश्वरीय मूल्यमान्यतामा दृढ रहेको जीवनशैली प्रस्तुत गर्नुपर्छ, कार्यपत्रको बाँकी अंशले बताउँछ । त्यसैगरी, बाइबल शिक्षक तथा पत्रकार शुकदेव गिरीले एउटै राजनीतिक मैदानमा धेरैवटा भकुण्डो खेलिनु नै इसाईहरूको राजनीतिक खेल विफल हुनुको कारण रहेको बताउँदै, किन एकतामा आउन सम्भव छैन भन्ने प्रश्न गर्नुभयो । लगत्तैपछि, जनता समाजवादी पार्टीका राजनीति समिति सदस्य दलमर्दन कामीले एकल नश्लीय र धार्मिक वर्चश्वक रहेको जिकिर गर्नुहुँदै, पूर्ण समानुपातिक प्रणाली जरूरी रहेको बताउनुभयो । प्रस्तावित नागरिक अधिकार पार्टीका नेता प्रेम बहादुर कार्कीले दल दर्ताको लागि सबै तयारी गरेर पनि, नयाँ दल जन्माउँदैजानुभन्दा, एकता गरेर जानु असल भनी त्यसकै लागि प्रयत्नशील रहेको, एकतामा मिलेर गएमा संख्यामा वृद्धि हुँदैगएको समुदायबाटै मत ल्याएर विजय पाउन सकिने कुरा बताउनुभयो । राष्ट्रिय मुक्ति आन्दोलनका संस्थापक अधिदलपति जयवन्त विक्रम शाहले आफू एकताको पक्षमा रहेको र यसका लागि विधि पद्धतिगत रूपमा जानुपर्ने प्रस्ताव गरेको बताउनुभयो । सबै तह र निकायमा इसाईहरूले सक्रियतापूर्वक सहभागिता जनाउँदै विजय पाउन सकिनेछ, उहाँको दावी थियो ।

त्यसैगरी, नेपाल ख्रीष्टियन समाजका अध्यक्ष ओमप्रकाश सुब्बाले चुनावका बेलामात्र मत माग्ने नभएर, दलहरूले इसाई समुदायको पक्षमा आवाज उठाउँदै गएमा सबै प्रकारको सहयोग रहने बताउनुभयो । सञ्चारकर्मी निरोज तोलाङेले कतिपय संस्थाका प्रतिनिधिहरू हराएको बताउँदै, इसाई समुदायले इसाई पत्रकार र सञ्चारकर्मीहरूलाई छिछिदूर गरेको, सहभागी नबनाएको र साथ सहयोग नगरेकोका असन्तुष्टि जनाउनुहुँदै, अब समुदायभित्रका बेथितिको बारेमा चुपलागेर नबस्ने कुरा बताउनुभयो । त्यसैगरी सञ्चारकर्मी विश्वास थापाले पुरानो नेतृत्व परीक्षित र असफल भइसकेको कारण नयाँ नेतृत्व जरूरी रहेको जिकिर गर्नुभयो । जनजागरण पार्टी नेपालका अध्यक्ष डा. बिपी खनालले आफू सधैं एकताको पक्षमा रहेको, धेरै पटक लचिलो बनेर अरूलाई पार्टी सुम्पेको, तर राजनीतिमा अतिसय लचकता पनि हानिकारक रहने बताउँदै, नयाँ नयाँ दलहरू खोलिएको र तिनको प्रचार भएकोमा असन्तुष्टि जनाउनुभयो । पत्रकार कुमारसिं विष्टले बुँदागत रूपमा सल्लाह सुझाव राख्दै दलहरूका बिचमा एकता, सामाजिक सञ्जालको सदुपयोग, गाउँगाउँमा संगठन विस्तार, समुदायमा राजनीतिक सचेतनाका कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणा राख्नुभयो । The Evangelical Christian Alliance of Nepal (ECAN) का संस्थापक अध्यक्ष डा। साइमन पिटरले लुका ४ अध्यायबाट येशूको सेवाकार्यको उदाहरण दिँदै, राजनीति र मिडिया पनि एउटा बोलावट हो, सेवाको काम हो भन्ने बताउनुभयो । साथै ख्रीष्टियन रिपोर्टस क्लब नेपाललाई शुभकामना दिँदै क्लबलाई आफ्नो साथ सहयोग रहने बताउनुभयो । अन्त्यमा, कार्यक्रमका सभापतिले सबै वक्ता तथा उपस्थितलाई धन्यवाद दिँदै यस्तो कार्यक्रम अबदेखि नियमित रूपमा विभिन्न विषयमा आयोजना गरिने बताउनुभयो । यसरी विभिन्न दल, संघसंगठन, सेवाकार्य, सञ्चारकर्मीहरूको उपस्थितिमा कुशलतापूर्वक सम्पन्न उक्त कार्यक्रम निकै विचारोत्तेजक र महत्त्वपूर्ण रहेको सहभागीहरूको धारणा रहेको थियो ।

कार्यपत्रबाटका केही अंशहरूः अझ अगाडि जाँदा, नीति, राजनीति, राज्य र सरकारका सन्दर्भमा, कुनै पनि दलका अगुवा, वा साधारण मतदातासमेतले सामना गर्नुपर्ने र स्पष्ट हुनुपर्ने केही गम्भीर मुद्दाहरू यी हुन्ः जीवनको सुरक्षा (जीवन कहिले सुरू हुन्छ, यसको पवित्रता), विवाह र परिवार (स्त्री र पुरूषका बिचमा मात्रै विवाह, समलिंगी विवाह नैतिक रूपमा गलत र जैविक रूपमा पुनरूत्पादनहीन छ) । अर्थ व्यवस्था (व्यक्तिको स्वामित्व रहन्छ प्राकृतिक स्रोतसाधन र सम्पत्ति माथि), वातावरण (प्रकृतिको संरक्षण र उपयोग मानिसको निम्ति हो, प्रकृतिको निम्तिमात्रै, पूजा गर्नको निम्ति होइन) राष्ट्रिय सुरक्षा र सीमाना (राष्ट्र र सीमाना मानिसको मात्रै धारणा वा इच्छा होइन, जीवनको आयु र सीमा परमेश्वरबाटै तोकिएका हुन्छन्, प्रत्येक राष्ट्र, जाति समूह स्वतन्त्र रहेर काम गर्न सक्षम हुनुपर्छ, वैश्विक सरकार, एक सरकारको अवधारणा बाबेलको धरहराको नयाँ रूप हो) । विदेश नीति (माथिल्लो सँगै जोडिन्छः प्रत्येक सानो ठूलो राष्ट्र सार्वभौम छ) । अभिव्यक्ति स्वतन्त्रता (सामान्यतया निर्वाध, विशेष परिस्थितिमा सीमित गरिन सकिन्छ) धार्मिक स्वतन्त्रता । विशेष समूहहरू, मिडिया र पूर्वाग्रह (सामान्य रूपमा सत्य तथ्य निश्पक्ष रूपमा प्रस्तुत गर्ने काम हो) गम्भीर विषयमा गहिराइमा पुगेर विश्लेषण गर्नसक्छन्, र यसरी सही मुद्दाको पक्षमा जनमत, अभिमत सृजना गर्न सक्छन् । अहिले विशेगरि परम्परागत नैतिक मूल्यमान्यताको विरूद्धमा, परिवार र धार्मिकताको विपक्षमा, अनैतिकता र स्वेच्छाचारिताको पक्षमा मिडियाले जोडतोडले प्रचार गरिरहेको पाइन्छ, त्यो गलत छ । वाचडगको रूपमा, पहरेदारको जिम्मेवारी सञ्चार जगत को हो । ध्रुविकरण र एकिकरणका सन्दर्भमाः अब धेरैवटा पसल थापेर बस्नुभन्दा, समग्र समुदाय, राजनीतिद्वारा सेवा गर्नु भन्ने दल बल व्यक्ति तथा राष्ट्रकै निम्ति समेत समान धार र विचार भएका दलहरू ध्रुविकृत हुनु उचित छ । यस अर्थमा, देशमा अहिले एकातर्फ परम्परागत दलहरू, बामपन्थी दलहरू, मध्यमार्गी दलहरू, क्षेत्रियतावादी दलहरू र लोकतान्त्रिक दलहरू देखिन्छन् । हामी इसाई आस्थाका समुदायका माझबाट लोकतान्त्रिक धारमा, पहिचान र समावेशिताको संरक्षण गर्दै, अन्य सीमान्तकृत दलबलहरू समेत समेटेर अगि बढ्न सकेमा, एक निर्णायक र नेतृत्वदायी दल बन्न सक्ने निश्चित छ । यसका लागि भेटवार्ता र छलफलहरू पनि चलिरहेका छन् । यो अन्तरक्रिया कार्यक्रम पनि त्यसै दिशातर्फको एक महत्त्वपूर्ण कदम हो, हुनेछ भन्ने मेरो विश्वास समेत छ । (कार्यपत्रबाट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
5
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?