लेखक चित्र ब. कार्की पेप्सीकोला, टाउनप्लानिंग स्थित नवजीवन मण्डलीको पास्टर हुनुहुन्छ ।
– चित्र ब. कार्की
मेरो विवाह २०५७ साल मंसिरमा काठमाडौंको लाजिम्पाट स्थित आशिष् मण्डलीमा भएको हो । नवदुलहा दुलही भर्खर विवाहपछि हनिमुनमा जानुपर्ने तर अर्कै कुराले हामीलाई विवाहपछि चिमोटी रहन्थ्यो । त्यो थियो हाम्रो अगाडि अटल पहाड झैँ उभिएको बेरोजगारी समस्या । के गर्ने होला भनी हामी प्रार्थना गर्न थाल्याैं । त्यसपछि विदेशमा हुँदा साथीसँग नेपाल फर्किएपछि के गर्ने होला भनी हामीले वनाएकाे योजनालाई सम्झिएँ । हामी विदेशमा हँदा बनेको योजना थियो चलिरहेको निजी विद्यालयमा लगानी गर्ने अनि त्यस योजनालाई सम्झेर मैले साथीलाई तुरुन्तै फोन गरेर उहाँसँग भेट्ने योजना गरियाे उहाँको नाम थियो मिलन अधिकारी जससँग कलेज पढ्दा चिनजान भएको थियो अनि उहाँकै कारण हामीसँगै विदेशमा काम गर्ने मौका पाइएको थियो । मिलन अधिकारीले विद्यालयमा लगानी गर्ने क्रममा पा. रामचन्द्र गौतमसँग पहिलोपटक भेट गराउनुभएको थियो । पा. रामचन्द्र गौतम हाेचा कद भएको हेर्नमा आकर्षक मुहारका धनी त्यसमा पनि सुहाउँदो जुँगा पालेका मिलनसार व्यत्तित्वका धनी भएको सहजै अनुमान लगाउन सकिन्थ्यो । अझ उहाँले मिलाएर लगाएको पहिरनले पनि उहाँ कस्तो व्यक्तित्व हुनुहुन्छ भन्ने कुराको अर्थ सहज नै खुल्दथ्यो । हाम्रो व्यापारिक सर सल्लाह चलिरहेको विद्यालय खरिद गर्दा राम्रो हुन्छ भनी पहिलो भेटमा नै निक्र्यौल निकालियो ।
त्यसपछि हामी पाँच जना भएर त्यस विद्यालयमा लगानी गरियो । विद्यालय प्रशासन हेर्ने काम मेराे जिम्मामा छाड्ने निर्णय भयाे र म पनि रामचन्द्र गौतमसँग पहिलोपटक उहाँको ठाउँ मनाेहरा (काँडाघारी) निरीक्षणमा आएँ । त्यो विद्यालय पनि उहाँकै पहलमा हामीले लिएका थियौं । पहिलाेपटक यस ठाउँमा आउँदा विशाल मनोहरा फाँटले मेरो मन नै चोर्याे । यहाँको पूर्वतिरबाट पश्चिम हुँदै कलकल गरी बग्ने स्वच्छ मनोहरा नदी, यसको आसपासमा रहेको हरियाली फाँटहरू अनि वाटाेकाे किनारामा उभिएका रुखहरू आफ्नो छुट्टै पहिचान बनाएको गान्धी स्कुलको अगाडि हाँसिरहेकाे कच्ची मोटर बाटो यसकै दायाँ बायाँ बनेका फाट्टफुट्ट घरहरूले मलाई स्वागत गरेको अनुभूति भयाे । मलाई रामचन्द्र दाइले आफ्नो घरमा लानुभयो, जहाँ उहाँले मेहनत गरेर बनाएकाे आधा रोपनीमा बनेको २.५ तल्ले घर थियो । उहाँले मलाई चियाको चुस्कीसँगै आफ्नो परिचय गराउनुभयो । त्यसपछि सायद यो ठाउँलाई मैले मन पराएको अनुभूति उहाँले गरेकाे हुनुपर्छ । उहाँले भन्नुभयो, “लौ तल कोठा हेर्न जाऊँ ।” हामी दुवै जनालाई उहाँको खाली रहेका तल्लाे तलामा डेरा लिनका लागि कोठाहरू देखाउनुभयो । मलाई उहाँको घरको सबैथोक मन पर्याे । म र मेरी नवविवाहित श्रीमती उहाँको घरमा डेरा सरेर हामीले संयुक्त रूपमा किनेको विद्यालयकाे रेखदेख साथै प्राध्यापनमा लाग्यौं । यसरी उहाँहरूको घरमा बस्दा मैले पास्टर रामचन्द्र गौतमलाई नजिक वाट चिन्ने मौका पाएं । उहाँको व्यक्तित्वले बताए जस्तै उहाँ एक सरल, शान्त र मिलनसार येशूको डर मान्ने व्यक्ति हुनुहुन्थ्यो । उहाँ स्थानीय मण्डलीको कामको लागि मरिमेटेर लाग्नुहुन्थ्यो । परिवारसँग त्यति धेरै बसेर समय नविताए पनि आफ्नी श्रीमतीको जिम्मामा रहेको घरप्रति ढुक्क हुनुहुन्थ्यो । उहाँलाई मैले नजिकबाट बुझ्ने अवसर पाएँ उहाँ छरछिमेकीको मद्दतको लागि जहिले पनि अग्रसर हुनुहुन्थ्यो यसरी उहाँले येशूले आफ्ना चेलाहरूलाई गर्नुभएको महान् आज्ञा “आफ्नो छिमेकीलाई आफैलाई जस्तो प्रेम गर (मर्कुस १२:३१ ) भन्ने वचन उहाँको जीवनबाट पालन भएको म पाउथे । विशेष गरेर कानुनी जटिलतामा रहेका छिमेकीहरूका लागि सहायता गर्न अहोरात्र खटिनुहुन्थ्यो यसरी हामी विद्यालयमा सँगसँगै काम गर्दा अझ हामी धेरै नजिकियौँ ।
त्यतिखेर उहाँ विभिन्न ठाउँमा घुम्न जान मन पराउनुहुन्थ्यो हामीले सँगसँगै हिमाल, पहाड र तराइको यात्रा गरियो जहाँ हामी प्रकृतिसँगै अनि खीष्टको प्रेम र सङ्गतिमा रमायौँ । मैले चिनेको पा. रामचन्द्र गौतम जति सामाजिक कार्यमा अग्रसर हुनुहुन्थ्यो त्यति नै प्रभुको काममा पनि आफ्नो समय तन, मन र धन दिन सक्ने व्यक्ति हुनुहुन्थ्यो । एउटा ज्वलन्त उदाहरणको रूपमा हाल कागेश्वरी मनहरा न.पा. वडा नं. ९ मा आफ्ने हक भाेगमा रहेको करिब १ रोपनी जग्गामा उहाँले पक्की घर बनाई प्रभुको सेवाको लागि समर्पण गर्नुभयो । यस कार्यबाट उहाँले प्रभुलाई कति प्रेम गर्नुहुन्छ भन्ने कुरा प्रमाणित हुन्छ । उहाँ आफैँले सुसमाचार प्रचारको लागि विभिन्न सुसमाचारीय पत्रपत्रिका छापेर प्रभुको महिमाको लागि वितरण गर्नुभयो । एक दिन मैले उहाँसंग जिज्ञासा राखें, दाइ हजुर किन यसरी परमेश्वरको कामको लागि मरिमेटेर लाग्नुभयो ?” जवाफमा उहाँले मलाई आफ्नो जीवनको अविस्मरणीय घटना सुनाउनुभयो । उहाँ टाइफाइड भएर कसरी मृत्यु र जीवनको दोसाँधमा हुनुहुन्थ्यो र यस्तो अवस्थामा रहदा त बाँचियो भनेर जीवनको अन्त्यसम्म प्रभु येशूको सेवामा जीवन बिताउने प्रतिज्ञा गर्नुभएअनुसार नै उहाँले आज यी सब गर्नुभएको मलाई सुनाउनुभएको थियो ।
उहाँको जीवनबाट मैले सिकेका धेरै कुराहरूमध्ये प्रभुको कामको लागि दिनुपर्छ भन्ने कुरा मेरो जीवनमा एउटा दिव्य उपदेश जस्तै रहिरहेको छ । मैले यस जीवनमा दाइ तपाईंसँग गरेका यात्राहरूमध्ये, वीरगन्जको यात्रा होस्, चाहे जिरीको यात्रा होस्, चाहे कुलेखानी हेटौंडाको यात्रा होस् वा पोखराको फेवातालमा संगै डुङ्गा खियाएको क्षण होस् वा टाढा थाइल्याण्ड देशको यात्रा होस् ती सबै मेरा लागि अविस्मरणीय क्षण बनी आज पनि उभिइरहेका छन् । मेरा मानसपटलमा ती क्षणहरू समुद्रको कन्चन छाल भै यताउता सलबलाई रहेका छन् । अझ दैनिक जस्तो संगै जाने मर्निङ्ग वाक सगै लिएका चियाका चुस्कीका क्षणहरू जीवन्त स्मरण बनेर मेरै अगाडि आज पनि उभिरहेका छन् । मान्छेको जिन्दगीको कुनै भरोसा हुँदो रहेनछ । नजिकको मित्र होस् वा परिवार यी सबै छोडेर परमेश्वरले बोलाउनुभएपछि आखिर जान नै पर्नेरहेछ । तर हामी परमेश्वरलाई विश्वास गरेका मानिसहरूचाहिँ मृत्युपछि पनि हिमालमा रहेको अटल हिउ जस्तै रहेछौँ । दाइ तपाईं पनि त्यही हिउ
हुनुहुन्छ अनि अटल हिमाल हिउँ भएपछि गृष्म ऋतुमा पग्लेर नदी बन्नुपर्ने, तिर्खाउनेहरुका निमित्त जल बन्नुपर्ने अनि जाडो ऋतुमा फेरि हिउ बनेर हिमालको शिर ठाडो राख्नुपर्ने त्यसैले त कैयौँ आँखाहरूले हेरेर भन्छन्, आहा कति राम्रो हिमाल । वर्षेनि सुन्दर हिमाल नियाल्न करोड़ैां पर्यटकहरू हिमाल नजिक पुग्दछन् । रामचन्द्र दाइ तपाईं सौभाग्यशाली हुनुहुन्छ । आज पनि तपाई हिमाल बनेर हाम्रो मनमस्तिष्कमा उभिइरहनुभएको छ । धेरैले तपाईलाई नियालिरहेछन् । कैयैां क्यामेराहरू तपाईंतिर तेर्सिएका छन् । धेरैले त्यस सुन्दर तस्विरलाई आफ्नो क्यानभासमा उतारेका होलान् । वचनमा लेखिएको छ, “बुद्धिमानहरू आकाशको चमक जस्तै र धेरैलाई धार्मिकतामा डोऱ्याउनेहरूचाहिँ ताराहरू जस्तै सदासर्वदै चम्किरहने छन्” (दानिएल १२:३) । पा. रामचन्द्र दाइलाई मेरो स्ख्रीष्टिय सलाम अनि अलबिदा । परमेश्वरको वचनमा लेखिए झैं हाम्रो भेट प्रभुको दोस्रो आगमनमा हुने छ र यसरी हामी पुनर्मिलन साथै “प्रभुसँग सधैँ सँगै रहने छौं” (१ थेसलोनिकी ४:१३-१६ )।